• काठमाडौं। उपत्यकाबाट तीन दिनदेखि हराइरहेका आठ वर्षीय बालक प्रयास कुँवरको अपहरणलगत्तै हत्या भएको खुलेको छ । हत्यापछि झोलामा फालिएको अवस्थामा शव फेला परेको छ । हत्यामा संग्लग्न एक पक्राउ परेका छन् ।

    मंगलबार साँझदेखि बेपत्ता गोंगबु मित्रनगरस्थित स्वस्तिक त्रिवेणी गेस्ट हाउसका आठ वर्षीय बालक प्रयासको होटलकै गाडी चालक २२ वर्षीय महेन्द्र सार्कीले अपहरणपछि हत्या गरेको खुलेको हो । हत्यामा संलग्न सार्कीलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले नियन्त्रणमा लिएको छ । होटलकै सवारी चालक सार्कीले दिएको बयानका आधारमा प्रहरीले बिहीबार म्हैपी पुलमुनि बालकको शव फेला पारेको होे ।

    अभियुक्त सार्कीले प्रहरीसमक्ष प्रयासले गाडीको लिभरले पिटिरहने र उनका बुबा प्रवीणले जागिरबाट निकाल्ने चेतावनी दिएकाले बदला लिन हत्या गरेको बयान दिएको महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए । ‘महेन्द्रले राम्रोसँग काम नगरेपछि बालकका बुबाले जागिरबाट निकाल्ने चेतावनी दिएका रहेछन्, बालकले पनि उसलाई गालीगलौज गर्ने गरेको रहेछ,’ महाशाखा प्रमुख सिंहले राजधानीसँग भने, ‘त्यसैको रिस फेर्न उसले हत्या गरेको अनुसन्धानका क्रममा खुलेकोे छ ।’

    ‘महेन्द्रले राम्रोसँग काम नगरेपछि बालकका बुबाले जागिरबाट निकाल्ने चेतावनी दिएका रहेछन्, बालक (हत्या भएका बालक) ले पनि उसलाई गालीगलौज गर्ने गरेको रहेछ, त्यसैको रिस फेर्न उसले हत्या गरेको अनुसन्धानबाट खुलेकोे छ’

    धिरजप्रताप सिंह
    एसएसपी
    महानगरीय अपराध अनुसन्धान महाशाखा


    उनका अनुसार महेन्द्रले दुई÷तीन दिनअगाडिदेखि नै हत्याका लागि उपयुक्त वातावरणको खोजी गर्दै आएको र मंगलबार बुबाआमा नभएको मौका पारेर उसले घटना घटाएको अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    बालकका बुबाआमा होटेलमा नभएको मौका छोपी सार्कीले बालकलाई चक्लेट दिने प्रलोभनमा पारेर गाडीमा हालेर जंगलमा लगेका थिए । अपहरणपछि सार्कीले मित्रनगरनजिकैको पसलबाट दुईवटा जेब्रा झोला किनेर लगेको अनुसन्धानमा देखिएको छ । बुबाआमा होटेलमा आएपछि छोरो हराएको भन्दै उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले सार्कीलाई निगरानीमा राखेको थियो । बुधबार प्रहरीले सार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा बालकको हत्या भएको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार सार्कीले प्रयासलाई जंगल लगेर हत्या गरेसँगै झोलामा हालेर फालेका थिए ।

    बालकको हत्या गरी सार्की होटलको गाडी लिएर फर्किएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । प्रयासका बुबाले सार्कीले राम्रो काम नगरेको भन्दै जागिरबाट निकाल्ने चेतावनी दिँदै आएका थिए ।

    बालकका बुबा कुँवर मित्रनगरमा स्वस्तिक त्रिवेणी गेस्ट हाउस सञ्चालक हुन् । सार्की त्यही गेस्ट हाउसमा करिब दुई महिनादेखि होटेलमा चालकका रूपमा काम गर्दै आएका थिए । स्याङ्जा भिरकोट नगरपालिका–७ का सार्की करिब दुई वर्ष भारतमा काम गरेर फर्किएका हुन् । उनी जागिर खोज्दै त्रिवेणीमा आएपछि उनलाई चालकका रूपमा राखिएको थियो । राजधानीबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…