काठमाडौँ । आफ्ना तीन सन्तानलाई माइतीको जिम्मा लगाई भद्रशिला श्रेष्ठ साउदी अरब गइन् । त्यतिखेर जेठा छोरा नीरज भर्खरै १५ वर्ष र माइला छोरा सरोज १२ वर्ष टेक्दै थिए । छोरी १७ कटेकी थिइन् ।
श्रीमानको मृत्युपछि घरेलु कामदारका रूपमा खाडी नगई सन्तानको पालनपोषण हुने बाटो देखिनन् उनले। नेपालबाट जान प्रतिबन्ध थियो (अहिले पनि प्रतिबन्ध छ)। उनले भारतको बाटो रोजिन्। यो २०६५ सालको कुरा हो।
कचनकवल गाउँपालिका ६, झापाकी ४८ वर्षीया भद्रशिला साउदी अरब उडेको १० वर्षपछि शुक्रबार (मंसिर २१) बाकसमा आइन्। छोराहरूले आमाको शव पाउने आशा पनि मारिसकेका थिए। उनको मृत्यु भएपछि झन्डै ६ वर्षपछि बल्ल शव नेपाल आयो। ‘मैले त हार मारिसकेको थिएँ। जिउँदो आमालाई त भेट्न पाएनौं। मरेकी आमा पनि देख्न नपाइने भन्ठानेको थिएँ,’ नीरजले कान्तिपुरसँग भने, ‘ढिलै भए पनि शव पायौं।’
साउदीको मेडिकल रिपोर्टअनुसार भद्रशिलाको मृत्यु २०१३ जनवरी २ मा साउदीको टफलितमा हृदयाघातबाट भएको थियो। टफलित जेद्दास्थित नेपाली महावाणिज्यदूतको कार्यालयबाट झन्डै एक हजार किलोमिटर दूरीमा पर्छ। ‘आमासँग नियमित सम्पर्क थिएन। वर्ष/डेढ वर्षमा एकपटक फोन आउँथ्यो। उहाँ गएदेखि जम्मा २८ हजार रुपैयाँ मात्रै पठाउनुभयो,’ नीरजले भने, ‘हामीले सम्पर्क गर्न खोज्दा फोन लाग्दैनथ्यो। उहाँले फोन गरेपछि मात्रै कुराकानी हुन्थ्यो।’
उनीहरूले भद्रशिलाको मृत्युको खबर पनि निकैपछि मात्रै थाहा पाए। ‘कहिले मृत्यु भयो भन्ने हामीलाई थाहा छैन। तर खबर सुनेपछि शव ल्याउन पहल थालेका थियौं। सानोबुबा वीरबहादुर निकैपटक काठमाडौं धाउनुभयो। हामी सानै थियौं,’ उनले भने, ‘सानोबुबा धाउनुपर्ने सबै ठाउँमा पुग्नुभयो। तर केही पार लागेन।’
त्यतिखेर जेद्दामा नेपाली महावाणिज्यदूतको कार्यालय खुलिसकेको थिएन। वीरबहादुरकै निवेदनमाथि रियादस्थित नेपाली दूतावासले प्रक्रिया अगाडि बढायो। भद्रशिलाको मालिक फेला परेन। तत्कालीन राजदूत उदयराज पाण्डेले साउदी सरकारलाई मालिक फेला पारी शव नेपाल पठाइदिन अनुरोध गरेका थिए।
मालिक बेपत्ता, शव अस्पतालमै
भद्रशिला कुन ठाउँमा बस्थिन्, कसको घरमा काम गर्थिन् भन्ने सूचना दूतावाससँग थिएन। दूतावासलाई उनको शव राखिएको अस्पताल मात्रै थाहा थियो, जुन रियादबाट झन्डै दुई हजार किमि टाढा पर्थ्यो।
२०१५ को सुरुवातबाट भद्रशिलाको फाइल रियादस्थित नेपाली दूतावासबाट जेद्दास्थित महावाणिज्यदूतको कार्यालयलाई हस्तान्तरण भयो। त्यतिखेर झन्डै तीन सय वटा मृत्युसम्बन्धी फाइल रियादबाट महावाणिज्यदूतले पाएका थिए। साउदीको परराष्ट्र मन्त्रालयले पनि भद्रशिलाको मालिक भेटेको जानकारी दूतावासलाई दिएन। नेपालबाट पनि सोधखोज हुन छाड्यो। ‘हाम्रो त आसै टुट्यो,’ नीरजले भने, ‘भनसुन गर्न कहाँ जाने? कसलाई भन्ने? अब आउँदैन नै भन्ने लाग्यो।’
२०१६ सम्म फाइल खुलेन।
मालिक भेटियो, आफन्त भेटिएन
जेद्दास्थित महावाणिज्यदूतको कार्यालयको सक्रियतामा बल्ल भद्रशिलाका मालिकसँग सम्पर्क भयो। उनका मालिक साउदी छाडेर इजिप्टमा व्यापार गरेर बसेका रहेछन्। ‘भद्रशिला बस्ने स्थान ग्रामीण भेग हो। उनका मालिक इजिप्टतिरै व्यापार गरेर बसेका रहेछन्। मालिकसँग सम्पर्क स्थापित भएपछि पठाउने प्रक्रिया सुरु भयो। तर उनले आफूले खर्च नबेहोर्ने अडान लिए,’ कार्यवाहक महावाणिज्यदूत रेवती पौडेलले भने, ‘हामीसँग भेट्नै चाहेनन्। तीन पटकसम्म उनलाई भेट्न टफलितमै गयौं। प्रहरी नै लगाउनु पर्यो।’
धेरै कोशिस गरी मालिकलाई सहमत गराएपछि महावाणिज्यदूत कार्यालयले शव पठाउने प्रक्रिया सुरु गर्यो। तर, नेपालमा आफन्त नै फेला परेन। ‘परिवारका सदस्य फेला नपरेपछि काम अगाडि बढेन। पहिला हामीले शव पठाइदिनुपर्यो भनेर साउदी सरकारलाई दबाब दिएका थियौं। साउदी स्पोन्सर (मालिक) तयार भएपछि हामीलाई छिटो शव लैजान दबाब हुन थाल्यो,’ पौडेलले भने।
नीरजका अनुसार भद्रशिलाका परिवार झापा छाडेर मोरङ बस्न थालेको थियो। ‘गाउँमा बस्न मन लागेन। भाइ पनि कतार गए। दिदीको बिहे भइसक्यो। म मोरङतिर बस्न थालें,’ उनले भने, ‘प्रशासनले खोजिगरेको खबर पाएपछि गाउँ फर्कें।’
स्थानीय प्रशासनमार्फत नीरजको दूतावाससँग सम्पर्क भयो। भद्रशिलाको शव पठाउन लाग्ने खर्च महावाणिज्यदूत कार्यालय र स्पोन्सरले आधा/आधा बेहोरेका छन्। कान्तिपुरबाट ।