• चितवन, ४ पुस

    चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा हुर्काइएका १२ गिद्धलाई छाडिने भएको छ । गिद्धलाई छाड्न नवलपुरको पिठौलीस्थित जटायू रेष्टुरेन्टमा लगिएको छ । ती गिद्धलाई त्यहाँ बनाइएको जालीमा केही महीना राखेर प्रकृतिमा छाडिने छ ।

    कसरास्थित गिद्ध प्रजनन् केन्द्र हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार गत वर्ष कोरलिएका ६ हुर्र्काउलो बच्चा, चार भाले र दुई पोथीलाई पिठौली लगिएको हो । प्रजनन् केन्द्रमा हुर्किएका ती गिद्धलाई जालीभित्र राखिएको छ । ती गिद्ध र जाली बाहिर प्रकृतिका गिद्धलाई सँगसँगै सिनो खुवाएर घुलमिल गराएपछि पाँच÷छ महीनापछि प्रकृतिमा छाडिने खड्काले बताउनुभयो ।

    “प्रकृतिका गिद्धसँग घुलमिल गराएपछि रेडियोकलर जडान गरी छाडिनेछ,” उहाँले भन्नुभयो । प्रजनन् केन्द्रमा हुर्काइएका १८ गिद्धलाई सोही खोरमा राखेर प्रकृतिमा छाडिसकिएको उहाँले बताउनुभयो । दुई वर्षअघिबाट हुर्काइएका गिद्ध प्रकृतिमा छाड्न शुरु गरिएको हो । हाल प्रजनन् केन्द्रमा ३९ गिद्ध छन् । यस वर्ष हालसम्म १३ गिद्धले अण्डा पारेर ओथारो बसिरहेको खड्काले बताउनुभयो । गिद्धले अण्डा पारेको ६० देखि ६५ दिनमा बच्चा कोरल्ने गर्दछ ।

    विश्वबाटै लोप हुन लागेको हुँदा गिद्धको संरक्षण गरिएको हो । यसको वंश विस्तारलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा महत्वका साथ हेर्ने गरिन्छ । अति सङ्कटापन्न अवस्थामा रहेको डङ्गुर जातको गिद्धको सङ्ख्या बढाउनका लागि दाताको सहयोगमा सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् २००८ देखि कसरामा संरक्षण गरी गिद्ध हुर्काउन थालिएको हो ।

    सरकारले सन् २०१६ देखि सन् २०१९ सम्ममा संरक्षण गरी राखिएका १९ गिद्धलाई प्रकृतिमा छाड्ने योजना बनाएको थियो । विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९ दशमलव ९ प्रतिशत गिद्ध मासिएपछि यी दुईसँगै अन्य देशमा पनि संरक्षण थालिएको हो । मुख्य रूपमा पशु बिरामी पर्दा दुःखाइ कम गर्नका लागि प्रयोग गरिने डाइक्लोफिनाक औषधि प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध मर्ने गर्दछन् । (रासस)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…