काठमाडौँ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई दुईतिहाईको भारीले थिचेको राजनीतिक वृत्तमा चर्चा चलेको छ ।
भारी बहुमत ल्याएर इतिहासकै शक्तिशाली प्रधानमन्त्री बनेका ओलीले १० महिना बितिसक्दा पनि जनताको व्याप्त निराशालाई चिर्न सकेका छैनन् ।
भारीले थिचिएको मान्छे बोल्न सक्छ, केही काम गर्न सक्दैन, अहिले ओलीको त्यही अवस्था छ । द्वन्द्व र संक्रमणबाट एक दशकसम्म थला परेको मुलुकको शक्तिशाली प्रधानमन्त्री बन्न पुगेका ओली आफ्नैबाट घेराबन्दीमा परेका छन् ।
तीव्र इच्छाशक्ति भए पनि प्रधानमन्त्री ओलीलाई देशको लागि काम गर्न को बाधक बनेको छ ? भन्ने बहस चल्न थालेको छ । विकास, सुुशासन र समृद्धि कार्यान्वयनमा भन्दा कागजमा मात्र सीमित बनेको जानकारहरुले बताएका छन् ।
कमजोर प्रतिपक्षबाट भन्दा पनि आफ्नै पार्टीका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठलगायतका नेताहरुबाट ओलीको नेतृत्व सकसपूर्ण बन्दै गइरहेको छ । प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति नेकपाभित्र असन्तुष्टि बढ्दै गइरहेको छ ।
नौ सदस्यीय केन्द्रीय सचिवालयमा रहेकाहरुमध्ये अधिकांश सदस्य ओलीको विपक्षमा रहेको जानकाहरुले बताएका छन् । परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रमुख सल्लाहकार विष्णु रिमालको कार्यशैलीप्रति नेकपाका नेता तथा मन्त्रीहरु असन्तुष्ट बनेको स्रोतले बताएको छ ।
ओली नेतृत्वको सरकारले सरकारको प्राथमिकता र जनअपेक्षालाई बिर्सिएर आ–आफ्नै तरिकाले अगाडि बढेपछि १० महिना आलोचनामै गुज्रिएको ,नयाँ विमर्शमा उल्लेख छ ।
दुईतिहाई बहुमत प्राप्त सरकारका प्रधानमन्त्री ओलीले मुलुक बनाउन र जनताको व्याप्त निराशालाई चिर्न अब कठोर निर्णय नगर्ने हो भने भारी बहुमत खेर जाने बताइएको छ ।