काठमाडौं । नेकपाका अध्यक्ष केपीशर्मा ओलीको सरकार आउँदो हप्ता एघार महिनामा प्रवेश गर्दै छ । यो भनको वर्षदिनकै हाराहारीमा हो । यो बीचमा यो सरकारले के गर्यो भन्ने सम्झनालायक काम भनेको उनका ‘वचन– बाण’ मात्र रहेछन एउटा सानोतिनो संग्रहनै हुनेगरी । जुत्ताको साइज मिलाउन खुट्टा ताछ्न निर्देशन दिएदेखि बुद्धिजिविलाई थलै पार्दिने भन्ने पछिल्ला भनाइसम्म आइपुग्दा चित्र यस्तै देखियो ।
जवाफ नमूना
सडकका खाल्डा पुरिदिन माग गर्दै केही पहिले त्यसभेगका नागरिक प्रधानमन्त्री ओलीसम्म पुगे । उनले त्यहीँ भनिदिए – ‘ती खाल्डा यो सरकारले खनेको होइन ।’ विकास निर्माणको काम हुँदै नभएको कुरा आयो । उनले जवाफ दिए –‘सरकार जादूको छडी देखाउन आएको होइन ।’
संसदको चालु अधिवेशन समाप्त हुन लागेको एक दिन उदयपुरका एक जना सांसदले एउटा खोलाको बाढीले धेरै नोक्सान पारेको हुँदा तटवन्धनका लागि माँग गरे । प्रधानमन्त्री ओलीले जवाफ दिइहाले –‘त्यो खोलो यो सरकारले छ महिनामा ल्याएको हो र ?’ कन्चनपुरकी एक बालिकाको वलात्कारपछि हत्या भएको घटनाबाट देश आन्दोलित छ वितेको पाँचमहिनादेखि । यही बीचमा प्रहरीले नै प्रमाण नष्टपारेका कुरा आए । यही सन्दर्भमा प्रधानमन्त्री अमेरिकामै रहेकाबेला त्यहाँका एकपत्रकारले सोधे – हत्यारा कहिले पक्राउ पर्लान ? उनको बनिबनाइ उत्तर आयो –‘वाह्र वर्ष नि लाग्न सक्तछ ।’
यी केही नमूना हुन प्रधानमन्त्री जनसरोकारका विषयमा कति हलुका छन भन्ने देखिन । यस्तो उदाहरणका खातै लाग्छन खोज्दै जाँदा । अहिले त एउटा थेगोनै बनेकोछ – सबैकुरा अघिल्लो सरकारले विगारेको भन्ने । जस्तो सरकारले गएको भदौ देखि लागु गरेको संहिताको धेरै नै विरोध भयो । त्यसबेला प्रधानमन्त्रीले जवाफ दिए – ‘यो त अर्कैं सरकारले बनाएको हो ।’ यही बीचमा यो सरकारको प्रशंसा भएको काम सामाजिक सुरक्षाको कुरा आयो जो अघिल्लो वर्षको साउनमा पारित भएको थियो त्यसको चाहिँ चर्चासम्म भएन । यो काम चाहिँ सवै आफैले गरेको भन्ने पार्न खोजियो ।
थलैपार्ने वाण
ओली सरकारको एघारौं महिना प्रवेश हुन एघार दिनमात्र बाँकी रहँदा उनले सरकारी टेलिभिजनको, प्रधानमन्त्रीको कार्यालयले नै खर्च व्यहोरेको एउटा कार्यक्रममार्फत देशका तमाम बुद्धिजीविलाई जे भने त्यो यतिबेला सर्वाधिक चर्चा र संझनामा थपिन आएको पछिल्लो वाण हुनुपर्छ । अर्को कुनै यस्तै वाण नआउन्जेल मसिर १९ को प्रधाननमन्त्रीसंग जनता भन्ने कार्यक्रममा हानिएको त्यो वाणले ठाउँ पाइरहला भनी अनुमान गरौं जसरी यो नआउन्जेल जताततै अरिँगालमात्रै थिए ।
यसकै सेरोफेरोमा एकपटक मौरीको पनि कुरा आयो । तर किन हो यो चाहिँ टिकेन । मौरीले जसलाई डस्छ, खील छाडछ त्यसपछि आफै मर्ने भएको हुँदापनि यो चाहिँ त्यति चर्चामा नआएको होकि ? केही अघिमात्रै इसाइहरुको एउटा धर्मसभाबाट प्रधानमन्त्रीले पाएको एकलाख डलरलाई इनाम भनेपछि यो वाण चलेको हो भन्ने कतैबाट लुकेन । प्रधानमन्त्री ओलीले यसलाई पुरष्कार भनेपनि अरुले चाहि इनाम नै भनिरहेकाछन अहिलेसम्म पनि । त्यसकै प्रतिकृयामा प्रधानमन्त्रीले आफनो टिभि अन्तर्वार्तामा विगतको जस्तै वचनको वाण चलाए । १९ मंसिरको त्यो टेलिभिजन अन्तर्वाताका तत्सम्वन्धी वचन वाणहरु –
‘कुनै–कुनै बुद्धिजीवीका टिप्पणी अत्यन्तै असभ्य, तल्लो स्तरका देख्छु। त्यस्ता बुद्धिजीवीलाई एकपल्ट मसँग पहिले, सञ्चार माध्यममा आउनुभन्दा अगाडि किनभने मैले जवाफ दिँदा उहाँहरू थला पर्ने सम्भावना हुन्छ। त्यसकारण म थला पार्न चाहन्न। उहाँहरूलाई म जान्दछु। त्यसकारण मसँग एकपल्ट उहाँहरूले वादविवाद गर्न अथवा मसँग सत्यहरूको सम्बन्धमा बहस गर्न इच्छा गर्नुभएको हो कि होइन? म उहाँहरूलाई सोध्न पनि चाहन्छु। उहाँहरूका असलियतहरू, जसरी उहाँहरूले असभ्य ढंगले बोल्नुभएको छ। अलिकति असलियत बाहिर आउँदा उहाँहरूको के हुन्छ ? त्यो अलि विचार गरे हुने हो। अब मलाई कति मात्रै भन्न मन छ भने सरकारकै भत्ता खाने, पेन्सन खाने, सुविधा लिने अनि जथाभावी गैरजिम्मेवार ढंगले बोल्ने प्रवृत्ति एउटा। गोपनीयताहरूको वास्ता नगर्ने प्रवृत्ति अर्को। यस्ता प्रवृत्तिहरू र अत्यन्त अनुत्तरदायी र झूटो प्रचारहरू गर्ने अर्को।’
अरिँगाल आह्वान
अरिगाँलको आह्वान अर्को धेरै नै वजार लिएको विषय हो जसले नेकपाका कार्यकर्ताको नामनै अंरिँगालमा परिणत गरायो । यो दलका वरिष्ठ नेताले संसदमानै यो कुरा उठाइसेका छन । भदौ ३० को एउटा सार्वजनिक कार्यकमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने–
‘सरकारले ज्यादै राम्रो काम गरेको छ, यति राम्रो काम यसअघि नेपालका कुनै पनि सरकारले गरेका थिएनन, तर राम्रा कामको पनि गलत प्रचार भएको छ, सरकारका राम्रा कामको गलत प्रचार गर्नेविरुद्ध कालो अरिंगालको गोला जसरी खनिन म आमकार्यकर्तालाई आग्रह गर्छु ।’
प्रधानमन्त्री ओलीले यस्तो निर्देशन जारी गरेकै दिन देशैभरी सामाजिक अन्याय विरुद्ध एउटा ठूलो प्रदर्शनी भएको थियो । सुदूर पश्चिम कन्चनपुर देखि सुदूर पूर्व झापासम्म फैलिएको र पहाड र तराइ सबैतिर एकैदिन एकैपटक ३६ ठाउँमा आयोजित यो प्रदर्शनीको विषय थियो वलात्कारपछि हत्या गरिएकी एउटी किशोरीले न्याय पाउन, हत्याराहरु समातिउन् भन्ने । यो त्यस्तो हत्या भएको ५३ औं दिनको कुरा हो, जुनबेलासम्म ओली प्रशासनको प्रहरीले दोषी उम्काउनेकाम मात्र गरिरहेको थियो । यो प्रदर्शनी कुनै विपक्षी दलको थिएन । देशभरीका आमाबाबु–दाजुभाइ र दिदीवहिनीले आयोजना गरेका थिए र सहभागी पनि उनै थिए । ओलीको यस्तो अरिँगालको बाण यही प्रदर्शनी तर्फ लक्षित थियो भन्ने बुझन गाहारो नपर्ला ।
जुत्ता मिलेन ! खुट्टा ताछ !!
ओली प्रधानमन्त्रीमा नियुक्त भएका लगत्तै चौथो दिन, फागुन ७ को एउटा सार्वजनिक समारोहमा कार्यकर्तालाइ आह्वान गर्दै भने – ‘अव जुत्ता अनुसारको खुट्टा बनाउनु पर्छ । त्यसका लागि आावश्यक पर्यो भने खुट्टा ताछ्ने काम पनि गर्नु पर्छ ।’ दुइपार्टी एकीकरणको प्रस्ताव गर्न आयोजित समारोहमा उनले आफ्ना कार्यकर्तालाई निर्देशननै दिए ‘जुत्ताको साइज मिलेन भने खुट्टा ताछेर मिलाउनू ।’ यो भनाइले यो बेलासम्म प्रचलनमा रहेको ‘खुट्टा अनुसारको जुत्ता’ भन्ने उखानमा परिवर्तन भएर ‘जुत्ता अनुसारको खुट्टा’ भन्नेमा परिणत भयो । यहाँ अर्को आश्चर्य के देखियो भने उनले त्यो भव्य मञ्चबाट यस्तो निर्देशन दिँदा तल बस्ने कार्यकर्ताले गडगडाहट तालि बजाएका थिए । यता अरु नागरिकले चाहिँ यो के भएको हो भन्ने भेउनै पाउन सकेनन् ।
फोटोको रहर
‘म सिंहदरबारमा फोटो झुण्ड्याउनमात्र प्रधानमन्त्री बनेको हैन ।’ प्रधानममन्त्री हुनासाथ । ‘सरकार कहाँ छ भनेर देखाउन नै यति तामझाम गरेका हौं’, दश महिना पुग्ने क्रमको एक दिन अर्थात मंसिर ११ । विजुलीका खम्वामा यतिधेरै पोष्टर किन भनी गरिएको प्रश्नको उत्तरमा। प्रधानमन्त्री हुनासाथ उनका भाषणमा फोटोका लागि होइन भन्दै यस्ता कुरापर्थे । भाषणमा हुन कि अन्तर्वार्तामा । ओलीका प्रमुख आवाज बनेर आएका यी शब्द जोसुकैका कानमा अझै ठोक्किरहेका हुनुपर्छ । तर जव सरकारको आयु १० महिना पार गर्न लाग्यो त्यसपछि सिंहदरवारमा मात्र होइन उनैले विजुलीका पोल पनि छाडेनन आफनोफोटो टास्न ।
अहिले सरकार कहाँ छ भनेर कसैले सोधेखोजे बिजुलीका खम्बातिर देखाइदिन थालेका छन उनी आफैले । मंसिर ११ पछिका उनका काम हेरौँ र भाषण सुनौं । सामाजिक सुरक्षाको व्यवस्था एउटा राम्रो कामको थालनी थियो तर प्रधानमन्त्रीको फोटो मोहले यस्तो कुरुप बनाइदियो जुन सधैँका लागि रेकर्ड भयो । यस्तो फोटो प्रदर्शनीका लागि मात्र १३ करोड रकम खर्चभएको हिसाव आएको छ । रकम जसको होस खर्च त भयो नै र खर्चगर्नेले असूल गर्न खोज्छ नै । स्व. निर्मला पन्तका बाबुआमा सरकार खोजिरहेका छन । त्यस्तै सत्याग्री डा. गोविन्द केसी पनि सरकारनै खोजिरहे छन । जनता पनि सरकारको त्यस्तै खोजिमा छन् । यही बेला हाम्रा प्रधानमन्त्री ओलीले सबैलाई सजिलो बनाइदिए – अब सरकार भेट्न कतै धाउनु पर्दैन । बिजूलीका खाँबासमाउन गए हुन्छ ।
निन्द्रा हराएको दिन
प्रधानमन्त्री ओलीले फागुन २७ मा संसदबाट विश्वासको मत लिँदै भनेका थिए –‘मलाइ मत नदिनेहरु राती सुत्न सक्ने छैनन् ।’ नभन्दै यो सरकार छ महिना पुगेको बेलाको एक दिन वास्तवमा नै निन्द्रा नलाग्ने अवस्थामा पुगेछ समग्र समाज । असोज २ गते यो सरकारको छ महिना पुरा भएर सातौं महिना लाग्ने दिन हो । त्यो दिनको एउटा समाचार पढौं – ‘अपराधी कति ढुक्क छन् भने निर्मलाको बलात्कारपछि देशव्यापी आन्दोलन भइरहेका वेला ५२ दिनमा दुई सय २५ चेली बलात्कृत भए । राजधानीमा मात्रै ४५ दिनमा ४२ बलात्कार । पीडितलाई प्रहरीको जवाफ– फरार आरोपीहरू कतै देखे खबर गर्नू, हामी समात्छौँ ।’ यो भनेको समाजको निन्द्रा हराइदिएको अवस्था नै हो । दिनदिनै यस्तो भएपछि को निदाउन सक्तछ ? यी पीडितहरु ओलिलाइ त्यसदिन मत नदिएका मध्ये मै परेका थिए ।
लाज लाग्ने कुरा
भदौ १२ को संसद बैठकमा भदौ १४ र १५ गते बिमस्टेक सम्मेलनको विषयमा प्रतिनिधि सभालाई जानकारी गराएपछि प्रधानमन्त्री ओलीले समसामयिक विषयमा समेत धारणा राखे । त्यसमा उनले विगतको सरकारले विरासतमा छाडेका समस्याका कारण सरकारले ६ महिनामा काम गर्न नसकेको टिप्पणी गरे । कानुन नभएको तथा प्रतिपक्षीले संसद अवरोध गरेका कारण कतिपय काम गर्न नसकिएको उनको भनाइ थियो ।
यसैक्रममा आयो उनको अर्को जवाफ । कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रश्न गरेका थिए ‘महिलाको अस्मिता लुटिएका घटनाले प्रधानमन्त्रीलाई लाज लाग्दैन । शीर निहुरिँदैन’ । जवाफका क्रममा ओलीले भने – ‘प्रधानमन्त्रीलाई लाज लाग्दैन भनेर एकजनाले भन्नुभयो । यस्तो असभ्य बोल्ने साथी देख्दा किन लाज नलाग्ने ! ’ ओलीले गौतमलाई दिएको जवाफमा नेकपाका सांसदले टेबल ठोकेका थिए । यो उत्तर सत्तारुढ पक्षका सांसदलाई घतलागेर नै ताली वजाएको हुनुपर्छ प्रधानमन्त्रीलाई यस्तो प्रश्न सोध्ने व्यक्तिनै लाजका विषय हुन् भन्ने पुष्टी गर्न खोज्छ ।
चित्र विचित्र
– असारको मध्यमा बलुवाटारमा एउटा दिवाभोज भयो । पात्र थिए गीतका लेखक र गायकहरु । त्यहाँ प्रधानमान्त्रीले भनिदिए
–‘अव गरिवीका गीत नलेख्नू र नगाउनू पनि ।’
– भदौको मध्यमा ओली आफैंले राजधानीका सम्पादकहरुलाई वोलाएर करिव दुइ घण्टा आफ्ना कुरा सुनाए । यो कन्चनपुर घटनाले उत्कर्ष पाएको बेलाको कुरा हो । समाचार सरकारका पक्षमा थिएनन् । घटना नै त्यस्तै थियो । एक वालिकाको क्रुरतम हत्या भएको र महिनादिन बढी हुँदापनि हत्यारा पत्तानलोगको घटनाले वास्तवमानै समाज निराश थियो । यस्तो बेला त्यहाँ ओलीले भनिदिए –‘समाजमा निराशा जगाउने समाचार दिँदै नदिनू ।’ यसको अर्थहुन्छ यस्ता समाचार पत्रकारहरुले आफै उत्पादन गरेका हुन् ।
बुद्धिजीवी मुसा
रारा सम्वोधन प्रधानमन्त्रीको एउटा चर्चित कुरा मध्येमा पर्छ । खर्चकै हिसावले पनि यो धेरै महँगो थियो । अघिल्लो दिन नौवजे त्यता लागेका प्रधानमन्त्री भोलीपल्ट साँझमात्र फर्किएका थिए । यो सम्वोधनकाबारे धेरै प्रतिकृया आए । १० बैशाखमा उनले यसको प्रतिकृया दिँदै भने– ‘मैले देश विकास र समृद्धिको कुरा गर्दा महेन्द्रसँग दाँजिँदैछ । मैले जनतालाई सुखी राख्ने कुरा गर्दा यो त महेन्द्रले बोलेको भन्छन, विकास कुरा गर्यो भने जनताका कुरा गरेन भन्दै उल्टै प्रश्न गर्छन् । यस्ता पनि बुद्धिजीवी हुन्छन् ? नेपालका बुद्धिजीवी मुसा जस्ता छन् । माइत जान लागेकी बुहारीको साडी काटेर मुसाले अलपत्र बनाइदिन्छ । ससुराली जान लागेको ज्वाइँको कोट काटिदिएर मुसोले बदमाशी गर्छ ।’
यो सम्वोधन कति कार्यान्वय होला भनी एकजना विश्लेषकले राजा महेन्द्रले पनि यस्तै गरेका भनी त्यसको हविगत सम्झाएका थिए । त्यसको उत्तरमा उनले यस्तो प्रतिकृया दिएका हुन् ।
वोल्ने लेख्ने नै नभएको पार्टी
पार्टी एकिकृत भएपछिको केन्द्रीय समितिको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले धेरैपटक दोहोर्याएको एउटा कुरा थियो –‘पार्टी चौतर्फी आक्रमणमा पर्यो, यो पार्टीमा वोलेर लेखेर प्रतिवाद गर्ने कोही एकजना पनि रहेनछन् ?’ त्यसपछि एकजना मन्त्री कडारुपले प्रतिवाद गर्न उत्रिए । त्यसबेला डा. गोविन्द केसीको अनशनले देश पुरै आन्दोलित थियो । त्यसका विरुद्ध आफ्नो बलवूताले भ्याएजति रुपमा प्रतिवाद गर्न वंगलादेशमा अध्ययनरत चिकित्सा शास्त्रमा अध्ययनरत छात्राहरुको अस्मिता जोड्न पुगे । केसीको आन्दोलनलाई निरर्थक भनी बुझाउन उनले यो अस्त्र प्रयोग गरेका थिए जो उनी आफैंप्रति फर्कियो । परिणाम रुँदै राजीनामा दिनपर्यो ।
करको कुरा
एकताका देश करको आतंकबाट गुज्रिएको थियो । यद्यपि अतिकरको यस्तो स्थिति अहिले सम्मपनि यथावतनै छ । करेसावारीमा लगाएको सागमा पनि कर लाग्यो । गाउँ घरमा पालिएको कुखुराले एउटा अण्डा दिँदा पनि त्यो कर योग्य भयो । यस्तै धेरै नै अचाक्ली भएपछि दूरदराजदेखि शहरबजारका जनता स्वस्फूर्त रुपले आन्दोलनमा आए । तर प्रधानमन्त्री ओलीले भने –
‘नेपालको कर संसारकै सस्तो छ । यस्तो सस्तो कर पाउने अनि फेरी सरकारकै विरोध गर्ने, यो चाला कस्तो हो ?’
तर यता वास्तविकता चाहिं दक्षिण एसियाकै सवैभन्दा महंगो कर नेपालमा रहेको पाइयो अध्ययनबाट । कुल ग्राहस्त उत्पादनको आधारमा लाग्ने कर नेपाल दक्षिण एसियाकै महंगो रहेछ । नेपालले जीडीपीको आधारमा नेपालीलाई करको भार २४ प्रतिशत पर्ने गर्दछ । जुन दर सार्कका सात वटा मुलुकको भन्दा बढी हो । दोस्रो धेरै कर लिनेमा माल्दिभ्सले २१ प्रतिशत कर लिने गरेको छ भने तेस्रोमा भारतले १८ प्रतिशत, चौथोमा श्रीलंका १२ प्रतिशत, पाँचौमा बंगलादेश ९ प्रतिशत रहेको छ । यहापनि प्रधानमन्त्रीले झुटोबोलेर झुक्याए ।hamrakura bata