• पौष २, काठमाडौं । राजधानीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दू धर्मसहितको मुलुकका लागि कांग्रेसलाई नेतृत्व लिन महासमिति प्रतिनिधिले दबाब दिएका छन् । बन्द सत्रमा दबाब दिएका प्रतिनिधिले हलबाहिर भने हस्ताक्षर संकलन अभियानै चलाएका छन् ।

    महासमितिको बन्द सत्रमा बोल्ने अधिकांशले धर्म निरपेक्ष राष्ट्र हुँदा एक धर्मले अर्को धर्मलाई गर्ने सम्मानमा आँच आएको भन्दै हिन्दू राष्ट्र निर्माणका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने आवाज उठाएका हुन् । केहीले भने धर्म निरपेक्षताको साटो धार्मिक स्वतन्त्रतासहितको मुलुकका लागि पहलकदमी लिन सुझाएका छन् ।
    उनीहरूले ‘सनातन धर्म संस्कृतिको जगेर्ना हुने र सोको रक्षामा आँच नपुग्ने गरी’ भन्ने शब्द राजनीतिक प्रतिवेदनमा समेत उल्लेख गर्नुपर्ने माग गरेका छन् ।

    जारी महासमितिमा शनिबार साँझ नै राजनीतिक प्रतिवेदन पेस भइसकेको छ भने सोमाथि छलफल जारी छ । कांग्रेसभित्र संविधान जारी हुनुअघि समेत संविधानमा धार्मिक स्वतन्त्रतासहितको मुलुक उल्लेख गर्ने कि धर्म निरपेक्षतासहितको मुलुक उल्लेख गर्ने भन्नेमा लामो समय विवाद भएको थियो ।
    सो बखत राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसवादी दलहरूसमेत धार्मिक स्वतन्त्रतासहितको मुलुक उल्लेख गर्नुपर्ने अडानमा थिए ।
    कांग्रेसभित्र महामन्त्री डा. शशांक कोइराला स्वयं हिन्दू धर्मको पक्षमा बेलाबखत बोल्दै आइरहन्छन् ।
    महामन्त्री डा. कोइरालाले आइतबार महासमिति स्थलमा पत्रकारसँगको कुराकानीका क्रममा बन्द सत्रमा धर्मका विषयमा समेत आवाज उठेको जनाए ।

    ‘मैले त भन्दै आइरहेकै छु । महासमिति सदस्यहरूले पनि यहाँ बन्द सत्रमा धर्मको विषय ल्याउनुभएको छ । अब धार्मिक स्वतन्त्रतासहितका पक्षमा कांग्रेसले निर्णय लिनुपर्छ,’ महामन्त्री कोइरालाले भने ।
    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत धार्मिक स्वतन्त्रतासहितको मुलुकका पक्षमा बैठकमा आवाज उठेको जनाए ।
    ‘धर्म निरपेक्षता होइन, धार्मिक स्वतन्त्रतासहितको मुलुक हुनुपर्छ भन्ने धारणा आइरहेका छन् । त्यसका लागि पार्टीलाई नेतृत्व लिन बैठकमा सुझाव आएको छ,’ वरिष्ठ नेता पौडेलले राजधानीसँग भने ।
    महासमिति स्थल बाहिर हिन्दू राष्ट्रका लागि भन्दै पार्टीलाई दबाब दिन महासमिति सदस्यहरूको हस्ताक्षर संकलनसमेत गरिएको छ ।

    नेता शंकर भण्डारीले सुरु गरेको अभियानमा पूर्वसभामुख तारानाथ रानाभाटदेखि पूर्वमन्त्री चिरञ्जीवी वाग्ले, नेतृ पुष्पा भुसाल, नेता अजय चौरसिया, मकवानपुरका सभापति इन्द्र बानियाँ, डडेल्धुरा सभापति कर्ण मल्लसहितका नेताले हस्ताक्षर गरेका छन््

    केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री शंकर भण्डारी र महासमिति सदस्य राजुराज जोशीको अगुवाइमा महासमिति हुने स्थानको बाहिर नेसनल टे«डिङको परिसरमा स्टल नै राखेर हस्ताक्षर संकलन गरिएको हो । जोशी काठमाडौं महानगरपालिकामा महानगर प्रमुखमा पराजित उम्मेदवार हुन् ।
    आइतबार साँझसम्म हिन्दू धर्मका लागि हस्ताक्षर गर्ने ६ सय जना महासमिति सदस्य पुगेका छन् । महासमिति परिसरमा उपस्थित अन्य ८३२ ले समेत हस्ताक्षर गरेका छन् ।

    हस्ताक्षर गर्नेहरूमा पूर्वसभामुख तारानाथ रानाभाटदेखि पूर्वमन्त्री चिरञ्जीवी वाग्ले, नेतृ पुष्पा भुसाल, नेता अजय चौरसिया, मकवानपुरका सभापति इन्द्र बानियाँ, डडेल्धुरा सभापति कर्ण मल्लसहितका नेता रहेको हस्ताक्षर संकलनमा खटिएका नेविसंघ नेता सुशान्त आचार्यले राजधानीलाई जानकारी दिए । उनका अनुसार महासमिति अवधिभर हस्ताक्षर संकलन हुनेछ । संकलित हस्ताक्षरलाई केन्द्रीय सदस्य भण्डारीले महासमितिमा पेस गर्ने बताएका छन् ।
    कांग्रेसको जारी महासमितिको बन्द सत्रमा आइतबार चारवटा प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।
    उपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्री डा. शशांक कोइरालाले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन, सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको पार्टीको अर्थनीतिसम्बन्धी दृष्टिकोण र कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमाथि छलफल सुरु भएको प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

    उनका अनुसार प्रतिवेदन परिमार्जन गर्न समेत महासमिति सदस्यहरूबाट राय आएको छ । प्रवक्ता शर्माले बैठकको बन्द सत्र अवधिभर आएका सुझावलाई समेटेर प्रतिवेदनमा आवश्यक परिमार्जन गरिने जनाए ।
    महासमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले तयार गरेको विधान संशोधनको प्रस्ताव भने पेस गर्न बाँकी छ । विधानका केही मूलभूत विषयमा नेताहरूबीच सहमति नभएपछि बैठकमा विधान पेस हुन नसकेको हो ।
    विधानमा सहमति जुटाउन भन्दै आइतबार नेताहरू सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेका थिए । तर, सो बैठकमा समेत सहमति जुटेको छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…