काठमाडौं । शनिबारदेखि नेपाली कांग्रेसको महासमिति बैठक काठमाडौंमा सुरु भएको छ । यो महासमितिको बैठक इतिहासमै कांग्रेस अत्यन्त कमजोर भएको बेला सुरु भएको छ र बैठकले यसको विगत, वर्तमान र भविष्यका बारेमा गम्भीर छलफल गरेर निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।
नेपाली कांग्रेस पार्टी स्थापना भएदेखि नै यति कमजोर कहिल्यै बनेको थिएन । अरु बेलाको कुरा त परै जाओस्, पञ्चायतकालमा पनि कांग्रेस नै मुलुकको प्रमुख शक्ति थियो । पञ्चहरुले प्रजातन्त्रको कुरा गरे पनि त्यसलाई जनताले पनि पत्याएका थिएनन्, विदेशीले पनि पत्याउँदैनथे । त्यसअघि प्रजातन्त्र स्थापना भएको चर्चा परिचर्चा छँदै थियो । ३० वर्षे पञ्चायतको २०४६ सालमा पतन भएपछि प्रजातन्त्र पुनस्र्थापना कांग्रेस चर्चा बाहिर रहेन । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई नेतृत्वबाट पाखा लगाउन गिरिजाप्रसादले कुनै कसर बाँकी राखेनन् ।
गणेशमान र कृष्णप्रसादभन्दा आफू सक्षम र राम्रो देखाउन खोज्दाको परिणाम हो अहिलेको अवस्था । त्यसमा पनि यो शेरबहादुर देउवाको कुकर्म । त्यसमा थपियो रामचन्द्र पौडेलको निष्कर्म । कुनै काम नगरी देउवालाई विस्थापन गर्ने उनको चाहना एउटा लुम्द बाहुनको चाहनाभन्दा फरक देखिँदैन । इतिहासमा कहिल्यै नहारेको कांग्रेस अहिले कम्युनिस्टसँग लज्जास्पद रुपमा पराजित भएको छ र त्यसको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएका छैनन् । कांग्रेसको हारमा एक कारण मात्रै छैनन्, अनेक छन् ।
कम्युनिस्ट मिल्नु कांग्रेस हार्नुको एउटा कारण हो तर कम्युनिस्ट मिल्नु कांग्रेसको नेतृत्वको छुछुकीको कारण हो । कम्युनिस्ट मिलिसकेपछि पनि कांग्रेसको यस्तो शर्मनाक पराजय हुने स्थिति थिएन । टिकट वितरणमा भएको बदमास अर्को कारण हो । कांग्रेसको नेतृत्वले टिकट वितरण गरेनन, बिक्री ग¥यो । श्रीमती, ससुराली र भाइभाइदारलगायत पैसा उठाइयो । त्यसले कार्यकर्तामा वितृष्णा पैदा ग-यो मनोबल गिरायो । मनोबल गिरेको सैनिकले लडाइँ जित्न सक्दैन भनेको भनाइ यहाँ पनि लागू भयो । कम्युनिस्ट कार्यकर्ताले चुनावअघि नै जितिसकेका थिए ।
कांग्रेसको नेतृत्वले उठाएको पैसा पनि कार्यकर्तालाई दिएन । लुकाएर राख्यो भन्ने कार्यकर्ताको आरोप असत्य पनि होइन । पार्टी नेतृत्वले कार्यकर्ताको संरक्षण गर्न नसकेको छँदै थियो, आइजीपी प्रकरण, सुशीला कार्की प्रकरणमा नेतृत्व चरम रुपमा स्खलित भएको थियो । त्यसको कारण नेतृत्वले कहिल्यै नबताए पनि कार्यकर्ताले राम्रैसँग बुझेका थिए । पार्टीको टिकट दिँदा ठेकेदार, तस्कर, माझीमा तथा जग्गा दलाललाई पहिलो प्राथमिकता बनाइएपछि कार्यकर्ता पाखा लाग्नु स्वाभाविकै थियो । नेतृत्व र कार्यकर्ताको यसरी दूरी बढ्दा नेपाली एकातिर, कांग्रेस अर्कोतरि पुग्यो । त्यसले कांग्रेसलाई निर्वाचनमा पराजित मात्र गराएनन् मुलुकमा वैधानिक साम्यवाद स्थापित गरायो ।
राजाबाट न्याय पाएको घोषणा गर्ने देउवाको राजनीतिक दरिद्रतालाई वामपन्थीहरुले राम्रैसँग बुझिसकेका थिए । त्यसैको कारण हो – अहिले उनकी सासू प्रतिभा राणा, रमेश कोइराला र समिला पराजुलीलाई राजदूतबाट फिर्ता नबोलाइनु । पार्टी नेतृत्वले जब यसरी आफ्नो स्वार्थमा सौदाबाजी गर्दछ, अनि त्यहाँ इमानजमानको कुरा हराउँदा छ, पार्टीको आदर्श र सिद्धान्त ओझेलमा पर्दछ । अहिले त्यही भएको छ । कांग्रेसको नेतृत्वको गुभो नै मर्न आँटेको छ ।
मूल नेतृत्व र पार्टीभित्रको प्रतिपक्ष लोभी र पापी भएका छन् । त्यसलाई नफेर्दासम्म यो नेतृत्वले कांग्रेसको नयाँ गन्तव्य कसैले पनि कोर्न सक्दैन । धर्मलाई अफिम मान्ने कम्युनिस्टह अहिले इसाईका मसिहा बनेका छन् र मुलुकमा धर्म युद्ध निम्त्याउँदैछन् । मुलुकका सबै संयन्त्र इसाईकरणका लागि प्रपयोग भएका छन् । न सर्वोच्च अदालको प्रधानन्यायाधीश नियुक्तिमा भएको बेइमानीका बारेमा कांग्रेसको नेतृत्वले प्रतिवाद गर्ने हैसियत राख्दछ न प्रहरी प्रशासनमा भएको बदमासीमा खबरदारी गर्ने हैसियत राख्दछ । नैतिकरुपमा नेतृत्व भ्रष्ट भइसकेको जनमञ्चमा उल्लेख छ ।
बुढो गोरुले कोरली गाई ओगटे जस्तै गरी यही नेतृत्वलाई पार्टी ओगट्न दिने हो भने मुलुकमा आएको वैधानिक साम्यवाद उखल्न लामो समय कुुर्नपर्ने हुन्छ । कांग्रेसको महासमितिको चालू बैठकले यसमा खबरदारी गर्न सकेन भने यस्तो बैठकको कुनै अर्थ रहनेछैन ।