• म्याग्दी, । म्याग्दीको रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के क्षेत्रमा म्याग्दी जेसीजले पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम गरेको छ । जिल्लामा रहेका सम्भावनायुक्त पर्यटकीय स्थलहरुको प्रचार प्रसारको लागि अभियान नै सञ्चालन गरेको जेसीजले शनिवार टोड्केमा ‘पर्यटन प्रबद्र्धनात्मक बोर्ड’ स्थापना गरेको हो ।

    समुन्द्री सतहदेखि २ हजार ४६० मिटर उचाईमा अवस्थित टोड्केमा स्थापना गरिएको बोर्डको नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, रघुगंगा गाउँपालिका ५ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जा , ६ का वडा अध्यक्ष मनकुमार शेरपुजा र मंगला गाउँपालिका–१ का वडा अध्यक्ष डेकबहादुर राम्जालीले संयुक्त रुपमा अनावरण गरेका हुन् ।



    पर्यटन प्रवद्र्धन कार्यक्रममा बोल्दै जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष श्रेष्ठले लुकेर रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा जेसीजले सुरु गरेको पर्यटन प्रवद्र्धन अभियानले सकरात्मक प्रभाब पार्ने बताए । उनले टोड्केमा स्थापना गरिएको बोर्डले यस क्षेत्रमा आउने पर्यटकहरुलाई आकर्षित गर्ने र यस क्षेत्रको प्रचार प्रसारमा सहयोग पुग्ने बताए । कार्यक्रममा रघुगंगा –५ झिँ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जा , ६ पाखापानीका अध्यक्ष मनकुमार शेरपुजा र मंगला गाउँपालिका–१ का वडा अध्यक्ष डेकबहादुर राम्जालीले टोड्के क्षेत्रको विकासमा दुबै गाउँपालिकाबाट संयुक्त पहल गर्ने प्रतिबद्धता जनाए ।



    संसारको सातौँ अग्लो धौलागिरि हिमाल सहित धौलागिरि र अन्नपूर्ण रेञ्जका एक दर्जन हिमालहरुलाई नजीकबाट नियाल्न सकिने टोडकेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन प्रवद्र्धनात्मक कार्यक्रम गरिएको जेसीजका शाखा अध्यक्ष विश्वकर्माले बताए । कार्यक्रममा टोड्के हिल रिसोर्ट प्रा।लि।का सचिब भिम शेरचनले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण टोड्के क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्न रिसोर्ट सञ्चालन गर्न लागिएको बताउँदै यस क्षेत्रको विकासमा स्थानीय , प्रदेश र संघिय सरकारले सघाउनुपर्नेमा जोड दिए

    त्यस्तै म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठले युवाहरुको नेतृत्व र क्षमता विकास, खेलकुद प्रतियोगिता संगै विभिन्न सामाजिक कार्यहरुमा जेसीजले निरन्तर रुपमा काम गर्दै आएको बताए । आँखै अगाडी दर्जन बढी हिमालको अवलोकन गर्न सकिने टोड्के क्षेत्रको विकासमा अहिले रिसोर्ट समेत सञ्चालनमा आएको छ । टोड्के हिल रिसोर्ट प्रा।लिले पर्यटकको खाना र बस्नको सुविधाको लागि करोडौँ लगानीमा रिसोर्ट निर्माण थालेको हो । रिसोर्ट सञ्चालन, खानेपानीको सुविधा विस्तार, सहज सडकको पहुँच, दृष्यावलोकनको लागि बोर्ड स्थापना लगायतका पर्यटन प्रर्वद्धनात्मक कार्यक्रमले टोड्के क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण सहयोग गर्ने टोड्के क्षेत्र बिकास कोषका अध्यक्ष बाबुराम आचार्यले बताए ।



    धौलागिरी सेन्चुरी पदमार्गले समेटीएको टोड्केमा अहिले झिँ, वाखेत र पूर्णगाउँबाट सडक सञ्जाल र पदमार्गले जोडिएको छ । सदरमुकाम बेनीदेखि नजीक रहेको र सवारी साधनको सहज पहुँच रहेकाले पनि टोड्के पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजाईमा पर्न थालेको छ । टोड्के धुरीबाट मनोरम हिमशृङ्खलाको अवलोकन संगै कालीगण्डकी, म्याग्दी र रघुगंगा नदी किनाराका फाँट, जिल्लाका दर्जनौँ बस्तीहरुको भुभागलाई एकै ठाउँबाट अवलोकन गर्न सकिने स्थानीय अगुवा मोहन खत्रीले जानकारी दिए ।



    म्याग्दी जेसीजले यस बर्ष बेनी नगरपालिका–२ लम्भीहिल र रघुगंगा गाउँपालिका–२ रुईसेमा समेत पर्यटन प्रवद्र्धनको लागि भ्यु प्वाइन्ट स्थापना गरीसकेको छ भने नेपालकै लामो बेग र बाँदुक जोड्ने झोलुङ्गे पुलमा समेत भ्यु प्वाइन्ट निर्माण गर्ने तयारी गरेको महासचिब विरेन्द्र श्रेष्ठले जानकारी दिए । शाखा अध्यक्ष विश्वकर्माको स्वागत, टोड्के क्षेत्रविकास कोषका अध्यक्ष बाबुराम आचार्यको स्वागत र शाखाका महासचिब श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा सुमन बानियाँले आस्थापाठ गराएका थिए ।

    फोटो सौजन्य कमल खत्री म्याग्दी

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…