देबु बानियाँ
झापा । रामनगर जेसीजले आयोजना गरेको ‘ओराटरी नवलपरासी २०१८’ को उपाधी वसन्तपुर अंग्रेजी स्कुलकी मुना तिवारीले जितेकी छिन् ।
रामनगर जेसीजको जेसीज सप्ताह अन्तरगत समापन कार्यक्रम जिल्ला स्तरीय वक्तृत्वकलाको आयोजना गएिको थियो । ‘जिम्मेवारीका साथ नेतृत्व’ विषयक प्रतियोगितामा नवलपरासी जिल्लामा रहेका ७ वटा स्थानीय तहबाट छनोट भइ आएका १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै मुना जिल्ला च्याम्पियन बनेकी हुन् । जितसँगै उनले नगद, ट्रर्फी र प्रमाण पत्र प्राप्त गरिन् । यसैगरी प्रतियोगितामा विद्यासागर प्रसिद्ध स्कुलकी तारा डुम्रे दोस्रो र रामनगर एकाडेमीकी दिपा न्यौपाने र न्यू लाइफ स्कुलका विवेक पाण्डेले तेस्रो स्थान हासिल गरे ।
विजेता विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीज वर्ष २०१८ का उपाध्यक्ष सिनेटर राजेन्द्र घिमिरे र शाखा अध्यक्ष भोजराज चापागाईले पुरस्कार प्रदान गर्नु भएको थियो । कार्यक्रमका बोल्दै प्रमुख अतिथि सिनेटर घिमिरेले यो प्रतियोगिता समय अनुकुल र विद्यार्थीहरुको व्यक्तित्व विकास गर्नमा अत्यन्तै ठुलो साथ दिने बताउनु भयो । उहाँले सानै उमेरमा विद्यार्थीले बोलेको वक्तृत्व उत्कष्ट रहेको बताउनु भयो ।
शाखा अध्यक्ष भोजराज चापागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा मुक्ति पौडेल, बलराम चापागाई, ढुण्डिराज भटराईलगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव हिमा न्यौपानेले गर्नु भएको थियो ।