• चलचित्रमा पटकपटक सशक्त महिलाको भूमिका निभाउनुभएकी करिश्मा मानन्धरले वास्तविक जीवनमा भने कहिल्यै आफ्ना कुरा राख्न सक्नुभएन ।

    दुई दशकसम्म गुम्साएर राखेका पीडा अचेल उहाँ खुलेरै भन्न थाल्नुभएको छ । उहाँ जस्तै अधिकांश महिलासमेत आफूले भोगेको असमान व्यवहारका बारेमा बोल्न नसकेको उहाँको अनुभव छ । नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएकी उहाँ गाउँगाउँमा पुगेर महिलाको अवस्था देख्दा झनै दुःखी हुनुहुन्छ ।

    आमाले भोगेको समस्याका बारेमा उहाँले भन्नुभयो, “एकल महिला भएकै कारण आमाले सम्पत्ति नपाउँदा उहाँकोे अधिकार खोज्न सकिएन ।” जीवन निर्वाहका लागि आमासंगै आफू पनि कठिन परिश्रम गरेको स्मरण गर्दै नायिका मानन्धरले आमालाई आर्थिक सहयोग गर्न आफू सानै उमेरमा प्रति महीना रु तीन सय कमाउनका लागि मजदूरी गरेको बताउनुभयो ।

    चौध वर्षको उमेरमा चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएका नायिका मानन्धरले १८ वर्षको हुँदा विनोद मानन्धरसँग विवाह बन्धनमा बाँधिनुभयो । श्रीमान्भन्दा आफू धेरै कान्छी भएकाले उहाँको आँखामा सधैँ केही नजान्ने हुनुभयो । “अहिलेसम्म पनि श्रीमान्का आँखामा आफू त्यही १८ वर्षीया करिश्मा केही नजान्ने रहेकी छु”, उहाँले भन्नुभयो, “यतिसम्म कि बंैकको चेकमा सही गर्दा हतारिएर श्रीमान्ले तिमी जान्दैनौँ भन्ने गर्नुहुन्छ ।”

    कामको दौडानमा यी दुई दशकमा उहाँले कहिल्यै पछाडि फर्किएर हेर्नु भएन । “गत वर्ष सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा श्रीमानले आफ्नो मतदाता नामावली राजविराजबाट नसारेको कुरा बोल्नुभयो, मिडियामा पनि यो विषय निकै चर्चित बन्यो, कतिपयले उहाँको समर्थन गरे भने धेरैले घरका कुरा बाहिर निकालेको भन्दै आलोचनासमेत गरें”, नायिका करिश्माले भन्नुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म महिलाको इतिहास भनेको मौनताको हो, त्यसलाई चिरेर बोल्न खाँचो छ ।”

    चलचित्रको पर्दामा सधैँ एकपछि अर्काे सफलता हात पारेकी नायिका करिश्मालाई त्यसले मात्रै सन्तुष्टि दिएन । चलचित्र क्षेत्रमा प्रवेश गर्दा उहाँले पढाई बीचमा नै छाड्नुपरेको बताउनुभयो । जीवनभर आफूलाई त्यही ‘स्कुले केटी’ ले पछ्याइरहेको उहाँले बताउनुभयो । सधैँ पछ्याइरहने केटीलाई विपनामा पाउनका लागि उहाँले विद्यालयमा भर्ना हुनुभयो । सर्ट र फ्रक लगाएर झोला बोक्दै विद्यालय जान थाल्नुभयो । अहिले उहाँ ९ कक्षामा अध्ययनरत् हुनुहुन्छ । अरुले के सोच्छन्भन्दा पनि आफू के चाहन्छु भन्ने सोचेर विद्यालय भर्ना भएको नायिक करिश्मा बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “सिनेमामा सफल नायिकाका रुपमा मात्र होइन, करिश्मा मानन्धरले जीवनमा सेल्स गर्लकोसमेत अनुभव बटुलेको छ ।”

    जीवनका चार दशक मौनतामा बिताउँदा मानन्धरलाई कहिल्यै आनन्द भएन । आफूले बाल्यकालदेखि भोगेका पीडा अचेल उहाँ खुलेर बोल्नुहुन्छ । आफूले जीवनमा भोगेका पीडा र हिंसाका बारेमा खुलेर बोल्दा आनन्दको अनुभूति हुने गरेको नायिका करिश्माको भनाइ छ । “आफूले चाहेका कुरा गर्न र बोल्न पाउँदा हिजोआज म ढुक्कसँग निदाउन सक्छु”, उहाँले भन्नुभयो ।

    केही दिन पहिले ललितपुरमा नायिका मानन्धरले सबै महिलालाई पीडा नसहन र हिंसाका बारेमा खुलेर बोल्न आग्रह गर्नुभयो । महिला हिंसाविरुद्धका सोह्रदिने अभियानअन्तर्गत आयोजित कार्यक्रममा उहाँले खुलेर बोल्न शुरु गर्दै अरुलाई पनि प्रेरित गर्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…