• काठमाडौं, १७ मंसिर । पञ्चायतकालमा राजाका भाइहरुले जबर्जस्ती हात नहालेको कुनै ठेक्का, व्यापार व्यवसाय वा उद्योगधन्दा हुँदैनथ्यो । बहुदलीय व्यवस्था स्थापना भएपछि गिरिजाप्रसाद कोइराला शक्तिशाली प्रधानमन्त्री भए ।

    त्यसपछि यस्तो धन्दामा छोरी सुजाता कोइरालाको उदय भयो । तर, सुजाताको भने पञ्चायतका राजकुामरहरुको जस्तो गुण्डागर्दीमा नाम जोडिएको थिएन । यतिबेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा करिब आधार दर्जन नवराजकुमारको उत्पत्ति भएको छ ।

    यी नवराजकुमारहरु पञ्चायतकालका राजकुमारहरु जस्तै गुण्डागर्दीलगायत हरेक अवैध कर्ममा संलग्न हुने गरेको प्रहरी स्रोतले जनाएको छ ।

    प्रहरी स्रोतका अनुसार पञ्चायतकालका राजकुमारहरुको चरित्र बोकेर उत्पत्ति भएका नवराजकुमारहरु हुन्– उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन, सभामुख कृष्णबहादुर महराका छोरा एटम महरा र गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा ।


    सर्वप्रथम उपराष्ट्रपति पुनका छोरा दिपेश पुनको नवयुवराजकत्वबारे उल्लेख गर्दै नेपाल प्रहरीको समाचार स्रोतले भन्यो–सिन्धुलीको रोशी गाउँपालिकाको बालुवा खानीदेखि रोल्पाको चुनढुंगा खानीसम्म करिब ४८ ठाउँमा उपराष्ट्रपति पुनका छोराको संलग्नता तथा दादागिरी देखिएको छ । दिपेश उपराष्ट्रपति पुनका कान्छा छोरा हुन् ।

    अखिल (क्रान्तिकारी) का उपाध्यक्षसमेत रहेका दिपेशको उठबस राजनीतिभन्दा बाहिरका मान्छेसँग हुन थालेपछि संगठनभित्र पनि विवाद उत्पन्न भएको छ ।

    मलेसिया जाने कामदारको पासपोर्ट संकलन गरेर भिसा लगाउने संस्था भीएलएन र स्वास्थ्य परिक्षण गर्ने संस्था बायोमेट्रिकको काम अर्को बिचौलिया समूहलाई दिलाउन दिपेशले अवाञ्छित सक्रियता देखाएपछि श्रममन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री खड्ग ओलीसँग यो विषयको सूचना लिन अनुरोध गरेका थिए ।


    प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरुलाई बोलाएर यस विषयमा सूचना संकलन गर्न निर्देशन दिए । सूचना संकलनका क्रममा अरु डर लाग्दा तथ्यहरुसमेत आए । यता, उक्त काम हात पार्न दिपेश सक्रिय थिए । श्रममन्त्री विष्टले नटेरेपछि उनी सिधै मलेसिया पुगे ।

    उनले मलेसियाका सरकारी अधिकारीहरुलाई भेटेर भिएलएन र बायोमेट्रिकको काम आफूलाई दिन आग्रह गरे । श्रम मन्त्रालय र प्रहरीले अवैध भनेको काम फेरि अर्को समूहलाई दिलाउन लागिपरेका दिपेश पुन उपराष्ट्रपतिका छोरा हुन् भन्ने थाहा पाएपछि मलेसिया सरकारले नेपाल सरकारलाई पत्र पठायो ।

    मलेसिया सरकारले रेस्पोन्स नगरेपछि उनी थप दबाब दिन बंमूलका हनिफलाई लिएर नेपाल आए । समाचार स्रोतका अनुसार मलेसियन श्रम बजारमा दलाल भनेर चिनिएका हनिफलाई बौद्धस्थित होटल ह्यातमा राखेर उनले माउन्टेन फ्लाइटसमेत गराएका थिए,  तरुणमा उल्लेख छ ।

    गत कात्तिकको अन्तिम साता मलेसियाको राजखलकका एक सदस्य नेपाल आएका थिए । ती राजकुमारले अन्नपूर्ण बेसक्याममा पुगेर आफ्नो बर्थ डे मनाउँदा पनि दिपेश पुनलाई प्रहरीले देखेको थियो । काठमाडौं फर्केपछि ती राजकुमारले दरबारमार्गको रेस्टुरेन्टमा नाचगानसहितको पार्टी गरेका थिए, जसको आयोजक दिपेश नै थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…