• काठमाडौं, १७ मंसिर । दुई तिहाइको सरकार बनेको नौ महिनामा नेकपाले आफ्नै पार्टीका नेता कार्यकर्ताहरुको चित्त बुझाउन सकेको छैन । नेकपाको केही दिनअघि बसेको सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यहरुको चयन गरे पनि नामावली सार्वजनिक गर्न सकेको छैन ।

    सचिवालयको निर्णय सार्वजनिक नभएपछि अध्यक्षद्वय ओली र प्रचण्डले त्ससलाई सच्याउन थालेको आरोपसमेत लाग्न थालेको छ । यद्यपि सचिवालयका सबै सदस्यहरुले लिष्ट पाइसकेको हुनाले त्यसमा विरोध आउने सम्भावना पनि त्यत्तिकै छ ।

    २१ केन्द्रीय सदस्यले मंसिर ५ गते पार्टीभित्रका बेथितीलाई लिपिबद्ध गर्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गरेर बुझाएको ज्ञापनपत्र पनि अहिले अलपत्र परेको छ । प्रचण्डलाई भेटेपछि २१ भाइ झन् निराश भएका छन् ।

    प्रचण्ड स्वयंले आफैले तोकेको सचिवालय बैठकसमेत समयमा बस्न नसकेको गुनासो आएको छ । केपी ओलीसँग प्रचण्ड पनि सन्तुष्ट नभएको संकेत आएको एक केन्द्रीय सदस्यले बताए ।

    एकातिर राजावादीहरुले ६ महिनापछि नेपालमा ठूलै उथलपुथल हुने चर्चा चलाएका छन् भने प्रचण् वामदेव मोर्चाले पनि यही अवधिमा ओलीलाई राजीनामा गराएर प्रधानमन्त्री बन्ने योजना बनाएको बुझिएको छ ।

    लामो समयदेखि पार्टीका गतिविधि शून्य देखिएको नेकपामा सो ज्ञापनपत्रले एकाएक तरंग ल्याएको थियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको कार्यव्यस्तताका कारण २१ केन्द्रीय सदस्यले हस्ताक्षरसहितको ज्ञापनपत्र पार्टी महासचिव विष्णु पौडेलमार्फत बुझाएका थिए ।

    ज्ञापनपत्रमा पछिल्ला समय पार्टीमा देखिएका बेथितिलाई लिपिबद्ध गरिएको छ । ज्ञापनपत्रमा उल्लेख गरिएको विषयवस्तु मुख्यतः अध्यक्षद्वयसँग सम्बन्धित छन् । केन्द्रीय सदस्यहरुको ज्ञापनपत्र बुझ्दै पार्टी महासचिव पौडेलले केन्द्रीय समितिको अधिकार महाधिवेशनपछि शक्तिशाली हुने संकेत गरेका थिए ।

    महासचिवलाई ज्ञापनपत्र बुझाए पनि २१ केन्द्रीय सदस्यहरु पार्टीमा देखिएका बेथितिका गुनासा लिएर दुई मध्येका एक अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

    मंसिर ११ गते खुमलटार पुगेका नेताहरुलाई प्रचण्डले माग सकारात्मक भएको र त्यसबारे सचिवालयमा छलफल गर्ने बताए पनि अध्यक्ष एवं प्रधानमन्त्री ओली भने उनीहरुमाथि कारबाही गर्नुपर्ने पक्षमा छन् ।

    २१ नेताहरुले पार्टीभित्रका एजेन्डामा छलफल नभएको र नियमित बैठक बस्न नसकेको गुनासो गरेका थिए । उनीहरुसँगको भेटमा प्रचण्ड आफैंले सचिवालयकै बैठक तोकिएको मितिमा बस्न नसकेको गुनासो गरेका थिए ।

    केन्द्रीय समिति बैठकको मागसहित पार्टीभित्र देखिएका बेथितिहरु सुधारको माग गर्दै २१ केन्द्रीय सदस्यहरु पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ कहाँ पनि पुगे । सो भेटमा प्रवक्ता श्रेष्ठले केन्द्रीय सदस्यहरुसँग उल्टै गुनासो गरेको एक नेताले बताए ।

    भेटमा नेता श्रेष्ठले आफूले पनि बारम्बार पार्टीलाई विधि र पद्धतिमा चलाउन माग गरे पनि सुनुवाइ नभएको गुनासो गरेका थिए । भेटमा सहभागी एक नेताका अनुसार प्रवक्ता श्रेष्ठ पनि अध्यक्षद्वयको कार्यशैलीप्रति सन्तुष्ट छैनन् ।

    त्यस्तै २१ सदस्यीय टोलीले यसअघि सचिवालयका अन्य नेताहरुसँग पनि भेट गरिसकेको छ । महासचिवमार्फत ज्ञापनपत्र बुझाएलगत्तै वरिष्ठ नेत माधवकुमार नेपाल, झलनाथ खनाल र अर्का नेता वामदेव गौतमलाई समेत उनीहरुले छुट्टाछुट्टै भेटेका छन् ।

    भेटिएका सबै नेताहरुले ज्ञापनपत्रमा उल्लेख भएका सबै माग जायज भएको र तिनलाई सम्बोधनका लागि आफूहरुले पहल गर्ने बताएका थिए ।

    यस्तो भेटमा सबै नेताहरुले ज्ञापनपत्रमा उल्लेख भएका कतिपय माग पूरा हुने क्रममा भएको र बाँकी माग सम्बोधनका लागि आगामी सचिवालयको बैठकमा छलफल गर्ने आश्वासन दिएको भेटमा सहभागी एक सदस्यले बताए ।

    पार्टी एकतापछिको झन्डै सात महिनामा पार्टीभित्र देखिएका बेथितिहरुलाई लिपिबद्ध गरेको ज्ञापनपत्र बुझाएको भोलिपल्ट अर्थात् मंसिर ६ गते सचिवालयको बैठक बस्यो । सो बैठकमा अध्यक्षले महासचिव पौडेलमार्फत आएको ज्ञापनपत्रबारे सामान्य जानकारी गराएर त्यसलाई एजेन्डाका रुपमा छलफल गर्ने निर्णय गरेको थियो ।

    तर, सो दिनको बैठकमा ज्ञापनपत्रभित्र के छन् भन्ने भन्दा पनि अन्य नियमित एजेन्डामै छलफल केन्द्रीत भएको थियो । त्यसयता तीन पटक सचिवालयको बैठक बसे पनि १२ गते बसेको सचिवालयक बैठकले मात्रै प्रदेश कमिटीलाई पूर्णता दिएको छ, तरुणमा उल्लेख छ ।

    सचिवालयका एक नेताका अनुसार ज्ञापनपत्रलाई प्रधानमन्त्री ओलीले बेवास्ता गर्दै आएका छन् । २१ भाइले यतिबेला ईश्वर पोखरेल र रामबहादुर थापा बादलसँग पनि भेट गर्न चाहेका छन् तर उनीहरुले समय दिएका छैनन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…