• मंसिर २५, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा सांसदहरूले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याको अनुसन्धानमा आफूले कुनै गल्ती नगरेको प्रहरी महानिरीक्षकले बताएका छन् । सांसदहरूले सूक्ष्म अनुसन्धन नभएको भन्दै प्रहरीको आलोचना गरेपछि महानिरीक्षक सर्वेन्द्र खनालले कुनै गल्ती नभएको स्पष्ट पारे ।

    सांसदहरूले नेपाल प्रहरीको कार्यक्षमतामा प्रश्न उठाएका छन् । सोमबार राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि उनीहरूले प्रहरी संगठनको क्षमतामा ह्रास आएको आरोप लगाए । उनीहरूले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मलाको बलात्कार र हत्यापछिको अनुसन्धानबारे प्रहरी महानिरीक्षक खनालसँग जवाफ मागेका छन् । समितिको कार्यालय सिंहदरबारमा सोमबार सांसद दीनानाथ शर्मा, कविता बोगटी, प्रमिलाकुमारी यादव, कालीबहादुर मल्ल, मुक्ता तिवारी यादव, रमेशजंग रायमाझीलगायतले आईजीपी खनालसँग निर्मला पन्तको अनुसन्धान र देशको सम्रग शान्तिसुरक्षाको अवस्थाबारे जानकारी माग गरेका थिए ।

    सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै आईजीपी खनालले निर्मला पन्तको अनुसन्धानको दायरा साँघुरो बन्दै गएको बताए । अनुसन्धानको प्रारम्भिक चरणमै गल्ती गरेको पाइएकाले अनुसन्धान केही जटिल भएको उनले जानकारी दिए । बालिका पन्तको हत्यारा अहिलेसम्म पत्ता लाग्न नसक्दा आफूलाई रातभर निन्द्रासमेत नपरेको उनले बताए । ‘मलाई चिन्ता लागेर निन्द्रा पनि नलाग्ने अवस्था छ,’ उनले भने, ‘चिन्ता छ कि छैन भन्ने जिज्ञासामा चिन्ताको विषय यहाँ जाहेर गरें, हाम्रो सामथ्र्यले गर्न सक्ने जति काम गर्नेछु ।’ नेपाल प्रहरीले आफ्नो सामथ्र्यले भ्याएसम्म काम गरिरहको उनले बताए ।

    प्रहरीको अनुसन्धानमै शंका गर्ने ठाउँ भएको भन्ने सांसदहरूको प्रश्नमा आईजीपी खनालले भने, ‘नेपाल प्रहरीले गरेका अथवा मैले नेतृत्व गरेको संगठनको काम व्यावसायिकताबाट एक रौं तथा एक कसुर कतै तलमाथि गरेको अवस्था छैन, गर्न दिएको पनि छैन ।’ निर्मला पन्तको हत्यारा शक्तिशाली मान्छे रहेको र त्यसैको प्रेसरमा नेपाल प्रहरीले काम नगरेका भन्ने प्रश्नमा आईजीपी खनालले अनुसन्धानमा कसैको दबाब र प्रेसर नभएको बताए । अनुसन्धानमा आईजीपीले यसो ग¥यो, उसो ग¥यो भन्ने ठाउँ नभएको भन्दै उनले भने, ‘अनुसन्धानमा कहीँ कतै मेरो गल्ती थाहा भए संसद्मा राखेर यो मेरो बर्दी खोलिदिए हुन्छ ।’

    राष्ट्रिय सभाका सांसद कालीबहादुर मल्लले पहिलेपहिले प्रहरी भन्नेबित्तिकै मानिसहरू डराउने गरेको भए पनि अहिले गाउँगाउँमा प्रहरीको माग हुने गरेको बताए । तर, कतिपय घटनाको अनुसन्धानमा प्रहरीले अकर्मण्यता देखाउने गरेको बताए ।

    समाचार राजधानी दैनिकमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…