• काठमाडौं । विभिन्न शक्तिकेन्द्रको आड र संलग्नतामा लामो समयदेखि हुँदै आएको सुुन तस्करी कार्यमा आबद्ध भएका व्यापारीलाई सरकारले उन्मुक्ति दिएको आरोप लागेको छ । देशमा भ्रष्टाचार, अनियमितता र तस्करीलाई नियन्त्रण गर्ने र सो अवैध कार्यमा संलग्न जो कोहीलाई पनि कारबाही गर्ने घोषणा गरेको केपी ओली नेतृत्वको सरकारले सुन तस्करीलाई उन्मुक्ति दिएको आरोप लागेको छ ।

    काठमाडौं जिल्ला अदालतले ८८ किलो सुन तस्करी प्रकरणमा फरार रहेका चिनियाँ दम्पती र एक भरियालाई मात्र दोषी ठहर गर्दै अन्य १० जनालाई सफाइ दिएसँगै मुख्य सुन तस्करहरुले उन्मुक्ति पाएको स्रोतको दाबी छ । जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले फरार रहेका व्यक्तिलाई दोषी देखाउँदै अन्यलाई उन्मुक्ति दिएको जनाइएको छ । गत मंसिर ४ को इजलासले भरिया एवं गाडीचालक मनोज अधिकारीलाई ४३ करोड ७० लाख जरिवानासहित ३ वर्ष जेल सजाय फैसला गरेको छ । उनले बयानको क्रममा आफू केरुङबाट सामान ल्याउने भरिया मात्र भएको बयान दिएका थिए । तर, अदाललते उनलाई मुख्य अभियुक्तको रुपमा फैसला सुनाएको थियो ।

    न्यायाधीशपोखरेलको इजलासले चिनियाँ नागरिकद्वय याङ वइमिङ र पान वइमिङलाई भने जनही ४३ करोड ७० लाख रुपैयाँ जनिवानासहित पाँच वर्ष कैद फैसला सुनाएको थियो। तर, यी दुवै हाल चीन पुगिसकेका छन्। दोषी ठहर भएका मनोज अधिकारी २०७४ कात्तिक २४ गतेदेखि नै अदालतको आदेशले पुर्पक्षका लागि थुनामा राखेको थियो । केरुङ नाका हुँदै काठमाडौं ल्याइएको तस्करीको ८८ किलो सुन प्रहरीले २०७४ भदौ १९ क्षेत्रपाटीबाट बरामद गरेको थियो। उक्त सुन चिनियाँ नागरिकको संलग्नतामा काठमाडौंका सुन व्यापारीले लगानी गरेर भित्र्याएको दाबी अभियोगपत्रमा गरिएको छ ।

    सरकारी वकिलको कार्यालयले सोही दाबीसहित तीन चिनियाँ नागरिक, एक नेता, पाँच व्यापारी, तीन भरिया र एक अन्यलाई विपक्षी बनाउँदै मुद्दा दायर गरेको थियो।जिल्ला अदालतमा २०७४ कात्तिक १७ गते संगठित अपराध गरी सुन तस्करी गरेको अभियोगमा मुद्दा दायर समेत भएको थियो। सो मुद्दामा पहिलो सुनुवाइ गर्दै तत्कालीन न्यायाधीश अमृतबहादुर बस्नेतको इजालसले २०७१ कात्तिक २४ गते अधिकारीबाहेक अन्यलाई धरौटीमा छोड्ने आदेश गरेको थियो। तर अर्का एक चिनियाँ नागरिक जाङ हालिङलाई संलग्नता नभेटिएको भन्दै जिल्लाले सफाइ दिएको छ।रसुवाकै स्थानीय साङ्बो लामा तामाङलाई पनि जिल्ला अदालतले सफाइ दिएको थियो । उक्त सुन तस्करी प्रकरणमा तीन जना गाडी चालकले सुन तस्करीको मुद्दा खेप्दै आएका छन् ।

    अर्का दुई चालक दिलीप खड्का र दाम्पा लामालाई भने तस्करीमा संलग्न नभएको भन्दै जिल्लाले सफाइ दिएको थियो । तर अधिकारीलाई भने मुख्य दोषीको रुपमा जिल्लाले ठहर गरेर कैद र जरिवाना हुने ठहर गरेको छ । सो विषयमा नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा परेका मानबहादुर तामाङलाई जिल्ला अदालतले सफाइ दिएको छ।

    ८८ किलो सुन तस्करीमा उनी चिनियाँ नागरिकसँग नियमित सम्पर्कमा रहेको भन्दै प्रहरीले २०७४ असोज ३० गते काठमाडौंबाट पक्राउ गरेको थियो।प्रनिनिधिसभा निर्वाचनका लागि उनी समानुपातिक सूचीमा परेका व्यक्ति हुन् । उनी नेपाल–केरुङ व्यापार संघका अध्यक्षसमेत रहेका छन् ।

    तर पछि उनी धरौटीमा छुटेसँगै सो नाकाहुँदै दैनिक अवैध सुन नेपाल भित्र्याउने कार्यमा कमी आउनुको सट्टा झन् तीव्रता पाएको छ । चर्चित ८८ किलो सुन तस्करीमा संलग्न भएको आशंकामा पाँच जना सुन व्यवसायीलाई गत असोज ४ गते पक्राउ गरेको थियो । तर उनीहरुले पनि सो अभियोगबाटसफाइ पाएका छन् । केरुङबाट तस्करी भएर आउने सुन उनीहरुले बिक्री गर्ने र लगानीसमेत गर्ने गरेको प्रहरीको अभियोग उल्लेख थियो । तर जिल्ला अदालतले उक्त कुरा अस्वीकार गर्दै उनीहरु दोषी नरहेको फैसला सुनाएसँगै सो मुद्दाबाट सफाइ पाएको उल्लेख छ ।

    जिल्ला अदालतबाट सफाइ पाउनेमा काठमाडौंको रन्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी पसलका गणेदत्त बडु, नरदेवीस्थित राविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल, बांगेमुढाको शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, ओटुको सिद्धनाथ सुनचाँदी खानीका उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खानी पसलका नन्दकुमार मर्ग रहेका थिए । रविश्याम ट्रेडर्सका अग्रवाल यसअघि पनि अवैध सुन खरिद आरोपमा मुछिएका व्यक्ति हुन्। गत २०७२ पुस २३ मा काठमाडौंबाट साढे नौ किलो अवैध सुनसहित पक्राउ परेका चार जनामा अग्रवाल पनि एक थिए। उनी त्यतिबेला ११ लाख रुपैयाँ बोकेर अवैध सुन किन्न पुगेका व्यापारी हुन्।महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले विशेष सूचनाका आधारमा बा.१७च ६४२७ नम्बरको गाडीमा लुकाईल्याएको अवस्थामा ८८ किलो सुन र सवारी चालकलाई पक्राउ गरेको थियोे ।

    यसरी दैनिक रुपमा चोरीपैठारी हुँदै नेपालमा सुन तस्करी हुँदै आएको भएपनि नेपालमा हालसम्म पनि तस्करीका मुुख्य नाइकेसम्म प्रहरी पुुग्नसकेको छैन। अधिकांश पक्राउ परेका सवारी चालक अधिकारी भरिया मात्र रहेका छन् । ८८ किलो सुन तस्करीमा देशका ठूला व्यापारीहरुको संलग्नता रहेको अनुसन्धानबाट खुलेको भए पनि अहिलेसम्म मुख्य तस्करीसम्म प्रहरी पुग्न नसक्दा भरिया र सवारीचालकमात्र कारबाहीमा पर्दै आएका छन् । सुन तस्करीका मुख्य लगानीकर्ताको आरोप लागेकामोहन अग्रवाल (एमके) को घरमा छापा मारेर प्रहरीले विभिन्न महत्वपूर्ण विवरणहरु बरामद गरेर लगेपनि सो अनुसार अनुसन्धान समेत नभएको आरोप लागेको छ ।

    सो टोलीले ३० लाख रुपैयाँभन्दा धेरै नगद, केही थान सुनका बिस्कुट, सुनका गहना, एउटा गाडी अग्रवालको घरबाट बरामद भएको थियो । अग्रवाल भारतीय गिरोहसँग मिलेर उनले सुन तस्करीमा करोडौं लगानी गरेको आरोप समेत लागेको थियो । ३८ सय किलो सुन तस्करीको अनुसन्धान सुरु भएलगत्तै अग्रवाल भारत भागेका थिए। उनको घरमा २ महिनादेखि ताला लागेको थियो । अग्रवालको घरबाट ठूलो मात्रामा चाँदीसमेत बरामद भएको थियो ।

    चाँदीका ढिक्का, सिक्का, बिस्कुट बरामद भएपनि सो बारे थप अनुसन्धान समेत हुनसकेको छैन । उनीमाथि सम्पत्ति शुद्धीकरण विभागमा पनि अनुसन्धान हुने भनिए पनि उनीमाथि कुनै कारबाही भएको छैन । अग्रवालबाट बरामद कागजपत्रबाट गिरोहका माथिल्लो तहका व्यक्तिहरु संलग्न हुनसक्ने समितिका अधिकारीहरु बताउँछन् । विगत केही वर्षदेखि खासगरी तातोपानी नाका हुँदै स्थलमार्गबाट तस्करी हुने गरेकोमा गत वर्षको भूकम्पले सो नाका अवरुद्ध भएपछि अन्य नाकाहरु हुँदै तस्करी हुनथालेको छ ।

    यसबाहेक हवाइमार्गबाट पनि सुन तस्करी हुने गरेको छ । यसै क्रममा भदौ १९ गते चीनबाट रसुवा हुँदै काठमाडौं भित्रिएको ८८ किलो सुन काठमाडौको क्षेत्रपाटीबाट बरामद भएपछि सुन तस्करीको नयाँ रुट प्रयोग भइरहेको छ । यसैगरी, संयुक्त अरब इमिरेट्सबाट अवैध रुपमा काठमाडौ भित्रिँदै गरेको उक्त परिमाणको सुन र सुनका गहना गत पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेशद्वारनजिकै बरामद भएको थियो ।

    नेपाल–चीन सिमानास्थित रसुवाको केरुङ नाका हुँदै राजधानी भित्रिएको करिब ४३ करोड रुपैयाँ बजार मूल्य पर्ने ८८ किलो सुन तस्करीको सन्दर्भमा सिमानासम्म चिनियाँण् नागरिकले र नेपाली भूभागमा नेपालकै चालकले सो सवारीसाधन चलाएका र सुराकीको आधारमा प्रहरीले काठमाडौंमा पक्रिन सफल भएको थियो । (आर्थिक दैनिकबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…