• भीम देवान
    सङ्खुवासभा, मंसिर २५

    आदिवासी याक्खा जातिको सामाजिक संस्था किरात याक्खा छुम्मा पछिल्लो समय निस्क्रिय प्रायः बन्दै गईरहेको छ । केन्द्रीय समितिको नियमित बैठकसमेत हुन छाडेपछि छुम्माको गतिविधि सुस्ताउँदै गएको हो ।

    भदौमा साधारण सभा सम्पन्न भएपछि समीक्षा बैठकसमेत बस्न नसकेको उपमहासचिव सोनाम याक्खाले बताए । अत्यावश्याक बिषयहरुमा छलफल र निर्णय हुन नसक्दा संस्थाको काम कारबाही नै प्रभावित भईरहेको उनको भनाई छ । ‘गएको भदौदेखि पुर्ण बैठक नै बस्न सकिएको छैन’ उपमहासचिव याक्खाले भने । उनका अनुसार, निर्णय हुन नसक्दा दाताले दिएको जग्गासमेत केन्द्रीय समितिले लिन सकेको छैन । संखुवासभा, तामाफोकका कृतिमान जिमीले छोराको स्मृतिमा भत्तपुरको विरुवामा आठ रोपनी जग्गा दुई बर्षअघि नै प्रदान गरेका हुन् । छुम्माको निस्क्रियताका कारण अन्य किरात संस्थाहरुसँग सहकार्य गर्नसमेत समस्या भईरहेको उपमहासचिव याक्खाले बताए । आफुलाई किरात भन्ने जातिहरु लिम्बु, सुनुवार र राईको जातीय संस्थासँग छुम्माले सहकार्य गर्दै आएको छ ।छुम्मा नै छ कि छैन भन्ने जस्तो भईरहेको याक्खा थुम दशमझियाअन्तर्गत संखुवासभाका खगेन्द्र देवानले बताए । छुम्माको बिभिन्न समितिमा रहेर काम गरिसकेका उनले भने, ‘छैन भनुँ भने कहिलेकाँही सानोतिनो कार्यक्रमहरु भएको फेसबुकबाट थाहा हुन्छ । छ भनुँ भने पनि भाषा, संस्कार, संस्कृतिको संरक्षण र संवद्र्धनमा छुम्माको उपस्थिति शुन्य छ ।’ छुम्माको यस्तो अवस्थालाई उनले ‘अर्धमूच्र्छित’ को संज्ञा दिए । ‘कतिले त आफु छुम्माको केन्द्रीय सदस्य हुँ भन्ने नै बिर्से होलान्’, उनले व्यंग्य गरे ।

    केन्द्रले कार्यावधि सकिएका जिल्ला समितिहरुको अद्यावधिक गर्नसमेत सकेको छैन । याक्खा जातिको मूलथलो मानिने संखुवासभामा जिल्ला कार्य समितिको कार्यावधि यसअघि नै सकिएको छ । अन्य जिल्लाका कार्य समितिहरुको अधिवेशन र प्रदेशस्तरमा तदर्थ समिति गठन गर्न नसकिएको उपाध्यक्ष लहरु जिमीले बर्ताइन् । उनले भनिन्, ‘पद लिने बेला मात्र तँछाडमछाड भयो । काम गर्ने बेला कसैलाई मतलव छैन ।’ भूगोलको कारणले पनि छुम्माले गति लिन नसकेको उनको भनाई थियो । याक्खाहरुको मूलभूमि पुर्वमा भएको र अधिकांश पदाधिकारीहरु काठमाडौबासी भएकाले काम गर्न सहज नभएको उनको तर्क थियो । ‘सबै पदाधिकारीहरु काठमाडौमै छन् । उतै सोध्नुहोस्’, छुम्माले किन अपेक्षित काम गर्न सकेन भन्ने प्रश्नको जवाफमा उपाध्यक्ष जिमीले भनिन् । सचिवालय बैठकमासमेत आफुलाई खबर नभएको उनले गुनासो गरिन् ।

    केन्द्रले एक बर्षदेखि ललितपुरको महालक्ष्मीस्थानस्थित केन्द्रीय सम्पर्क कार्यालयको भाडासमेत तिर्न सकेको छैन । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट कार्यालय सञ्चालनका लागि आउने रकम रोकिएसँगै भाडा तिर्न नसकिएको एक पदाधिकारीले बताए । सरकारले बजेट कटौती गरेको भन्दै प्रतिष्ठानले जातीय संस्थाहरुलाई दिंदै आएको सो रकम पनि गत बर्षदेखि घटाएको छ ।

    छुम्माको निस्क्रियताकै कारण ‘देवान’ को बिषयमा पनि विवाद बढेको कतिपयको धारणा छ । ‘देवान याक्खा होईन, फरक जाति हो’ भन्ने समूह र ‘देवान शब्द याक्खाले नै कुनै कालखण्डमा पाएको पदमात्र हो’ भन्नेबिच पछिल्लो समयमा विवाद बढ्दो छ । यस्तो विवाद अस्वस्थ र अश्लील गालीगलौजसम्मको स्तरमा पुगेपछि याक्खा समुदायकै बुद्धिजीविहरु चिन्तित बनेका छन् । यस्तो भ्रम चिर्न पनि छुम्माले अग्रसरता लिनु पर्ने उनीहरु औंल्याँछन् ।

    अधिवेशनको माहौल अनुसार काम हुन नसकिरहेको अध्यक्ष लिलाबहादुर रोगुले पनि स्वीकारे । नियमित र पुर्ण बैठक बस्नका लागि भूगोलका कारण समस्या हुने गरेकोमा उनको पनि सहमति थियो । ‘धरानमा बैठक राख्दा काठमाडौका पुरै जाँदैनौं । काठमाडौमा बैठक बोलायो भने धरानबाट पनि सबै आउनुहुन्न’ उनले समस्या सुनाए ।

    राजनीतिक आस्थाका कारण पनि पदाधिकारीहरुबिच अनावश्यक टकराव बढेको र यसको नकारात्मक असर छुम्मामा देखिएको केही सदस्यहरु बताउँछन् । अध्यक्ष रोगुले पनि संस्थामा ‘यदाकदा’ यस्तो महशुस हुने गरेको बताए । उनले भने, ‘पदाधिकारीहरुमा राजनीतिक आस्था रहनु वा देखिनु स्वभाविक पनि हो । तर संस्थाको कार्यालयमा आउँदा आफ्नो आस्थालाई जुत्ता, चप्पल जसरी ढोका बाहिरै राख्नुपर्छ ।’ राजनीतिक आस्थाबाट आफु प्रभावित नभएको र अरु कसै पनि प्रभावित हुन नहुने उनको भनाई थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…