• मनाङ। मङ्सिरको शुरुआतसँगै हिमाली जिल्ला मनाङमा विस्तारै चिसो बढ्न थालेको छ। चिसो बढ्न थालेसँगै यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर जान थालेका छन्। प्रायः बाह्रै महीना मनाङमा जाडो हुन्छ। मङ्सिर, पुस र माघमा बढी जाडो हुने हुँदा यहाँका बासिन्दा जाडो छल्न अन्यत्र सर्ने गर्छन्।

    अन्नपूर्ण संरक्षण क्षेत्र धारापानीका अनुसार मनाङमा चिसो बढे पनि बाह्य पर्यटक आउने क्रम भने घटेको छैन। जाडो याममा हिउँसँग खेल्न र रमाउन पाइने भएकाले चिसो मौसममा पर्यटक मनाङ पुग्छन्। मङ्सिर, पुस र माघमा जाडो छल्न स्थानीयवासी भने देशका विभिन्न ठाउँमा पुग्ने गर्दछन्। स्थानीयवासी विनोद गुरुङका अनुसार पर्यटकीय यामको अन्त्यसँगै जिल्लाका होटल व्यावसायी जाडो छल्न जिल्ला बाहिर जाने गर्छन्। “जाडो छल्न काठमाडौं, पोखरालगायतका शहरमा जानेको सङ्ख्या बढी छ,” गुरुङले भने।

    माथिल्लो भेगमा हिउँ पर्न शुरु भइसकेको छ। अब विस्तारै तल्लो भेगमा हिउँ पर्न थाल्छ। चिसो बढेसँगै यहाँको गाउँघर सुनसान र रित्तो हुने क्रम बढेको छ। विद्यालयको अन्तिम परीक्षा सकाएर शिक्षक र विद्यार्थी पनि बिदा मनाउन अन्यत्र लाग्छन्। “गाउँमा घरकुरुवा मात्र बस्न्छन्,” चौँरीपालक किसान सुरेश थकालीले भने। हिमाली भेगबाट भेडा र चौँरी बँेसी सार्ने तथा चिसोले नभेट्ने ठाउँमा राख्ने चलन छ। चौँरीगोठ मनाङको नासो गाउँपालिकाका लेकमा राखिने र भेँडा च्याङ्ग्रा लमजुङको बाहुनडाँडा र घनपोखरा पु–याउने थकालीले बताए। माथिल्ला भेगमा रहेका खर्कबाट घरपालुवा पशु जिल्लाको तल्लो भेगमा सार्ने तयारीमा किसान जुटेका छन्।

    “अबका तीन महीना माथिल्लो भेगमा हिउँ पर्छ। अति जाडो हुन्छ। घाँस पुरै हिउँले पुर्छ। त्यसैले माथिल्लो भेगमा रहेका खर्कबाट किसान घरपालुवा पशु तल्लो भेगमा सार्ने तयारीमा जुटिसकेका छन्। यस क्षेत्रका किसानको माथिल्लो भेग र तल्लो भेगमा गरी दुई गोठ हुन्छन्। चिसो बढेसँगै माथिल्लो भेगाबाट किसानले याक, चौँरी, च्याङ्ग्रा र भेँडाबाख्रा तल्लो भेगका तालगाउँ, धारापानी, दानाक्यूलगायतमा ठाउँमा सार्ने गर्दछन्।

    मङ्सिर, पुस र माघमा हिमपात हुने भएकोले स्थानीयवासी चिसो मौसम शुरु हुनुअगावै दाउरा सङ्कलनमा जुट्छन्। होटल व्यवसायीले कामदार लगाएरै दाउरा सङ्कलन गर्छन्। यो समयमा जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थामा काम गर्ने कर्मचारीले स्थानीयवासीबाट दाउरा खरिद गर्छन्। स्थानीयवासीका अनुसार स्थानीयवासी तथा कर्मचारीलाई आफ्नो व्यक्तिगत उपयोगका लागि दाउरा सङ्कलन गर्नका लागि कुनै समस्या छैन। कर्मचारी कार्यालयकै कामकाजमै व्यस्त हुने भएकाले दाउरा सङ्कलन गर्न भ्याउँदैनन्। त्यसैले विभिन्न कार्यालयका कर्मचारीले स्थानीयबाटै दाउरा खरिद गर्छन्। दाउरा सङ्कलन गर्नेले नियमअनुसार शुल्क तिरी दाउरा सङ्कलन गर्नुपपर्ने चामेकी धनमाया विकले बताए।

    “शुल्क तिरी दाउरा जम्मा गर्छौैैँ। दाउरा बेच्दा प्रतिभारी रु १५० लिन्छौँ। एक चट्टा दाउरा घरसम्म पु–याइदिएको दश लाग्छ”, उनले बताए। हरेक गाउँपालिकाले दाउरा सङ्कलनका लागि स्थानीयस्तरमै दाउरा सङ्कलन समिति गठन गर्छ। “समितिको रोहवरमा मात्रै दाउरा सङ्कलन हुने गर्दछ”, चामे गाउँपालिकास्तरीय दाउरा सङ्कलन समितिकी अध्यक्ष अनिता लामा बताउनुहुन्छ। चिसो समयमा स्थानीयवासीले आगो ताप्नका लागि दाउराको उपयोग गर्छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…