• ‘म त लालीगुराँस भएछु, वनैभरि फूलिदिन्छु मनैभरि फुलिदिन्छु’

    नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्को गीत दिएका स्वरसम्राट नारायणगोपालले संसार छाडेको २८ वर्ष बितेको छ।

    ‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भने भन्नुपर्या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्या छ’, ‘झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठिकै छु’, ‘यो मुटुलाई कसरी सम्झार्इ बुझाऊँ'लगायत १३७ लोकप्रिय गीत दिएका नारायणगोपालले जीवनकालमा जति गीत गाए सबै त्यति नै उचाइमा पुगे। २०१६ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेसँगै नारायणगोपालले साङ्गीतिक यात्रा सुरु गरेका हुन्।


    सबैभन्दा पहिले उनले साथी माणिकरत्न स्थापितको घरमा बसी उनकाकाका सिद्धिरत्न स्थापितसँग हिन्दी गीत गाउन सिके। पहिलो पटक उनले त्रिचन्द्र क्याम्पसको ४०औँ वार्षिकोत्सव समारोहमा तबला बजाएका थिए। समकालीन गायक सङ्गीतकार अम्बर गुरुङले आफ्नो एक अन्तवार्तामा नारायणगोपालबारे भनेका छन्, ‘उनी धेरै पिउँथे, उनी खुला हृदयले गाउँथे र सबैलाई हसाउँथे पनि। उनको गीत जति उचाइमा छ, उनको मूर्तिको पनि कुनै मूल्य छैन।’ स्वरसम्राटको उपमा दिइरहँदा स्वयं नारायणगोपाल आफूलाई त्यो उपाधि दिन रुचाउँदैनथे। ‘यो सम्झिने मन छ, म बिर्सु कसोरी तिमी नै भनिदेउ एऽऽऽ जाने निठुरी’ आजभोलिका गायकले शब्दको चयन नै नगरी गाएजस्तो उहाँको स्वभाव नरहेको सङ्गीतकार बुलु मुकारुङ बताउँछन्। 'कुनै शब्द मन नपरे उहाँ त्यो गीत गाउनुहुन्नथ्यो, त्यसैले कसै कसैले उहाँलाई घमण्डी गायक पनि भन्थे, यथार्थमा उहाँ त्यस्तो हुुनुहुन्न थियो', मुकारुङ थप्छन्, 'उहाँ बढी साहित्य जोडिएका गीत गाउन नै रुचाउनुहुन्थ्यो।'


    नारायणगोपाललाई कतिपयले बढी पिउने गायक पनि भन्ने गर्छन्। यथार्थमा उनलाई बदनाम गराउन खोज्नेले त्यस्तो उपमा दिएको मुकारुङ बताउँछन्। 'आजभोलि नपिउने त को नै होलान् र!' उनले भने। सङ्गीतकार तथा गीतकार गोपाल योञ्जनसँग नारायणगोपालको भेट दाजर्लिङ यात्राका क्रममा भएको थियो। योञ्जनसँगको भेटले उहाँको जीवनमा नयाँ मोड लिएको थियो। भेटघाटकै क्रममा उहाँहरुको मितेरी साइनो जोडिएको थियो। नारायणगोपालले धेरैजसो योञ्जनका गीत नै गाएका थिए। उहाँलाई सीमा बाहिरका गीत पनि गाउने पहिलो गायकका रूपमा लिइने गरिन्छ। योञ्जनसँगै उनले दार्जिलिङका रचनाकार हरिभक्त कटुवालका गीतसमेत गाएका थिए। दार्जिलिङ यात्राका क्रममा नारायण गोपालको भेट पेमला लामासँग पनि भएको थियो। त्यो भेटघाटले प्रेमको रूप लिई विवाहसमेत भएको थियो। पेमलासँगको प्रेमपछि विवाहका लागि प्रस्ताव राख्दा परिवारले नमानेपछि उनको परिवारिक सम्बन्धमा चिसोपन आएको थियो, जसका कारण नारायणगोपाल परिवारबाट छुट्टिएर बस्नुपरेको थियो। उनी निःसन्तान हुनुभए पनि उहाँ पारिवारिक कारणबाट कहिल्यै निराश थिएनन्। धेरैजसो व्यक्ति माथि उठ्न अरुको चाकडी गर्न निकै नै रुचाउँछन्।


    अन्यभन्दा फरक शैलीका नारायणगोपालले कहिल्यै चाकडी गर्न रुचाएनन्। जो आफूसँग पनि चाकडी गर्न खोज्छ, त्यस्ता व्यक्तिसँग सङ्गत गर्थेनन्। सीमित व्यक्तिसँग मात्र मित्रता र सङ्गत गर्ने स्वभावका नारायणगोपाल निकै गम्भीर स्वभावको थिए। नयाँ व्यक्तिसँग निकै नै गम्भीर स्वभावको भए पनि उनको नजिकको व्यक्तिसँग निकै नै मिलनसार स्वभावको रहेका सङ्गीतकार भूपेन्द्र रायमाझी बताउँछन्। 'उहाँको सद्भाव, भाइचारा र मिलनसार व्यवहारको कहिल्यै प्रशंसा गरेर सकिँदैन', उनले भने, 'उहाँले आफ्नो जीवनकालमा सीमित मात्र व्यक्तिसँग सङ्गत गर्नुभयो।आफूले एकपटक भेटेको व्यक्तिलाई उहाँ कहिल्यै भुल्नुहुँदैदनथ्यो।' ‘नारायणगोपाल एकल साँझ’ले उनलाई शिखरमा पुर्यायो।


    नारायणगोपालले आधुनिक मात्र नभई देशप्रेमका साथै चलचित्रमा समेत अावाज दिए। उनले गाएको ‘जाग लम्क चम्क हे नौजवान हो’ बोलको गीत आज पनि उत्तिकै कर्णप्रिय छ। ‘हे कान्छा ठट्टैमा यो बैस खेर जान लाग्यो, जाँदैन वाचा खेर पर्ख लिन आउँला’ बोलको गीतमा नारायणगोपाललाई तारादेवीले साथ दिएकी थिइन्। तारादेवी मात्र होइन नातिकाजी, शिवशङ्कर, रत्नदास, प्रेमध्वज प्रधान र बच्चुकैलाशलगायतका गायक गायिकासँग संगीत र स्वरको माध्यमबाट जोडिए नारायणगोपाल। उनले माधव घिमिरे, लक्ष्मीप्रसाद देवकोटा, चाँदनी शाह, क्षेत्रप्रताप अधिकारी, रत्नशम्शेर थापा र कञ्चन पुडाशैनीलगायतको शब्दमा स्वर दिए। थियो।


    ‘वियोग’, ‘देशभक्ति’ र ‘आशा’ उनका गीतका प्रमुख विशेषता हुन्। उनले पहिलोपटक प्रेमध्वज र मणिकको सङ्गीतमा गीत गाए। राष्ट्रिय नाचघरका प्रमुख, बागीना पत्रिकाका प्रकाशक र सम्पादकलगायत ललितकला क्याम्पसमा समेत सहायक प्रमुखका रूपमा कार्यरत उनमा कहिल्यै पनि घमण्ड थिएन। नाचघरमा कार्यरत रहँदा चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमी सङ्गीतका क्षेत्रमा नाचघरमा काम गर्ने उद्देश्यले पुगेका थिए। सोही भेटमा नारायणगोपालले ‘अहिले खाली छैन, पछि काम पर्दा म आफैँ बोलाउँछु’ भनेको सायमी स्मरण गर्छन्। पछि उनले २०३९ मङ्सिर २१ गते सायमीलाई कार्यक्रम सञ्चालन गर्न बोलाएका थिए। सोही भेटघाटपछि अाफूहरूबीच आत्मीयता बढ्दै गएको सायमी बताउँछन्। 'नारायणगोपालजस्तो गायक अबको १०० वर्षपछि पनि सायद जन्मिँदैन।” नारायणगोपाल जस्तो कामप्रति लगाव र झुकाव अहिलेका कुनै पनि कलाकारमा नरहेको उनको दाबी छ। 'उहाँ आर्थिक अभावमा कहिल्यै पनि अरुसँग सम्झौता गर्नुहुन्नथ्यो र आफ्नो प्रशंसा पनि रुचाउनुहुन्नथ्यो', नारायणगोपालबाट अहिलेका गायकले धेरै कुरा सिक्नुपर्ने सायमीको भनाइ छ।


सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…