हरि कोइराला
लेटाङ । कुनै समय काठको साइकल खुरुरु कुदाएर तत्कालिन राजा बीरेन्द्रबाट २ हजार ५ सय बकिसस पाउनु भएका मोरङको लेटाङ–३ कमलपुरका ५१ वर्षीय मनिहर्क राईले काठको धान झार्ने थे्रसर बनाएर प्रयोगमा ल्याउनु भएको छ ।
विद्युतबाट सञ्चालन गर्न मिल्ने थे्रसरले १ घण्टामा १ कट्ठा जमीनको धान झार्न सक्छ । ८ घण्टा काम गर्दा ५० मन थान झा¥यौं । उहाँले यस वर्षको अनुभव सुनाउनु भयो । मनिहर्कले ६० हजार रुपियाँ खर्चेर थे्रसर बनाउनु भएको हो ।
यस अघि २०४४ सालमा ७ सय ५० रुपियाँमा किनेको नयाँ साइकल चोरी भएपछि उहाँले काठको साइकल बनाएर कुदाउनु भएको थियो । राजा बीरेन्द्र लेटाङमा सवारी हुँदा मनिहर्कलाई राजाले २ हजार ५ सय रुपियाँ बक्सिस दिनु भएको थियो । त्यसपछि काठका घरायसी औजार निर्माणमा मनिहर्कको दख्खल बढेको हो ।
छोटो समयमा धान झार्ने थ्रेसर बनाउने कल्पना गरेपछि उहाँले पहिले चित्र कोर्नुभयो । सोही चित्र अनुसार थे्रसर बनाउन उहाँलाई ४ सय घण्टा लाग्यो । थे्रसरलाई वरपर डुलाउन ३ चक्का जडान गर्नु भएको छ । उहाँले भन्नुभयो–‘यो वर्ष ३४ हजार रुपियाँको काम गरें । अझै प्रविधियुक्त बनाउने सोचेको छु । सुरुमा आफ्नै प्रयोजनका लागि निर्माण गरेको थ्रेसर स्थानीय साथी भाईले पनि प्रयोग मागेपछि उहाँले थ्रेसरमा चक्का जडान गर्नु भएको हो ।
मनिहर्कले साइकल र थ्रेसर मात्र निर्माण गर्नु भएको छैन ।किसानका लागि आवश्यक मल बोक्ने तीन चक्के ट्रली,चारचक्के ठेला समेत निर्माण गर्नु भएको छ ।
१२ वर्षको उमेरमा स्थानीय हेमबहादुर मगरसँग काठ मिस्त्रीको काम सिक्नु भएका राई २०४७ सालमा बैदेशिक रोजगारमा हानिनु भयो । बहराइनमा १५ वर्ष काठका सामग्री निर्माण सम्बन्धी काम गर्नु भएका मनिहर्क स्वदेश फर्केर पुरानै काममा लाग्नुभयो ।
अहिले उहाँ काठ,ढुङ्गा इटा,विजुली, फलाम सम्बन्धी काम गर्नुहुन्छ । उहाँले भन्नुभयो – हातमा सीप भए मान्छे कहिलै भोकै हुँदैन । तर हामी सीपको अभावमा बिदेश गइरहेका छौं । स्थानीय स्रोत साधनलाई प्रयोगमा ल्याएर कृषि उपकरण तयार गर्ने मनिहर्कको सीप र मेहनतलाई स्थानीय सरकारले चिन्न सकेको छैन । नगर प्रमुख शङ्कर राईले भन्नुभयो–‘उहाँ जस्ता सीप भएका ब्यक्तिहरूलाई हौसला प्रदान गर्न नगरपालिका तयार छ ।’नगर प्रमुख राईले नगरपालिका उहाँको सीप बिस्तारका लागि सहयोग गर्न प्रतिवद्ध भएको बताउनु भयो ।