• तेजन खड्का, मोरङ

    आज २७  औं विश्व अपाङ्ग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । देशभरी मनाइ रहँदा मोरङ इटहरा–७ सिक्किमे टोलका अपाङ्ग परिवार भने बेखबर छ । अपाङ्गहरुको हितमा काम गर्ने संस्थाहरु व्यानर र प्लेकार्डसहित सडकमा निस्किरहँदा उनीहरुले भोग्नु परेको दुःखमा भने कसैले मलम लगाउन चासो दिएको छैन । अपाङ्गहरुको क्षेत्रमा क्रियाशील संस्थाहरुले लाखौं बजेट खर्चेर मनाइरहेका दिवसका समाचार रेडियो टिभीमा हेर्दा उनीहरुलाई आलो घाउमा नुनचुक छर्केजस्तै पीडा हुन्छ । तुलसीराम ढुङ्गाना र सृजना ढुङ्गानाका पाँचजना अपाङ्ग छोराछोरीलाई कुनै पनि संस्थाले अहिलेसम्म फर्केर हेरेका छैनन् । ढुङ्गाना परिवारका २ छोरा र ३ छोरीले कम्ता कष्टपूर्ण जीवन बिताउनु परेको छैन ।

    शारीरिक रुपमा अपाङ्ग भएकाहरु ३७ वर्षीय निर्मला, ३५ वर्षीय निर्मल, ३१ वर्षीय उमेश, २२ वर्षीय पार्वता र २० वर्षीय गोमाले सानै उमेरदेखि यस्तो कष्टपूर्ण जीवन जिउनु परिरहेको छ । जन्मेको केही महिनापछि नै बाबुआमाले आफ्ना छोराछोरी अरु जस्तै सामान्य नहुने बुझिसकेका थिए । भनिन्छ, छोराछोरी भनेका बुढेसकालका लौरो हुन्, तर यी ढुङ्गाना दम्पतीको हकमा भने यो उखान उल्टो भएको छ । यी दम्पत्तिको दिनरात अपाङ्ग छोराछोरीको स्याहार गर्दैमा बित्छ । यी दम्पत्ति ५ जना छोराछोरीका सेवक मात्रै भएका छन् ।

    शारीरिक तथा मानसिकरुपमा समेत अपाङ्ग बनेका छोराछोरीले जे भेट्यो त्यही खाने, मानिसले खाने र जनावारले खाने बस्तु नचिन्ने, घरका सामान तोडफोड गरिदिने र जहाँ पायो त्यही बस्ने, दिसा, पिसाब गरेको पनि थाहा नपाउने आमा सृजना ढुङ्गानाले बताईन् । '५ जना अपाङ्ग छोरा छोरी स्याहार्दै आफ्नो १० कठ्ठा खेत पनि कमाउन सकिएको छैन', आमा सृजनाले गहँभरि आँशु पार्दै भनिन,- 'यो १० कठ्ठा जमिनले पनि खान पुग्दैन । छोराछोरी स्याहार्दै दिन बित्ने भएकाले खेत अधिया दिएका छौं ।' अपाङ्ग छोराछोरी स्याहार्ने दुवैजना बाबु-आमा पनि आफैंमा स्वस्थ छैनन् । 'शरीरमा बल हराइ सकेको छ, म चिनी र क्षयरोगबाट पीडित छु', तुलसीरामले भने, 'मेरी पत्नीको पाठेघरको अप्रेशन गरिएको छ, दुवैजना रोगी भएकाले छोराछोरी सम्हाल्न गाह्रो भयो ।'

    पाँचै जना छोराछोरी जन्मजात नै सुस्त मनस्थितिका छन् । आवाज निकाले पनि बोलेको प्रष्ट बुझिन्न । यी विरामी दम्पत्तिले छोराछोरीका लागि भएभरका सम्पत्ति सकिसकेका छन् ।  खाना खुवाएदेखि दिसा, पिसाब गर्दा समेत अपाङ्ग छोराछोरीलाई साथ दिनुपर्ने बाध्यता छ । छोराछोरीलाई सम्हाल्दै यी दम्पत्तिले छरछिमेक र आफन्तको निम्ता मान्न पनि जान पाउँदैनन् । 'एकक्षण छोड्यो भने खानेकुरा समेत पोखिदिन्छन्, खाना पनि समातेर खुवाउनु पर्छ', तुलसीरामले भने, 'पाँचजनालाई एकैपटक खुवाउन सकिन्न, अब त ज्यानमा तागत पनि छैन, अबका दिनमा यीनलाई कसले स्याहारिदेला दैव ।'

    सरकारबाट सहयोग पाए छोराछोरीलाई पाल्न सहज हुने ढुङ्गाना दम्पत्तिले आशा पालेका छन् । 'हाम्रा छोराछोरीको विजोग देखेर कठैबरी भन्ने मात्र छन्', सृजनाले भनिन्, 'संघ संस्थाका व्यक्तिहरु चिल्ला गाडी लिएर आउँछन्, सहयोगका मिठा लड्डु बाँड्छन् तर आजसम्म कसैले एक पैसो सहयोग गरेका छैनन् ।

    पाँच जना अपाङ्ग छोराछोरीका बाबु तुलसीरामले कोकिलादेवी ढुङ्गानासँग पहिलो विवाह गरेका थिए । कोकिलाको कोखबाट ४ जना सन्तानको जन्म भयो, जसमध्ये निर्मल र निर्मला सुस्त मनस्थितिका भए भने दिपक र सीता शारीरिक रुपमा सबलाङ्ग जन्मे । सवलाङ्ग रहेका दीपक र सीता दुवै आ-आफ्नो खुट्टामा उभिएका छन् । सीता बैवाहिक जीवनमा बाँधिएकी छन् भने दीपक बैदेशिक रोजगारीमा गएका छन् । पहिली पत्नी कोकिलाको ०३८ सालमा मृत्यु भएपछि दुई अपाङ्ग छोराछोरीको स्याहारकै लागि तुलसीरामले साली सृजनासँग विहे गरे । सृजनाबाट पनि चार सन्तानको जन्म भयो । उनले दिदीका जस्तै आफ्ना पनि छोराछोरी अपाङ्ग हुने कुरा कल्पना समेत गरेकी थिइनन् । उनीबाट जन्मेका ४ सन्तानमा तीनजना पनि सुस्तमनस्थितिका भए ।

    यसैबीच समाजसेवी महिलाको पहिचान बनाएर नेकपा एमालेबाट समानुपातिक सभासद् बनेकी विराटनगरकी राज्यलक्ष्मी गोल्छाले मोरङको इटहरास्थित एक अपाङ्ग परिवारलाई दिएको खोक्रो आश्वासन उनीहरुले अहिलेसम्म बिर्सिएका छैनन् । एकैघरका पाँच छोराछोरी अपाङ्ग भएको यो परिवारलाई  गोल्छाले दिएको आश्वासन र उनीहरुको घर नजिकै तीन वर्ष अघि खनिएको खाडल पनि अहिलेसम्म पुरिएको छैन । मोरङको इटहरा–७ सिक्किमे टोलका एक दम्पति तुलसीराम ढुङ्गाना र सिर्जना ढुङ्गानालाई अपाङ्ग छोराछोरीका लागि पक्की घर बनाइदिन्छु भनेर राज्यलक्ष्मीले तीन वर्षअघि आश्वासन दिएकी थिइन् । 'तपाईंका पाँचैजना सन्तान सुस्त मनस्थितिका भएको देख्दा ज्यादै दुःख लाग्यो, म तपाईंहरुलाई के सहयोग गर्न सक्छु भनेर राज्यलक्ष्मीले सोध्नुभयो,' आमा सिर्जनाले भनिन् 'छोराछोरीलाई अपाङ्ग मैत्री घरको आवश्यक छ भनिदिएँ, उहाँले पनि बनाइ दिने वचन दिनुभयो ।'

    गोल्छाद्वारा ०६८ साल फागुन ७ गते साइत हेराई घरको शिलान्यास समेत गरी खाडलसमेत खन्ने काम भएको थियो, 'तर ३ वर्ष बित्यो, उहाँ सम्पर्कमा आउनु भएन, सिर्जनाले भनिन्, खनेका खाल्डाहरु पनि त्यसै छन्, अहिले त उहाँ सभासद हुनुहुन्छ । त्यसबेला अपाङ्ग परिवारलाई घर बनाइदिने भनेर सञ्चार माध्यममा गोल्छा खुबै छाएकी थिईन् । केही पत्रपत्रिकामा उदाहरणीय राज्यलक्ष्मी गोल्छा भनेर सम्पादकीय समेत लेखियो र त्यसैका आधारमा समाजसेवी भन्दै उनी सभासद बन्न सफल भइन् । 'रेडियोले पनि भन्यो, पत्रपत्रिका र टिभीमा पनि आयो रे', सिर्जनाले भनिन्, वचन पूरा गर्न नसक्नेले किन आश नदेखाउनु ?'

    https://www.youtube.com/watch?v=NZMI2cUeT5s&t=359s

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…