• बिराटनगर  । नक्कली विद्युत् परियोजना र विजनेश म्यानेजमेन्ट ग्रुपको नक्कली कार्यालय खोलेर खुलेआम ठगी गर्ने एक व्यक्तिलाई मोरङ प्रशासन र प्रहरीले कारबाही नगरी उन्मुक्ति दिएको पाइएको छ । विराटनगर महानगरपालिका ४ कञ्चनबारी पश्चिम साझा मार्गमा सिँगो घर भाडामा लिएर ‘तमोर मेवा जलविद्युत् आयोजना पब्लिक लिमिटेड र बिजनेश म्यनेजमेन्ट ग्रुप (बीएमजी)’ भन्ने नक्कली कम्पनीको कार्यालय खोलेर खुलेआम ठगी गर्ने गुणराज ओझा नामका व्यक्तिलाई मोरङ प्रशासन र प्रहरीले कारबाही नगरी उन्मुक्ति दिएको घटना सार्वजनिक भएको छ ।

    स्थायी ठेगाना नखुलेका तर विराटनगर ३ जामुनागाछीमा रहेको ससुरालीमा बस्दै आएको बताउने ओझाले विभिन्न व्यक्तिलाई सेयर बिक्री गर्ने भन्दैै बिजनेश म्यानेजमेन्ट ग्रुप नामको नक्कली कम्पनी खोलेको कुरा अहिले मात्र खुलेको हो । स्रोतका अनुसार विराटनगर ३ मा घर भाडा लिएर अस्थायी बसोबास गर्दै आएका गुणराजले विराटनगर ४ साझा मार्गमा नक्कली विद्युत् परियोजना र बिजनेश कम्पनी खोलेर ५० जनाभन्दा बढी कर्मचारी नियुक्ति गरेका थिए । उल्टै उनीहरुबाट लाखौं रुपैयाँ सापटी भन्दै असुलेर ठगी गरेका थिए ।

    सरकारी तलब स्केलअनुसारको सेवा सुविधा अनि थप ५० प्रतिशत दैनिक भत्तासमेत दिनेगरी विभिन्न तहका कर्मचारी नियुक्त गरे पनि गुणराजले बजेट नआएको भन्दै कर्मचारीहरुलाई तलब दिने गरेका थिएनन् । साझा मार्गमा चितनारायण माझी परमेश्वर ढुंगाना र ईश्वर ढुंगानाको घरमा अलग–अलग नक्कली कार्यालय खोलेका थिए । आफ्नो कम्पनी पूर्वराजा ज्ञानेन्द्र शाह, अजय सुमार्गीलगायतको सेयर भएको कालो धनलाई सेतो बनाउनका लागि खोलिएको कम्पनी भएको कर्मचारीहरुलाई बताउने गरेका थिए । तर, उनले नियमित तोकिएअनुसारको पारिश्रमिक नदिई उल्टै कर्मचारीहरुबाट तत्काल अफिस सञ्चालन गर्न भन्दै र कसैलाई कम्पनीको लाखौंको सेयर दिने आश्वासन दिएर सापटी भन्दै पैसा लिन थालेपछि आफूहरु ठगीमा परेको कुरा त्यहाँका पीडित कर्मचारीले बताएका थिए । पीडित कर्मचारीहरुका अनुसार गुणराजले कसैसँग पाँच हजार त कसैसँग दशदेखि तीन लाख रुपैयाँसम्म ऋण लिएर ठगी गरेका थिए ।

    महिनौसम्म तलब नदिएपछि र उल्टै सापटी लिएको रकमसमेत फिर्ता नगरेपछि कर्मचारीहरुले खोजबिन गर्दा उनले नक्कली कार्यालय खोलेर २०७४÷०७५ को विभिन्न मितिमा आफूहरुलाई नियुक्ति गरेको बुझेका थिए । त्यसपछि दबाब दिएर पारिश्रमिक र सापटी दिएको रकम माग्दा गुणराजले पैसा नभएको बाउन्स चेक दिएर कर्मचारीहरुलाई पटक–पटक झुक्याउँदै लुकेर बस्न थालेपछि उनको ठगी धन्दा खुल्न पुगेको हो । आफूहरु नटवरलालबाट ठगिएको थाहा पाएपछि जिल्ला प्रशासन मोरङ पुगेका थिए । तर मोरङ प्रशासनले ‘श्रम कार्यालय जानु पर्दैन हामी पारिश्रमिक दिलाइदिन्छौ भन्दै आश्वासन दिएको थियो  । तर पछि आफूहरुले हेर्ने मुद्दा नभएकोले सोझै अदालतमा ठगी मुद्दा दर्ता गर्न पीडितहरुलाई प्रशासनले आग्रह गरेको थियो । प्रशासनले उजुरी लिए पनि निवेदन दर्ता भने गराएको थिएन ।

    मोरङ प्रशासनले न्याय नदिएपछि पीडितहरु जिल्ला प्रहरी मोरङमा पुगेका थिए । तर मोरङ प्रहरीले प्रमाण नपुग्ने भन्दै उजुरी दर्ता गर्न नमिल्नै भन्दै फर्काइदिएको थियो । त्यसपछि पीडितहरु नेपाल बार एसोसिएसनमा कानुनी सहयोगको आपेक्षा गर्दै पुगेका थिए । बारमा सरकारी वकिलले सही राय सुझाव दिन सक्ने भनेपछि उनीहरु सरकारी वकिलको कार्यालयमा पनि पुगेका थिए । सरकारी वकिलको कार्यालयले ठगी मुद्दा सोझै अदालतमा नै दर्ता गराउनुपर्ने सुझाव दिएको थियो । त्यसपछि १८ असोज २०७५ मा पारिश्रमिक दिलाइदिन माग गर्दै श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दर्ता गराउन पुगेका थिए । उक्त उजुरीपछि श्रमले २० असोजमा कर्मचारीको पारिश्रमिक कानुनअनुसार दिन निर्देशन गर्दै ऊर्जा मन्त्रालय सिंहदरबार र विद्युत् विकास बोर्ड अनामनगर काठमाडौंलाई बोधार्थ दिँदै विराटनगरस्थित तमोरमेवा जलविद्युत् परियोजना पब्लिक लिमिटेड र बिजनेश म्यानेजमेन्ट ग्रुपको मुख्य कार्यालयका नाममा परिपत्र गरेको थियो । तर, ठगी धन्दाको पोल खुलेपछि गुणराज तीन वटै घरमा रहेका दुवै कार्यालयहरु बन्द गरेर गायब भएका थिए । हाल गुणराजले सुनसरीको इटहरीमा उस्तै खाले नक्कली कार्यालय खोलेर ठगी गर्ने तैयारी गरिरहेको पीडितहरुले बताइरहेका छन् ।

    अहिले गुणराज ओझा विराटनगर ३ जामुनगाछीस्थित ससुरा शम्भु भट्टराईको घरमा बस्ने गरेका छन् । तोकेता गर्न जाने पीडितहरुलाई गुणराजले आफू आईजीपीको नातेदार भएकोले कसैले आफूलाई पक्राउ गर्न नसक्ने भन्दै उल्टै ठगेको रकम फिर्ता गर्नुको साटो धम्क्याउने गरेको कुरा पीडितले बताएका छन् ।  (आर्थिक  दैनिकबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…