• –प्रकाश धौलाकोटी

    तेह्रथुम, १३ मङ्सिर

    परदेशमा धेरै कमाइ हुन्छ भन्ने सोचले जिल्लाका धेरै युवा बर्सेनि रोजगारीका लागि विदेशिने क्रम बढ्दो छ तर नेपालमा काम गर्नभन्दा विदेशमा धेरै दुःख कष्ट भोग्नुपर्छ भनेर उनीहरूमध्ये कमैले मात्रै सोचेका हुन्छन् ।

    धेरै युवा विदेश जान चाहन्छन्, तर थोरै युवा जो हुन्छन् उनीहरू यही देशमा केही उत्पादनशील क्षेत्रमा काम गरेर जीवनयापन गर्न सफल पनि छन् । त्यस्तै युवामध्ये एक हुनुहुन्छ, मेन्छ्यायेम गाउँपालिका–६ का विनोद अधिकारी । उहाँ तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनाका कम्पनी कमाण्डरसमेत हुनुहुन्थ्यो तर द्वन्द्व समाप्त भएर विस्तृत शान्ति सम्झौता भएपछि उहाँको दैनिकी परिवर्तन भयो । अहिले उहाँले टिना जडीबुटी बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर जडीबुटीको व्यवसाय गर्दै आउनुभएको छ ।

    ०७४ सालमा फार्म दर्ता गरी व्यावसायिक बन्नुभएका अधिकारीले अहिले कृषि फार्ममा थुप्रै जातका जडीबुटी लगाउनुभएको छ । फार्ममा चिराइतो, पाखनवेद, नागबेली, ठूलो ओखती, लोक्ता, मझिटो इन्द्रेणी, लोठसल्ला, सतुवा, वन लसुन, अलैँचीलगायत ५० बढी जातका जडीबुटी पाइन्छ ।

    यसका साथै चियाको नर्सरी पनि गर्ने गरेको अधिकारीले बताउनुभयो । शुरुआतमा रु पाँच लाख ५० हजारले थालेको जडीबुटी खेतीमा हालसम्म रु २८ लाख बढी लगानी भइसकेको उहाँले बताउनुभयो । पचास रोपनी आफ्नो जग्गा र भाडामा लिएको १५ रोपनी जग्गामा सञ्चालित फार्मबाट उहाँले वार्षिक रु १० लाख मुनाफा कमाउने लक्ष्य राखेको पनि बताउनुभयो । अहिले कमाइ अलि कम छ । उद्देश्यअनुसार लगानी र मेहनत गरिरहे पनि खेती थपिँदै गएकाले आम्दानी बढ्ने क्रममा मात्रै भएको उहाँले बताउनुभयो ।

    माओवादी द्वन्द्वकालमा उहाँले फष्ट डिभिजन विप्लव श्रीजन स्मृति ब्रिग्रेड, इलामको दानाबारीमा ०५८ सालदेखि दुई वर्ष बिताउनुभएको थियो । २०६३ देखि २०६४ सम्म दुई वर्ष हालको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा समूहको सदस्यसमेत भएर काम गरेको उहाँ बताउनुहुन्छ । उहाँले २०६२÷०६३ को जनआन्दोलनपश्चात् विस्तृत शान्ति सम्झौता भएपछिको सेना समायोजनबाट बाहिरिएको बताउनुभयो ।

    सेना समायोजनमा नपरेपछि उहाँले साधारण जीवन नै रोज्नुभयो । अहिले पनि उहाँलाई राजनीतिमा धेरै चासो छैन । थोरै राजनीति र धेरै व्यावसायिक बन्ने योजना बनाएको उहाँ बताउनुहुन्छ । माओवादी सशस्त्र द्वन्द्वपछि घर फर्किएर उहाँले धेरै कमाउनेभन्दा पनि थोरै तर आफ्नै देशमा कमाउने सोच बनाएको बताउनुभयो । त्यही सोचेर पाँचथर स्थायी घर भएका अधिकारी मेन्छ्यायेम गाउँपालिकामा बसाइँ सर्नुभयो ।

    त्यसपछि उत्पादनमूलक व्यवसाय सञ्चालन गर्ने विचारले कृषि क्षेत्रमा लागेको उहाँ बताउनुहुन्छ । नेपालमा पनि काम गरे पैसा कमाउन सकिने भन्दै यही देशमा केही उदाहरणीय काम गरेर देखाउने योजनामा रहेको उहाँको भनाइ छ ।

    विनोदलाई जडीबुटी खेती र व्यवसायमा श्रीमती मथुराले सघाउनुहुन्छ । श्रीमान्–श्रीमती दुईले फार्मको काम गर्ने गरेको र आवश्यक पर्दा अन्य कामदार पनि लगाउने गरिएको अधिकारीले बताउनुभयो । “घर, परिवार तथा देशभन्दा टाढा रहेर जति नै पैसा कमाए पनि मनमा शान्ति मिल्दैन”, अधिकारी भन्नुहुन्छ, “अझ म त पुरानो राज्य व्यवस्था परिवर्तनका लागि लडेँ, परिवर्तन पनि आयो, तर नेतामाथि पुगे पनि नेपाली जनताका लागि भने खुशीका दिन आउन बाँकी नै छ ।”

    व्यवसाय थालेको छोटो समयमा राम्रो आर्थिक प्रगति गरेका अधिकारी जडीबुटी व्यवसायमा सन्तुष्ट हुनुहन्छ । बिहानदेखि साँझसम्म अधिकारी जडीबुटी रोपण, हेरचाह, पानी हाल्ने तथा गोडमेलमै व्यस्त हुनुहुन्छ । “पैसा कमाउन जागीरै खानुपर्छ, अनि विदेशै जानुपर्छ भन्ने सोच त्याग्नुपर्छ”, उहाँ भन्नुहुन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…