• झापा, मंसिर १३। झापाको शिवसताक्षीमा एकै परिवारका चार जनाको मृत्यु हुने गरि भएको आगलागी घटना नियोजित भएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले बताएका छन्।
    घटनाको प्रकृति हेर्दा नियोजित ढंगले घरमा आगो लगाएर २ जना अवोध बालबालिकासहित एक दम्पतिको हत्या गरिएको उनले दाबी गरेका छन्।

    आईतबार राति साढे १० बजे घरमा आगो लागेपछि लालझोडाका व्यवसायी ३४ वर्षीय लक्ष्मण खनाल, श्रीमती २८ वर्षीया राधिका खनाल, ४ वर्षीया छोरी चन्द्रा खनाल र पाँच महिनाका छोरा टिकाराम खनाल घटनास्थलमै मृत्यु भएको थियो।

    प्रवक्ता शर्माले घटनास्थल, स्थानियवासीको भनाई र मृतकका आफन्तसँग बुधबार भेट गर्दै यस्तो बताएका हुन्। ‘यो घटना कुनै हालतमा भवितव्य अर्थात विजुली सर्ट भएर हुनै सक्दैन,’ नेता शर्माले भने, ‘घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही गर्न नेपाल सरकारसँग माग गर्दछु।’

    पिडित परिवार र गाउँलेले घटना शंकास्पद भएको बताइईरहे पनि यसको सार्वजनिक अभिव्यक्ति बाहिर आएको थिएन।

    घटना भएको चार दिनपछि घटनास्थलमै पुगेर कांग्रेस प्रवक्ता शर्माले सञ्चारकर्मीसँग यो घटनामा दलगत स्वार्थभन्दा माथि उठेर सरकारले अपराधीको खोजी गरि तत्काल कारबाही प्रकृया सुरू गर्न माग गरे।

    ‘यो मुलुकमा यदि सरकार र प्रशासन भएको अनुभव आम नेपालीले गर्छन् भने लक्ष्मण खनालको परिवारको हत्यारा पत्ता लगाओस्मृ, मृतकका बुवाआमा र आफन्तलाई न्यायको अनुभूति दिलाओस्,’ उनले भने।

    वंश विनास हुने गरी घरमा आगो लगाएर ४ जनाको जिउँदै हत्या गरिनुभन्दा निन्दनीय र अमानवीय घटना अरू कुनै हुन नसक्ने शर्माको भनाइ छ।

    नेता शर्माले घटनामा शंका गर्ने आधारहरू प्रशस्त रहेको बताए। ‘आगलागी भएको घर नजिकैको बाँस झ्याङ्गमा आगोको लप्का नपुग्नु, नजिकैको छिमेकीको घरमा धुवाँको टाटा नहुनु, आगलागी हुँदा छिमेकमा बिजुली आपूर्ती ठप्प नहुनु, घरमा एकै पटक चारैतिरबाट आगो लाग्नु आदि आदि। यी पर्याप्त आधारले शिवसताक्षी ७ को लालझोडामा एउटा वंश विनास हुने गरि भएको घटना भवितव्य हुनै सक्दैन,’ उनले भने।

    मृतक लक्ष्मणका बुवा रामकृष्ण खनालले पनि यो आगलागी दुर्घटना नभई जानीबुझी घटाइएको घटना भएको बताए।

    ‘बाँच्नलाई गुहार माग्दा पनि बाँच्न नपाउने गरि मेरो एउटा वंश सखाप बनाइयो,’ मृतक लक्ष्मणका वुवा रामकृष्ण खनालले भने, ‘के अपराध गर्‍यो मेरो छोराले सरकार? मेरा छोरा- बुहारी र ती अवोध नाती नातीनाले के विराए? ६५ वर्षको उमेरमा मैले कसरी चित्त बुझाउने? मेरो ठाँउमा आएर उभिदेउ सरकार, अनि मलाई र मेरो परिवारलाई हेर!’

    मृतक लक्ष्मणका वुवा रामकृष्णले अगाडि भने, ‘यो दुर्घटना हुँदै होईन। एक साताअघि लालझोडाकै डम्बर निरौलाको बारीका सयौँ विरूवा काटिनु, घरमा पार्कीङ गरिएको अटो खोलामा ल्याएर फालिनु अनि आज मेरो एउटा वंशनै विनास हुने गरि घरमा आगो लगाएर मेरो परिवारको कायरतापूर्वक हत्या गर्नु, यो घटना कसरी विजुली सर्ट भएर हुनसक्छ?’

    छिमेकीहरू पनि यो घटना नियोजित भएको बताउँछन्।

    छिमेकी शेष राज कोईरालाले भने,‘ सेन्टर बेरा भएको दुई तले काठको घरमा आगो लाग्दा कुनै कुनाबाट धुवाँसहित आगो लाग्नु पर्ने हो तर मैले देख्दै घरका सबै कोठामा र भुईँतलैदेखि घरको धुरीसम्म आगो फैलिएको थियो, यो पेट्रोल छर्केर घरमा आगो लगाईको सहजै अनुमान गर्न सकिन्छ।’

    स्थानीयका अनुसार लक्ष्मण आइतबार दिनभर ट्याक्टर लिएर खेत जोत्न गएका थिए। घरमा सुतिरहेका ड्राईभरलाई काममा पठाएर लक्ष्मण साँझ घरमै बसेका थिए। खाना खाएर लक्ष्मण आफ्नै कोठामा सुत्न गएका थिए। भने श्रीमती राधिका दुई वटा नानी लिएर सुतेकी थिईन्।

    आगो निभाउने दमकल नगरमा नहुँदा ४ जनाले अकालमै ज्यान गुमाएको छिमेकी कोईरालाले बताए।

    ‘हाम्रा जनप्रतिनिधि सुविधा सम्पन्न चिल्ला गाडीमा सयर गर्छन्, आज आफ्नै नगरको एउटा सिङ्गो परिवार दमकल अभावमा आगोले डढेर मर्छन् यो भन्दा बिडम्वना अरू के होला र?,’ उनले भने।

    आगलागीपछि लालझोडाका स्थानीयमा त्रास फैलिएको छ। रातभर निद्रा नलाग्ने, डर पैदा हुने, तर्सिने, आगलागीकै घटना सपनामा आउनेजस्ता समस्या देखापर्न थालेको स्थानीयबासीले बताए।

    ‘साँझ सग्लै देखिएका बहिनी-ज्वाईँ, भान्जा-भान्जी एकै छिनमा आगोले खाएर चिन्नै नसकिने गरि देखियो’, मृतक राधिकाका दाजु खगेन्द्र ढुंगेलले भने, ‘यो घटना कसरी विर्सन सकिन्छ?’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…