गुलरिया नपा–१२ दुधालालपुरका १० वर्षीया सवनम खाँ र १२ वर्षीया सावा खाँलाई हिजोआज धान काटेर उठाइसकेको खेतमा जानु दिनचर्या जस्तै छ ।
धान उठाइसकेको खाली खेतमा धानको बाला खोजी सिला जम्मा गर्ने र त्यसबाट आएको धान बेची उनीहरूले कापी कलम किन्ने गरेका छन् । उनीहरुजस्तै अन्य बालबालिका पनि दिउँसो पढ्न विद्यालय जाने र बिहान साँझ खेतमा गई धानको सिलाबाट आधा किलोदेखि एक किलोसम्म धान जम्मा गर्ने गरेका छन् ।
लेखपढ गर्न आमाले पैसा दिन नसक्ने भएपछि धानको सिला जम्मा गर्न जाने गरेको सावाले बताइन् । गरीबीका कारण उनकी आमाले दैनिक मजदुरी गरेपनि साँझबिहान दुई छाक हातमुख जोड्न नै हम्मे पर्दछ । सत्ताइस वर्षीय उनकी आमा सोनमलाई बाबुले सम्बन्धविच्छेद गरी घरबाट निकालिदिएपछि माइतीमै बस्दै आएकी छन् ।
भारतीय नागरिकसंग विवाह भएका कारण कानूनी लडाइँ पनि गर्न समस्या भएको छ । माइतीले बस्ने सहारा दिएपछि मजदुरी गरेरै भए पनि दुई छोरीको पेटसम्म भर्न जसोतसो पुगेको सोनमले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यले साथ दिँदासम्म त काम गरे खान–लाउनलाई पुग्छ तर बिरामी भइयो भने भोकभोकै बस्नुपर्छ । उपचार गर्न ऋण नै खोज्नुपर्छ । यस अवस्थामा कसरी छोरीहरुलाई पढाउनु । तै पनि उनीहरुले धानको सिला जम्मा गरी बिक्री गरेर कापीकलमका लागि थोरै भए पनि पैसा जोहो गर्दछन् ।” सबनम र सावा घर नजीकैको मदरसामा ४ र ५ कक्षामा पढ्दै आएका छन् । माइतीमा पनि आर्थिक अवस्था कमजोर भएका कारण उनीहरुले बस्नलाई सहाराबाहेक अरू सहयोग पाउन सकेका छैनन् ।
–––