नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले आउँदो महाधिवेशनमा कोइराला परिवारबाट जो सुकै उठे पनि सघाउने गरी आफूहरूबीच एकता रहेको बताएका छन्।
आफूसहित कोइराला परिवारका सदस्य, पार्टी महामन्त्री, डा. शशाङ्क र सुजाता एक ढिक्का रहेको उनको भनाइ छ। त्यसलाई कतिपयले पार्टी महाधिवेशनमा भावि नेतृत्वको निम्ति कोइराला परिवारको अग्रसरताको रूपमा लिएको पाइन्छ। तर बीबीसीसँगको अन्तर्वातामा उनले त्यसबारे कुरा नभएको बताए। महामन्त्री शशांङ्क कोइरालाले आफू पार्टी सभापतिको आकाङ्क्षी रहेको बताउने गरेका छन्। कोइराला परिवारको एकताको अर्थ उनी सभापतिमा उठेमा तपाईँ सघाउन तयार हो? नेता शेखर कोइराला भन्छन्, "म आकाङ्क्षी भएमा उहाँले पनि छाड्नु हुन्छ, त्यसरी बुझ्नुस्, हामीहरूप्रति दुबिधा नराख्नुस्।" गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको निधनपछि गत चुनावमा पार्टीभित्रको उक्त धारको नेतृत्व गर्दै नेता रामचन्द्र पौडेलले सभापतिमा शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए। अहिलेसम्म पौडेल सभापति र प्रधानमन्त्री केही पनि नभएकाले कोइराला परिवारले उनलाई नै फेरि अघि सार्ला कि उनीहरू आफै अघि बढ्लान भन्ने जिज्ञासा पाइन्छ। तर नेता कोइरालाले पौडेलले अवसर नपाएको कुरा अस्वीकार गर्दै सभापतिमा देउवासँग हारेको बताए। त्यसको अर्थ कोइराला परिवार अब उनलाई काँध थाप्न नसक्ने निचोडमा पुगेको हो? नेता शेखर कोइरालाले भने, "काँध थाप्न पनि सकिन्छ। तर रामचन्द्रजी, शेरबहादुरजी र धेरै जीहरू हुनुहुन्छ। तर कस्को दृष्टिकोण ठीक हुन्छ भन्ने कुरा महाधिवेशनमा कार्यकर्ताले भन्छन्।"