• मंसिर ११, काठमाडौं । हरेक वर्ष बढ्दो सवारी दुर्घटनाका कारण सर्वसाधारणको यात्रा असुरक्षित बन्दै गइरहेको छ । सवारीसाधन तथा बाटोघाटोको सही व्यवस्थापन हुन नसक्दा दुर्घटनामा वार्षिक २ हजारभन्दा बढी व्यक्तिको ज्यान जाने गरेको गृह मन्त्रालयको तथ्यांक छ । हरेक वर्ष सवारी दर्ता हुनेक्रम बढ्दो छ तर सरकारले त्यसलाई व्यवस्थापन गर्न सकिरहेको छैन । दुर्घटना न्यूनीकरणका लागि सरकारले न त सवारीसाधनको सही व्यवस्थापन गर्न सकेको छ, न त बाटोघाटोको व्यवस्थापन नै ।

    ६ मंसिरमा डढेल्धुरामा स्कुल बस दुर्घटना हुँदा १७ जनाको मृत्यु हुनुका साथै २८ जना घाइते भएका थिए । त्यस्तै, सो घटनाको भोलिपल्टै सप्तरीमा यात्रुवाहक बस खस्दा पाँच जनाको अकालमा ज्यान गयो भने २४ जना घाइते भए ।

    यी त प्रतिनिधि घटना मात्रै हुन् । सरकारले सडक तथा सवारीसाधनको उचित मर्मत सम्भार तथा व्यवस्थापन गर्न नसक्दा यस्ता घटना हरेक दिनजसो बढेको बढ्यै छन् ।
    यातायात व्यवस्था विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४÷७५ सम्म ३२ लाख २१ हजार ४२ सवारीसाधन दर्ता भएका छन् । मुलुकभरि गुड्ने यतिका सवारीसाधनलाई सरकारले सही व्यवस्थापन गर्न सकेको छैन ।

    सरकारले २० वर्ष पुराना सवारी सञ्चालनमा रोक लगाएको भए पनि कमजोर व्यवस्थापनका कारण पूर्ण रूपमा लागू हुन सकेको छैन ।
    यातायात विभागका प्रवक्ता गोकर्ण उपाध्यायले सार्वजनिक सवारी अनुगमन तथा व्यवस्थापनमा सरकार चुकेको स्विकारे । उनले भने, ‘हामी सार्वजनिक सवारी व्यवस्थापनमा चुकेका छौं ।’

    अहिले मुलुकभर यातायात विभागमा जम्मा ८ सयको हाराहारीमा मात्रै कर्मचारी छन् । तर, मुलुकभरका सवारी संख्या भने ३२ लाखभन्दा बढी छ । थोरै कर्मचारीका कारण प्रभावकारी रूपमा अनुगमन तथा सवारी व्यवस्थापन गर्न समस्या भइरहेको प्रवक्ता उपाध्यायको भनाइ छ ।

    विभागका अनुसार कुल सवारीको ९० प्रतिशत व्यक्तिगत सवारीसाधन छन् । तिनीहरूको व्यवस्थापन गर्न झनै जटिल हुने गरेको उपाध्यायले बताए । सवारी दर्ता बढेको तर त्यसको तुलनामा स्रोतसाधन तथा जनशक्ति नबढेकाले व्यवस्थापनमा समस्या परेको उनले बताए ।

    यतिका सवारी गुड्ने मुलुकका सडकको हालत हेर्ने हो भने निकै दयनीय छ । मर्मत सम्भार गरेको भए पनि सुधारमा उल्लेख्य प्रगति भएको छैन । जसका कारण सवारी दुर्घटना बढिरहेका छन् भने त्यसको असर सर्वसाधारणले भोग्नुपरेको छ ।

    आखिर कहिलेसम्म यस्तो अवस्था रहन्छ रु सर्वसाधारणले कहिले गर्न पाउँछन् त सुरक्षित यात्राको महसुुस रु सम्बन्धित निकायका अधिकारीहरू कहिले बजेट अभाव त कहिले जनशक्ति अभावलगायतका विभिन्न कारण देखाउँदै पन्छिने गरेका छन् । सडक विभागका प्रवक्ता मुक्ति पौडेलले बिग्रे भत्केका बाटोघाटो मर्मत सम्भारका लागि वार्षिक १५ अर्ब रुपैयाँ बजेट आश्यक पर्ने भए पनि मुस्किलले ४ अर्ब मात्रै उपलब्ध हुने गरेकाले प्रभावकारी रूपमा काम गर्न समस्या परेको बताउँछन् ।
    उनले भने, ‘बजेट कम उपलब्ध हुँदा बाटोघाटोको मर्मत सम्भार गर्न समस्या भइरहेको छ ।’

    तर, विभागको क्षमताले भ्याउनेगरी विभिन्न स्थानमा मर्मत सम्भार गरिरहेको उनले बताए ।
    मुलुकका विभिन्न स्थानमा लगभग २० प्रतिशत बाटोघाटोमा सवारी चल्न नसक्ने अवस्था रहेको प्रवक्ता गौतमले बताए । सरकारले बिग्रे भत्केका बाटोघाटो मर्मत सम्भार गर्न आवश्यक बजेट उपलब्ध गराएको अवस्थामा सडक दुर्घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो ।

    त्यस्तै, सवारी दुर्घना न्यूनीकरण गर्न विभिन्न प्रयास गरिरहेको ट्राफिक प्रहरीका सहायक प्रवक्ता दामोदर सिलवालले बताए । बाटोघाटोको अवस्था हेरेर सवारी चलाउनेदेखि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको सिलवालले बताए । नेपालमा अधिकांश सवारी दुर्घटना चालकको कारणले हुने भएकाले चालकलाई विशेष रूपमा सचेत गराउने गरेको उनले बताए ।

    दुर्घटनामा कुन वर्ष कति मानिस मरे ?
    आर्थिक वर्ष २०६८/६९ – १,८३७
    आर्थिक वर्ष २०६९/७० – १,८१६
    आर्थिक वर्ष २०७०/७१ – १,७८७
    आर्थिक वर्ष २०७१/७२ – २,००४
    आर्थिक वर्ष २०७२/७३ – २,००६
    आर्थिक वर्ष २०७३/७४ –२,३८४
    आर्थक वर्ष २०७४/७५– २,०९७ समाचार राजधानी दैनिकमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…