उर्लाबारी । धिमाल विद्यार्थी मञ्चको आयोजनामा दोस्रो मिस धिमाल २०१९ हुने भएको छ । पूर्वी नेपालको तराई भेगमा बसोबास गर्दै आएका अल्पसंख्यक धिमाल समूदायका युवतीहरुबीच प्रतिष्पर्धा गरी मिस धिमाल छानिने भएको हो ।
बुधबार उर्लाबारीमा पत्रकार सम्मेलन गरी मिस धिमाल प्रतियोगिताका बारेमा जानकारी गराइएको छ । धिमाल युवतीहरुको लुकेर रहेको प्रतिभा उजागर गर्दै धिमाल जातिको कला, संस्कृति, भेषभुषा तथा भाषाको संरक्षण र प्रबद्र्धन गर्नका लागि मिस धिमाल दोस्रो संस्करण गर्न लागिएको आयोजक समितिका संयोजक सुनिल धिमालले जानकारी दिए । पौष २१ गतेदेखि ३० गतेसम्म झापाको विर्तामोड, मोरङको उर्लाबारी र बेलबारीमा अडिशन गरिने आयोजकका सचिब मनिराज धिमालले बताए । माघ ६ गतेदेखि माघ मसान्तसम्म २५ जना सहभागीहरु छनौट गरी नेतृत्व विकास, पत्रकारिता, फोटोसुट, धिमाल इतिहासका बारेमा जानकारी, फिजिकल फिटनेस, सौन्दर्य श्रृङ्गारलगायतबारेमा प्रशिक्षण दिइने उनको भनाई छ ।
मिस धिमालको विजेताले नगद १ लाख, फस्ट रनरअपले ५० हजार र सेकेन्ड रनरअपले ३५ हजार रुपैयाँ पाउने कोषाध्यक्ष सविता धिमालले जानकारी दिइन् । मिस धिमालको फाइनल फागुन पहिलो साता मोरङको उर्लाबारीमा हुने र प्रतियोगितामा करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसअघि धिमाल युवा समिति झापाद्वारा २०११ मा पहिलो मिस धिमाल आयोजना गरेको थियो । जसको उपाधि विर्तामोडकी अनु धिमालले जितेकी थिइन् । त्यसयता मिस धिमाल हुन सकेको थिएन ।