धादिङ, २८ मङ्सिर
एउटा कोठामा पनि सबै विद्यार्थीलाई पढाउन नहुने भएपछि भिन्दाभिन्दै सेक्सन बनाएर पढाइ गर्ने गरेको र यसले गर्दा विद्यार्थीको सिकाइ उपलब्धि बढी हुने गरेको तथ्य सुन्ने गरिएको छ । तर धादिङको एउटा विद्यालयमा एउटा कोठामा चारवटा कक्षा सञ्चालन भइरहेको भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।
कुचुक्क परेको सानो कोठा । सबै चेपाङ समुदायका बालबालिका नाङ्गै खुट्टा विद्यालय आउने गर्छन् । कक्षामा विद्यार्थी चारतिर फर्केर बस्छन् । दुई शिक्षक एकैपटक कोठामा जान्छन् । आफ्नो विषय पढाएर फर्कन्छन् ।
धादिङको बेनीघाटरोराङ गाउँपालिका वडा नं २ चोतेस भन्ने दुर्गम गाउँमा अवस्थित बागेश्वरी आधारभूत विद्यालयमा यसरी चार कक्षा एउटै कोठाबाट वर्षौंदेखि पढाइ भइरहेको छ । तर शिक्षामा लगानी गर्नेको ध्यान जान सकेको छैन ।
विद्यालयमा जम्मा एउटा कोठा छ, बालकक्षादेखि कक्षा तीनसम्म पढाइ हुन्छ । दुई शिक्षक सँगै जान्छन् । विद्यार्थी तिनतिर फर्काएर पढाउछन् । यो विद्यालयको नियमित कार्य भएको छ । कक्षाकोठाको अभावका कारण एकै ठाउँमा सबै कक्षाका बालबालिकालाई राखेर अध्ययन अध्यापन गराउनुपर्ने बाध्यता रहेको बताउँदै, एकै कोठा धेरै कक्षा विद्यार्थी राख्दा सिकाइ क्रियाकलाप प्रभावकारी नहुने शिक्षक बुद्धिमाया तामाङको भनाइ छ ।
विद्यालयमा राज्यले निर्धारण गरेको न त भूकम्प प्रतिरोधी भवन नै छ न त अपाङ्गतामैत्री लैङ्गिकमैत्री कक्षाकोठा नै छ । विद्यालय हाता साँघुरो छ, न खेल मैदान न त शौचालय नै छ । भएको भवन पनि कच्ची छ, बाल शिक्षादेखि कक्षा ३ सम्म ५५ जना विद्यार्थी रहेको यस विद्यालयमा सरकारी दरबन्दीको शिक्षक छैनन् । सबै चेपाङ बालबालिकामात्र अध्ययन गर्न आउने उक्त विद्यालयमा गाउँपालिकाको अनुदानमा एक जना शिक्षक राखिएको छ भने अन्य एक जना गाउँलेले नै स्रोत जुटाएर शिक्षक राखेका छन् । जीर्ण भवन, शिक्षकको अभाव र शौचालयको अभावले यस विद्यालयका बालबालिकाले निकै दुःख खेपिरहनुपरेको छ ।