जीतजंग बस्नेत
अध्यक्ष, नेपाल तरुण दल
म नेपाली समाजको सम्पन्न परिवारमा जन्में र त्यही वातावरणमा हुर्केको हुँ । बाल्यकालदेखि अहिलेसम्म कुनै अभाव झेल्नु परेको छैन । स्वतन्त्र ढंगले राजनीतिमा आउनुमा मेरो बुबा र मुमाको आशिर्वाद, प्रेरणा र सद्भावको सबैभन्दा महत्वपूर्ण योगदान छ । म आमाबुवाको एक मात्र छोरा हूँ र अहिलेसम्म अविवाहित छु । एउटा बहिनी छिन्, उनको विवाह भइसकेको छ । अहिलेसम्म कमाएको पनि छैन, गुमाएको पनि छैन ।
पारिवारिक अवस्था हेर्दा मेरो परिवार र मामाघरतिरको परिवारसमेत नेपाली सेनामा छ । पारिवारिक वातावरण हेर्दा भाइभतिजा सबैको सेनामा आकर्षण थियो । मलाई पनि आईए पास गरेपछि सेकेन्ड लेफ्टिनेन्ट बन्नुपर्छ भन्ने ठूलो दबाब थियो । तर, समाज सुधार्न राजनीतिमै लाग्नुपर्छ भन्ने विषयमा मलाई बच्चादेखि नै ज्ञान थियो । बुबा पञ्चायत विरोधी लेख लेख्नुहुन्थ्यो । घरको माहोल राजनीतिक थियो । खासगरी बुबाको प्रेरणाका कारण समाज सुधार्न भन्दै राजनीतिमा होमिएको हूँ ।
ललितपुर आदर्श विद्यामन्दिरमा एसएलसीसम्म अध्ययन गरें । मोदर्न इन्डियन स्कुलबाट प्लस टु पास गरेपछि दिल्ली युनिभर्सिटीबाट मानविकी संकायतर्फ अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातक तहको अध्ययन गरें । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरें ।
एसएलसी पास गरेपछि भारतमा प्लस टु पढ्न जानु अगाडि पाटन संयुक्त क्याम्पसमा भर्ना भएको थिएँ । क्याम्पसमा प्रेम लामा, वीरबहादुर बलायरलगायत नेपाल विद्यार्थी संघको कीर्तिपुर क्याम्पसमा नेतृत्व गरिरहेका नेताहरूसँग भेट भयो । उहाँहरूसँगको सम्पर्क भारतबाट स्नातक तह अध्ययन सकेर कीर्तिपुर क्याम्पसमा अध्ययन गर्न पुग्दासम्म रहिरह्यो । कीर्तिपुरमा स्नातकोत्तर तहमा राजनीतिशास्त्रमा भर्ना भएपछि राम केसी, मृगेन्द्र कार्की, लोकराज भट्ट, शेरबहादुर भण्डारी, प्रदीप शर्मा, सुमन पराजुली, केशव पौडेलको छत्रछायाँमा नेविसंघमा लागेर राजनीति शुरु गरियो ।
त्रिभुवन विश्वविद्यालयमा साधारण सदस्यबाट नेविसंघको राजनीति शुरुवात गरी त्रिवि अध्यक्ष हुँदै केन्द्रको महामन्त्रीसम्म बनें । महामन्त्री बनेपछि मुलुकभरको भ्रमण गरें । महामन्त्री भएकाले मेरो दाबेदारी अध्यक्षमा थियो । अध्यक्ष बन्न नौ वर्ष प्रचारप्रसार गर्ने क्रममा ७५ जिल्ला घुम्दाको अनुभवले नेविसंघलाई प्रभावकारी ढंगले चलाउन सक्छु भन्ने आँट आएको थियो । सबै साथीहरूको माया र समर्थन तथा नेताहरू समेतको समर्थन र विश्वास पनि पाएको थिएँ । तर, महाधिवेशन हुने बेलामा मलाई अध्यक्षको टिकट दिइएन ।
त्यसपछि विद्यार्थीहरूको साथ र नेताहरूको समर्थन लिएर गृहजिल्ला ललितपुरबाट कांग्रेसको राजनीति शुरु गर्छु भन्ने सोच बनाएँ । महाधिवेशन प्रतिनिधि तीनपटक बनिसकेकाले केन्द्रको राजनीति गर्न देशव्यापी भ्रमण गर्ने योजना बनाएँ । त्यसैबेला पार्टीका शीर्ष नेताहरूबाट तरुण दलमा नेतृत्वको ग्याप भएकाले नेतृत्व लिनुपर्यो भन्ने कुरा आयो । नेविसंघमा मैले निर्वाह गरेको भूमिकाबाट प्रभावित हुनुभएका नेताहरूको त्यो विश्वासको सम्मान गर्दै म तरुण दलको अध्यक्ष बन्न तयार भएको हूँ ।
० नेविसंघको अध्यक्षमा टिकट नपाएपछि एक्कासी तरुण दलको अध्यक्ष बन्नुभयो । संस्था बुझ्दै नबुझी नेतृत्व गर्ने आँट कसरी आयो ?
– तरुण दलको विधानकै बारेमा म अनभिज्ञ थिएँ । तरुण दलको राजनीति गरेकै थिएन, यसमा दुःख गर्ने धेरै साथीहरू हुनुहुन्छ, उहाँहरूलाई नै अवसर दिनुपर्छ भन्ने धारणा नेताहरूसँग राखें । तिमीले मात्रै तरुण दल हाँक्न सक्छौ, तिमीले नै नेतृत्व लिनुपर्छ भन्ने दबाब नेताहरूले दिइरहनु भयो । त्यहीबीचमा पोखरा महाधिवेशनमा सहभागी भएको हूँ । समसामयिक विषयलाई लिएर तरुण दललाई नेपाली जनताको मन र मस्तिष्कमा राख्न सक्छु भन्ने आँट लिएर नेताहरूको आग्रह स्वीकारे । आज, त्यो अनुरूपको तरुण दल बनाउने प्रयासमा छु, केही उपलब्धि हासिल पनि भएको छ । हामी तरुण दलको पुरानो साख फर्काउने अभियानमा छौं । हाम्रो टिम स्पिरिट पनि मिलेको छ । हामी तरुण दललाई नमूना संगठन बनाउने महाअभियानमा छौं ।
० तरुण दलको मिसन के हो भन्ने बारेमा अध्यक्ष बन्ने बेलासम्म केही जानकारी थियो त ?
– नेपाल विद्यार्थी संघको केन्द्रीय भूमिकामा रहेर काम गरेकाले संगठनको कार्यशैली, पार्टी कार्यक्रममा सहयोगी भूमिका र एजेण्डाका बारेमा म स्पष्ट नै थिएँ । र, पनि म तरुण दलको अध्यक्ष बन्न तयार पारिएको कार्यकर्ता थिइनँ । नेपाली कांग्रेसको भ्रातृ संगठनहरूमध्ये यसको प्रकृति फरक छ भन्ने थाहा थियो, जुन मेरो शैलीसँग मेल खान्छ । म कुरामा, भाषणमा भन्दा काममा विश्वास गर्ने व्यक्ति हूँ । म जे बोल्छु, त्यो पूरा गर्छु ।
यसर्थ, पोखरा महाधिवेशनमा सहभागी हुनु अगाडि तरुण दलका केही साथीहरूसँग सल्लाह लिएँ । उहाँहरूले तपाईसँग इमान्दारी, लागेपछि निरन्तर लाग्ने धैर्य र लगनशीलता छ । तसर्थ नेतृत्वमा तपाई आउँदा स्वीकार्न हामीलाई अप्ठ्यारो हुँदैन भन्नुभयो । साथीहरूकै सहयोगका कारण आजसम्म चेन अफ कमान्ड लिन सकेको छु । सिक्दै पनि छु । मबाट संगठनलाई हानी–नोक्सानी पुग्ने, बद्नाम गर्ने काम काम हुँदैन । प्रतिष्ठा बढाउने काम नै हुन्छ ।
० लामो समयसम्म तरुण दलको अध्यक्ष बस्ने कुर्सीमा पनि बस्नुभएन । असफल हुने डर थियो कि ?
– सफल–असफलभन्दा पनि तरुण दलको विषयमा जानकारी लिनुपर्छ, साथीहरूसँग चिनजान गर्नुपर्छ भनेर म त्यो अभियानमा लागेको हूँ । त्यसैले यसअघि दलको नेतृत्वमा रहेका साथीहरू, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, स्थानीय तहका अध्यक्षहरू, महाधिवेशन प्रतिनिधिहरूसँग उहाँहरूको अनुभव, तरुणहरूको आकांक्षा, संगठनको प्रकृति, विधान, संगठनको स्ट्रक्चरका बारेमा ४५ दिन लगाएर जानकारी लिन धेरै मेहनत गरें । अग्रजहरूको सल्लाह–सुझाव र क्रियाशील साथीहरूको उत्साहजनक साथ सहयोगले ममा संगठन चलाउन सक्छु भन्ने आँट आयो र म त्यही दिनदेखि कुर्सीमा बसेको हूँ ।
० कांग्रेस पार्टीभित्र अराजकता र अनुशासनहीनता बढेको आरोप लागिरहेका बेला तरुण दललाई चेन अफ कमान्डबाट हाँक्न कत्तिको सजिलो छ ?
– अराजकता नभन्नुस्, अलि स्वतन्त्र छ भन्नु ठीक होला । हाम्रो मातृ पार्टी कांग्रेस मासवेश पार्टी हो । त्यहींबाट नेतृत्व जन्मिन्छ । तरुण दल कांग्रेसको भ्रातृ संगठन त हो नै, यसलाई साथी संगठनको रूपमा पनि हेरिन्छ । उमेर समूह (४५ वर्षसम्म) एउटै भएकाले । हामीले पनि तरुण दललाई साथी संगठन, तर मिलिट्यान्ट र चेन अफ कमान्ड कार्यशैली भएको संगठनको रूपमा लिने गरेका छौं । कार्यसमितिमा फरक मत राख्न पाइन्छ, तर निर्णय भएपछि फिल्डमा एक भएर जानुपर्छ । पार्टीको आदेश सबैले पालना गर्नुपर्छ ।
गत केही निर्वाचनदेखि आफ्नो साथीलाई आफैले हराउनेसम्मका बेथिति कांग्रेसमा निम्तिएका छन् । हिजो सँगै जेलनेल भोग्ने, टिकट माग्ने बेलामा पनि सँगै नेताको घरमा पुगेर मलाई दिए पनि हुन्छ, उसलाई दिए पनि हुन्छ भन्ने । अनि, साथीले टिकट पाएपछि हराउन कम्मर कसेर लाग्नेसम्मका नकारात्मक काम भए । त्यो प्रवृति घातक छ । त्यसविरुद्ध कडा कदम चाल्नुपर्छ भन्ने मेरो मत छ ।
आफ्नै पार्टी गतिविधिविरुद्ध लाग्नेहरूलाई आजीवन अवसर दिनुहुँदैन भन्ने मेरो मान्यता हो । पार्टीले सूक्ष्म रूपमा हरेक व्यक्तिको रेकर्ड राख्ने संयन्त्र बनाउनुपर्छ । काम गर्नेको सम्मान र पार्टी हित विपरीत गर्नेलाई दण्डको व्यवस्था हुनै पर्छ ।
तरुण दलमा अहिले हामी चारजना मात्रै छौं । हामी सबैको एउटै धारणा छ, संगठनलाई माया र प्रेम गर्नु पर्यो । हामीले अवसर पाएपछि संगठनलाई केही दिनुपर्छ कि पर्दैन ? तरुण साथीहरूले पूर्णरूपमा समर्थन गरेर, पार्टीका नेताहरूले विश्वास गरेर तरुण दलको अध्यक्ष बनाएपछि मैले डेलिभरी दिने कि नदिने ? संस्थालाई जनताको मन जित्ने खालको बनाउने कि नबनाउने ? मेरो अभियान यहीँबाट शुरु भएको छ । म दैनिक १८ घण्टा संगठन निर्माणका लागि दिंदैछु । साथीहरूबाट पनि त्यही अपेक्षा गरेको छु । नेता भनेको सेवक हो, संरक्षणकर्ता हो भन्ने भावना विकास गराउने अभियानमा हामी छौं ।
नेपाली कांग्रेसमा चरण गुटबन्दी छ, त्यो लुकाएर लुक्दैन । त्यही गुटबन्दीका कारण चेन अफ कमान्ड बिग्रिएको हो । तर, तरुण दलमा गुटबन्दी छैन । तरुण एउटै छ, त्यो भनेको तरुण दल हो । हामीले एकाइदेखि जिल्लासम्म देखिएको गुटबन्दी हटाउन आफै भूमिका निर्वाह गर्नुस् भनेका छाैं । केन्द्रमा हामीले सबै नेताहरूलाई विश्वासमा लिएका छौं । सबै नेता हाम्रालागि समान, आदरणीय छन् । यद्यपि हामी चारजना पदाधिकारी विभिन्न गुटको सिफारिसबाट आएको लुकेको छैन । भागबन्डामै आएका हौं । तर, हामीले आएपछि गुट बिर्सेर तरुण दललाई एकढिक्का बनाएर अगाडि बढाएका छौं, बढाउँछौं । हामीमा अर्थात् तरुण दलमा चेन अफ कमान्ड छ ।
० गुटको छायाँ नदेखिन कसरी सम्भव भयोे ?
– मबाहेक अरुले पार्टीमा अवसर पाउन हुन्न भन्ने मनोभावना विकसित भएका कारण जति सकिन्छ पार्टीबाट लिने मात्रै गर्नाले राष्ट्रिय राजनीतिमा कांग्रेसको उपस्थिति खस्कँदै गएको हो । यो विषय हामीले बुझेका छाैं र कार्यकर्तालाई बुझाएर गुटबन्दीमा नलाग्ने वातावरणको विकास गर्ने प्रयासमा हामी लागिरहेका छाैं । पार्टीका नेताहरू सबै हाम्रालागि सम्माननीय हुनुहुन्छ । उहाँहरूले नै चलाउने हो पार्टी । हामीले पार्टीको निर्देशनअनुरूप एजेण्डा र अवधारणा जनतासम्म पुर्याउने काम गर्ने हो । पार्टीले गरेका राम्रा काम जनतालाई बुझाउने हो । पार्टीलाई गुटबन्दीबाट मुक्त बनाउनुपर्छ भन्ने अभियान पनि हामीले थालेका छौं ।
० आम नागरिकमा पार्टीका सकारात्मक सन्देश पुर्याउनेमा त तपाईहरु पनि कमजोर देखिनु हुन्छ । पार्टीको नकारात्मक सन्देश मात्रै नागरिक माझ पुगेको छ नि, हैन र ?
प्रोपोगाण्डामा हामी असफल छौं, यसमा लाज मान्ने होइन, सुधार गर्नुपर्छ । एकातिर कम्युनिष्टहरूको लहर आएको थियो, अर्कोतर्फ हामीले पार्टीको एजेण्डालाई राम्रोसँग जनतासामु पुर्याउन र बुझाउन सकेनौं । हामी असफल भयाैं । सत्तामा रहँदा हामीले गरेका केही काम जनताले पचाउन सकेनन् । उनीहरूको विश्वास जित्न नसक्दा सबैभन्दा ठूलो पार्टी कांग्रेस अहिले संसद्मा दोस्रो पार्टीका रूपमा खुम्चन पुगेको छ । कांग्रेसमा चेन अफ कमान्ड बिग्रेकै छ । कसैले कसैलाई नमान्ने, मै मात्रै नेता भन्ने प्रवृति बढेको छ ।
कांग्रेसका नेताहरू ज–जसले जे जे पाउनुभएको छ, उहाँहरू कसैले पनि मलाई पुग्यो भन्नु भएको छैन । सबैको भनाइ मलाई पुगेन भन्ने मात्रै छ । सांसद बन्ने, मन्त्री बन्ने, पार्टीको केन्द्रीय सदस्य बन्ने व्यक्ति कसैले पनि अवसर नपाएका कार्यकर्तालाई हेरेर मैले त केही पाएँ नि भनेर खुशी हुने नेता तपार्इं भेट्नुहुन्न । उहाँहरूको एउटा मात्रै भनाइ पार्टीले मलाई केही पनि दिएन भन्ने मात्रै हुन्छ । पार्टीलाई माया गर्नुपर्छ भन्ने भावना कुनै पनि नेतामा छैन । पार्टी बनाउने अभियान भनेको व्यक्ति बनाउने होइन, देश बनाउने महाअभियान हो । यहाँ लिन होइन, योगदान दिन आउने हो । योगदानका आधारमा, योग्यता र क्षमताका आधारमा अवसर आउँदा पार्टीले उसलाई एक वा दुईपटक मौका दिने हो । पार्टीले दिने अवसर पैतृक सम्पत्ति होइन ।
० तरुण दलको अध्यक्ष भएपछि संगठनात्मक ढंगमा के काम गर्नु भयो त ?
सात प्रदेशमा हामीले दलका जिल्ला अध्यक्षहरूको तीन दिने सम्मेलन गर्यौं । हाम्रो एउटा मात्रै उद्देश्य भावनात्मक रुपमा समेत पार्टी एक हुनुपर्छ भन्ने छ । हामीले पार्टीबाट माग्ने होइन, हामीले पार्टीलाई दिन सक्नुपर्छ भन्ने हाम्रो भनाइ हो । आगामी निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो शक्ति बनाउनुपर्छ भन्ने यो महाअभियानमा पार्टीका एजेण्डा र अवधारणा जनतासामु पुर्याउन हामी लागिरहेका छौं । पार्टीको कुनै पनि नेताले राम्रो काम ग¥यो भने, त्यो मान्छे ठूलो होला, हामीभन्दा अगाडि पुग्ला भनेर उसले गरेको कामको प्रचार गर्न हामी डराउँछौ । राम्रो कुरा त जुन नेताले गरेको भए पनि पार्टीले गरेको हो, त्यसैले जतिसक्यो प्रचार गर्न सक्नुपर्छ । तसर्थ, सातै प्रदेशका कार्यक्रम गर्दा पनि हामीले कुनै नेतालाई पक्षपात गरेनौं । तेरो नेता र मेरो नेता नभनी सबैलाई लगेर उद्घाटन कार्यक्रममा सम्मानका साथ राख्याैैं ।
० दुई वर्षसम्म पनि तरुण दलको केन्द्रीय समितिले पूर्णता पाएन, तपाईहरूले पहल नगरेर हो कि पार्टीले अवरोध पुर्याएको हो ?
– यसमा म कसैलाई दोष दिन चाहन्नँ । संगठनको अध्यक्ष भएकाले केही कमीकमजोरी मेरो पनि होला । यो कमजोरीलाई मैले स्वीकारिसकेको छु । पार्टी नेतृत्वलाई कन्भिन्स गर्न नसक्दा समितिले पूर्णता पाउन नसकेको हो । अर्कोतर्फ, पार्टीमा धेरै गुटबन्दी देखिएका कारणले नेताहरू एक ठाउँमा आउन सक्नु भएन, जसले गर्दा तरुण दलको केन्द्रीय समितिले आजसम्म पूर्णता पाउन सकेको छैन । समिति बन्नुपर्छ भन्ने दृढ मान्यता मेरो छ । महासमिति बैठकपछि समितिले पूर्णता पाउनेमा म विश्वस्त छु ।
धेरै क्षमतावान साथीहरू अहिले बाहिर पर्नुभएको छ । ती साथीहरूलाई समितिमा ल्याएर धेरै काम गर्नु छ । पूर्ण केन्द्रीय समिति नभएका कारण हामीले जति काम गर्न चाहेका थियाैैं, त्यो गर्न सकिरहेका छैनाैं । पार्टीले पनि महसुस गरेको हुनुपर्छ । पार्टीको महासमिति बैठकपछि तरुण दलले पक्कै पूर्णता पाउँछ ।
० १२ वर्षपछि आएको नेतृत्वले पनि पूर्णता नपाउनुले निराशा छाएको छैन त ?
– हामी तरुण दलको नेतृत्वमा आइसकेपछि केही गर्नुपर्छ भन्ने सामूहिक ऊर्जा थियो । नेविसंघमा काम गर्दा ७५ वटै जिल्लामा आ–आफ्नो ढंगको नेटवर्क छँदै थियो । पार्टीलाई पनि हामीले बुझेकै थियौं । त्यो नेटवर्कलाई परिचालन गर्याैं । त्यो भन्दा ठूलो कुरा, हामीले पार्टीसँग माग्ने मात्र होइन, पार्टीलाई केही दिनुपर्छ भन्ने ध्येय राखेर काम गरेका छौं ।
हामीले आन्दोलनको शुरुवात राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस नेतृत्वको सरकारले राष्ट्रिय सभामा गरेको मनोनयनको फाइल लुकाएर राखेको विरुद्ध सडकमा ओर्लिएर गर्याैं । उहाँको त्यो कदम संविधानको बर्खिलाप थियो, त्यसका बिरुद्धको आवाज बुलन्द पार्ने काम हामीले गर्यौं । मन्त्रिपरिषद्ले निर्णय गरेर पठाएपछि रोकेर राख्ने अधिकार संविधानले उहाँलाई दिएको छैन । तर, उहाँले रोकिदिनुभयो । ओली सरकार आएर गरेको निर्णयको फाइल भने राष्ट्रपति कार्यालय पुगेको १२ घन्टा बित्न नपाउँदै राष्ट्रपतिले स्वीकृत गरिदिनुभयो । व्यक्तिको अनुहार हेरेर निर्णय लिइयो । त्यसको विरोधमा हामीले राष्ट्रपति कार्यालयमै गएर ज्ञापनपत्र बुझायाैं । कि राष्ट्रपतिले संविधान पढ्नुभएको छैन, पढेको भए बुझ्नु भएन भनेर हामीले संविधान नै राष्ट्रपतिलाई उपहार दियाैं ।
त्यसपछि निषेधाज्ञा जारी गरियो, त्यसको अवज्ञा गर्दै दोस्रो आन्दोलन रत्नपार्कमा महंगीको विरुद्धमा गर्यौ, त्यहाँ पनि निषेधाज्ञा जारी भयो । तेस्रो आन्दोलन जसले तरुण दललाई चर्चित पनि बनायो, डा.गोविन्द केसीको आन्दोलनलाई समेत जोडेर, महँगी, भ्रष्टाचार, सरकारको राजनीतिक हस्तक्षेप, न्यायपालिकामाथिको हस्तक्षेप लगायतका विरुद्ध शक्ति प्रदर्शनसहित र्याली गर्दा हामीमाथि धरपकड समेत भयो । त्यसमा म लगायत पार्टीका नेताहरू घाइते हुनुभयो । त्यो प्रदर्शनमा दशौं हजारको उपस्थितिले हाम्रो आत्मबल बढाउने काम गरेको छ । केपी ओलीको कार्यशैलीले लोकतन्त्रलाई संकटमा पारेको छ । यसलाई जोगाउने दायित्व हाम्रो हो । यो अभियानमा हामी निरन्तर लागिरहेका छौं । लागिरहने छौं ।
० पार्टीमा पनि तपाईहरूको जस्तै एकताबद्ध भएर काम गर्ने वातावरण निर्माण गर्न के गर्नुपर्ला ?
– तरुण दलको प्रशिक्षण मुख्य गरी दुई विषयमा थियो । नेताहरू एक हुनुपर्छ, दोस्रो सरकारले गरिरहेको संविधान मिच्ने, कम्युनिस्ट धारमा अगाडि बढाउने, अतिवाद लागू गर्ने, विपक्षीलाई धम्क्याउने कार्यलाई कसरी चिर्ने ? भन्ने विषयमा । पार्टी एकजुट हुन सर्वप्रथम नेताहरूले आफ्नो आत्मसमीक्षा गर्नुपर्छ । नेतृत्वमा पुग्नका लागि सबै पार्टीमा पावर सेयरिङ हुन्छ । तर, निर्वाचनबाट जितेपछि जित्नेले हार्नेको सहयोग लिनुपर्छ भने हार्नेले जित्नेलाई सहयोग गर्नुपर्छ । मेरो पार्टी हो, पार्टी बलियो भने मात्रै देश बनाउन सक्छ भन्ने भावना भित्रैदेखि आउनुपर्छ भन्ने मेरो मान्यता छ । देश, जनता र पार्टीलाई केन्द्रमा राखेर सोच्ने, विचार गर्ने हो भने साझा मिलनविन्दु पहिल्याउन सकिन्छ । कांग्रेस, कम्युनिस्ट र मधेसी दलहरूकोबीचको भिन्नता स्पष्ट पार्ने गरी हाम्रा प्रकाशनहरू आउन आवश्यक छ । त्यसअनुसारको पार्टी प्रशिक्षण आवश्यक छ । प्रचार संयन्त्र त्यसअनुरूप बनाइयो र कार्यान्वयनका लागि परिचालन गरियो भने कांग्रेसको विकल्प नेपालमा छैन । नेपाली कांग्रेस लोकतन्त्रको पर्याय हो ।
प्रोपोगाण्डामा हामी असफल छौं, यसमा लाज मान्ने होइन, सुधार गर्नुपर्छ । एकातिर कम्युनिष्टहरूको लहर आएको थियो, अर्कोतर्फ हामीले पार्टीको एजेण्डालाई राम्रोसँग जनतासामु पु¥याउन र बुझाउन सकेनौं । हामी असफल भयांै । सत्तामा रहँदा हामीले गरेका केही काम जनताले पचाउन सकेनन् । उनीहरूको विश्वास जित्न नसक्दा सबैभन्दा ठूलो पार्टी कांग्रेस अहिले संसद्मा दोस्रो पार्टीका रूपमा खुम्चन पुगेको छ । कांग्रेसमा चेन अफ कमान्ड बिग्रेकै छ । कसैले कसैलाई नमान्ने, मै मात्रै नेता भन्ने प्रवृति बढेको छ ।
कांग्रेसका नेताहरू ज–जसले जे जे पाउनुभएको छ, उहाँहरू कसैले पनि मलाई पुग्यो भन्नु भएको छैन । सबैको भनाइ मलाई पुगेन भन्ने मात्रै छ । सांसद बन्ने, मन्त्री बन्ने, पार्टीको केन्द्रीय सदस्य बन्ने व्यक्ति कसैले पनि अवसर नपाएका कार्यकर्तालाई हेरेर मैले त केही पाएँ नि भनेर खुशी हुने नेता तपार्इं भेट्नुहुन्न । उहाँहरूको एउटा मात्रै भनाइ पार्टीले मलाई केही पनि दिएन भन्ने मात्रै हुन्छ । पार्टीलाई माया गर्नुपर्छ भन्ने भावना कुनै पनि नेतामा छैन । पार्टी बनाउने अभियान भनेको व्यक्ति बनाउने होइन, देश बनाउने महाअभियान हो । यहाँ लिन होइन, योगदान दिन आउने हो । योगदानका आधारमा, योग्यता र क्षमताका आधारमा अवसर आउँदा पार्टीले उसलाई एक वा दुईपटक मौका दिने हो । पार्टीले दिने अवसर पैतृक सम्पत्ति होइन ।