• मंसिर ११, काठमाडौं । विभागीय त्रिभुवन आर्मी क्लब राजधानीमा जारी पल्सर शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

    लिगअन्तर्गत सोमबार भएको खेलमा आर्मीले सीएमजी क्लब संकटालाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

    अपराजित आर्मीले चार खेलबाट १० अंक जोडेको छ । आर्मीले एक खेल कम खेलेको सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबलाई १ अंकले पछि पा¥यो । मनाङले मंगलबार एपीएफ क्लबसँग खेल्ने छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा आर्मीले पछि परेको स्थिति उल्ट्याउँदै संकटामाथि सानदार जित निकालेको हो ।

    आर्मीको जितमा टेकबहादुर बुढाथोकीले २ तथा कप्तान भरत खवास, सन्तोष तामाङ र दिनेश हेन्जनले १÷१ गोल गरे । संकटाका म्याक्सवेल एलोनले १ गोल गरे ।

    खेलको नवौं मिनेटमा दिपेश आलेमगरको प्रहारलाई रोक्न अघि बढेको अवस्थामा उनले फ्लिकमा पास दिँदा कसैको निगरानीमा नरहेका म्याक्सवेलले गोल गर्दै संकटालाई अगाडि लगाएका थिए ।

    खेलको पहिलो मिनेटमा नै संकटाका अमित तामाङले आर्मीका टंक बस्नेतलाई फल गरेपछि रेफ्रीले पेनाल्टीको मौका दिएका थिए । तर, पेनाल्टीमा सन्तोष तामाङ चुके ।

    आर्मीले १७औं मिनेटमा बराबरी गोल गर्न सफल भयो । टेकबहादुरले बराबरी गोल फर्काएका थिए । २९औं मिनेटमा कप्तान भरत खवासले आर्मीका लागि गोल गरे ।

    पहिलो हाफमा २–१ को अग्रता बनाएको आर्मी दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । ५४औं मिनेटमा संकटाले बराबरी गोल गर्ने सुन्दर मौका खेर फाल्यो ।

    आर्मीका विकास तामाङले पेनाल्टी क्षेत्रमा संकटाका खेलाडीलाई लडाएपछि पेनाल्टीको मौका पाएको थियो । तर, संकटाको अमित तामाङको प्रहार अकासियो । ६३औं मिनेटमा सन्तोष तामाङले फ्रिकिकमार्फत आर्मीका लागि तेस्रो गोल गरे ।

    त्यसको दुई मिनेटपछि नै टेकले आर्मीका लागि व्यक्तिगत दोस्रो गोल गरे । ७७ औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई ५–१ को फराकिलो जित दिलाए । आर्मीका म्यान अफ दि म्याच घोषित टेकबहादुर बुढाथोकीले १० हजार प्राप्त गरे ।
    संकटाको लिगमा यो पहिलो हार हो । यसअघिका तीन खेलमा जित निकालेको संकटाले हारसँगै शीर्ष स्थानमा उक्लने मौका गुमायो ।

    आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आर्मीले अझै आफ्नो लय समात्न नसकेको बताए । ‘संकटाविरुद्ध तीन अंक लिन जरुरी थियो । हाम्रो लक्ष्य उपाधि हो । स्कोरिङमा अझै समस्या देखिएको छ । यसलाई सुधार्दै अर्को खेलमा राम्रो गर्ने प्रयास हुनेछ ।’ उनले भने ।

    संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीमा आपसी तालमेल नमिल्दा पराजित हुनुपरेको बताए ।

    च्यासल पराजीत
    सोमबारै भएको अर्को खेलमा विभागीय नेपाल पुलिस क्लबले उपाधिको दाबेदार मानिएको भ्याली च्यासल युथ क्लबलाई २–० ले पराजित गरेको छ ।

    पुलिसका लागि भारत साह र रवि पासवानले गोल गरे । ३८औं मिनेटमा रवि पासवानको गोलबाट पुलिसले खेलमा अग्रता बनाएको थियो ।

    च्यासलका विश्व अधिकारीको फितलो ब्याकपासलाई रविले भेट्टाएपछि गोलरक्षक दिनेश थापा मगरलाई चिप गर्दै गोल गरेका थिए । ८९औं मिनेटमा भरत साहले गोल गर्दै पुलिसलाई २–० को जित दिलाए ।

    पुलिसले दोस्रो गोल पनि च्यासलकै गल्तीमा भएको थियो । भरत साहले च्यासलका फ्लोरेन्टले दिएको क्रसलाई नियन्त्रणमा लिँदै सुन्दर गोल गरेका थिए । जितसँगै पुलिसको ४ खेलमा २ जित र १ बराबरीले ७ अंक भएको छ । च्यासल भने दोस्रो हारपछि ४ खेलमा ४ अंकमै रहेको छ ।

    थ्री स्टारको संघर्षपूर्ण जित
    रुस्लान थ्री स्टार क्लबले न्युरोड टिम ९एनआरटी० लाई २–० ले हराएको छ । थ्री स्टारको जितमा रन्जित धिमाल र अजायी मार्टिन्सले गोल गरे । खेलभर नै थ्री स्टारले एनआरटीलाई दबाबमा राखेको थियो । तर, गोलका लागि ७५औं मिनेट कुर्नुपरेको थियो ।

    ७३ औं मिनेटमा सुनिलको पासमा मार्टिन्सले एनआरटीका गोलरक्षक अजित र डिफेन्डर प्रविन सैजुलाई छक्याउँदै गोल गर्ने प्रयास गर्दा आशिष वनले मार्टिन्सलाई फल गरेपछि थ्री स्टारले पेनाल्टीको मौका पाएको थियो ।

    तर, खेलभर नै उच्च प्रदर्शन गरेका एनआरटीका गोलरक्षक अजित प्रजापतिले रन्जित धिमालको पेनाल्टीलाई बचाए पनि रिबाउन्डमा बचाउन सकेनन् । त्यही गोलबाट थ्री स्टारले खेलमा अग्रता बनाएको थियो ।

    इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा सुनिल बलको हेड पासमा अनमार्क रहेका मार्टिन्सले गोल गर्दै थ्री स्टारलाई २–० को जित दिलाए । थ्री स्टारका रन्जित खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।

    जितपछि थ्री स्टार लिगको दोस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारका सहायक प्रशिक्षक अशोक राईले एनआरटीका गोलरक्षक अजितले प्रशांसा गरे ।

    एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले हार आफ्नो ठाउँमा रहे पनि युवा खेलाडीले बलियो थ्री स्टारविरुद्ध उच्च प्रदर्शन गरेको दावी गरे । समाचार राजधानी दैनिकमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…