देबु बानियाँ
शब्द / तस्विर
नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशन शनिवारबाट जनकपुरमा सुरु हुँदैछ । जनकपुर जेसीजले आथित्यता गरेको महाधिवेशनमा देशभरबाट करिब २ हजार जेसीजकर्मीहरुको सहभागिता रहनेछ । महाधिवेशनका लागि बिहिवारबाट जनकपुर आउने क्रम सुरु भएको छ । महाधिवेशनको निर्देशक रुपमा २००३ का अध्यक्ष सन्तोष शाह रहनु भएको छ । नेपाल जेसीजको राष्ट्रिय कोषाध्यक्ष समेत भइसक्नु भएका शाह यस क्षेत्रका सालिन, भद्र र इमान्दारिताको प्रतिमूर्तिका रुपमा परिचित हुनुुहुन्छ । यस क्षेत्रका सफल व्यवसायी समेत रहनु भएका निर्देशक शाहको नेतृत्वमा सम्पन्न हुन लागेको ऐतिहासिक महाधिवेशनले यतिबेला जनकपुर रङ्गीएको छ । महाधिवेशनको सेरोफेरोमा रहेर निर्देशक शाहसँग गरिएको कुराकानी प्रस्तुत छ ।
१. शनिवारबाट हुने जेसीज महाधिवेशनको तयारी सम्पन्न भएको हो ?
–जनकपुर जेसीजका आतिथ्यतामा हुन लागेको ४५ औँ राष्ट्रिय महाधिवेशनको सबै काम सम्पन्न भइसकेका छन् । अब हामीसँग रहेको एक दिनेका समय भनेको यसको फिनिसिङतर्फ मात्र केन्द्रित हुनेछ । सबै काम सम्पन्न भइसकेका छन् ।
२. महाधिवेशन सम्पन्न गर्न के कस्ता चुनौतीहरु देखा परे ?
–यो महाधिवेशनलाई चुनौती भन्दा पनि अवसरका रुपमा लिएका छौँ । हुन त हामीले गरेको महाधिवेशन पहिलो होइन । यस अघि पनि ३ पटक सफलताका साथ महाधिवेशन सम्पन्न गरेका छौँ । वर्ष २००३ मा म शाखाको अध्यक्ष रहँदा पनि उत्कृष्ट महाधिवेशन सम्पन्न गरेका थियौँ । त्यसले गर्दा पनि यसलाई अवसर सम्झेर काम गरिरहेका छौँ । अब साना तिना चुनौँतीहरु हुन्छन् नै । यी चुनौतीहरुलाई सहज रुपमा लिएर अघि बढेका छौँ ।
३ के छ त्यस्तो नयाँ कुरा जुन जनकपुरले यो महाधिवेशनमा दिँदैछ ?
–जनकपुरले एउटा फरक नेपालीको संस्कार दिनेछ । यहाँको मैथेली संस्कृतिले भरिपूर्ण संस्कारले हामी स्वागत गर्नेछौँ । ऐतिहासिक तथा पर्यटकीय क्षेत्र जनकपुरधाममा हुने यो महाधिवेशनबाट फर्केर जाँदै गर्दा जेसीज मनहरुले एउटा फरक सोच बोकेर जानु हुनेछ । सबै नेपालीको भावनालाई एकै थलोमा बाँध्ने बलियो खम्बाका रुपमा लिएको यस महाधिवेशनमा यहाँको विविध कल्चरल, यहाँको सभ्यता तथा जनकपुरबासीको न्यानो स्वागत पाउनु हुनेछ ।
४. महाधिवेशनमा कति सदस्यहरु सहभागि हुन्छन् ?
–यस महाधिवेशनका लागि देशभरका १ सय ४१ वटा शाखाका करिब २२ सय सहभागिता रहने अपेक्षा गरेका छौँ । कम्तिमा पनि १८ सयको सहभागिता हुनेछ । साथै जेसीजभन्दा बाहिर रहनु हुने विभिन्न व्यक्तिहरुको पनि यस महाधिवेशनमा सहभागिता हुनेछ ।
५. तपाईहरुले ७ महिना अघिबाट बैकिङ रजिष्ट्रेशन गराउन थाल्नु भएको थियो । कस्तो भयो त शाखा रजिष्ट्रेशन ?
–महाधिवेशनलाई सहज र आउने अतिथिहरुलाई बसाई व्यवस्थापनमा कुनै कठिनाइ नहोस् भन्ने हेतुका साथ हामीले यस अघि नै खुल्ला गरेका थियौँ । जसमा अहिलेसम्म १ सय ५ शाखाका करिब १२ सय ५० जनाले रजिष्ट्रेशन गराउनु भएको छ । बुधवारबाट हामीले यो प्रक्रिया पनि बन्द गरेका छौँ । अब यहि महाधिवेशन स्थलमा आइपुगेर मात्र यो रजिष्टे«शन हुनेछ । अहिलेसम्म हामीले सोचे भन्दा राम्रो रजिष्ट्रेशन भएको छ । अब अझ ५ देखि ७ सय ले रजिष्ट्रेशन गर्ने अपेक्षा गरेका छौँ ।
५. जेसीज भनेपछि खर्च गर्ने संस्था भन्ने गरिएको छ नि के भन्नु हुन्छ ?
–तपाईको बुझाई फरक हो । जेसीज धनीको संस्था होइन, आम युवाहरुलाई व्यवसायिक बनाएर उद्यमशीलताका साथ आम युवाहरुलाई धनी बनाउने संस्था हो । जो बाहिरबाट हेर्छ उसले भन्ने यहि हो । जो यसमा लागेर आफु अब्बल हुन्छ उसले आउन ढिलो भएछ भन्ने गरेको पाएको छु । आफुले केही पाउनलाई केही त गुमाउनु पर्छ ।
६. यो महाधिवेशनमा कति खर्चको अनुमान गर्नु भएको छ ?
–महाधिवेशनको मुख्य खर्चको क्षेत्र भनेको ४ दिनसम्म खान र बस्नका लागि हो । त्यसका अलवा अन्य थुप्रै खर्च हुने पाटाहरु छन् । हामीले यस महाधिवेशनमा करिब १ करोड ३५ लाखको हाराहारीमा खर्च हुने अनुमान गरेका छौँ ।
७. खर्चको व्यवस्थापन कसरी गर्नु भएको छ ?
–सबै भन्दा ठूलो आय स्रोत भनेको त जेसीज मित्रहरु नै हुनुहुन्छ । विभिन्न शाखाबाट यहाँ सहभागि भए बापतको रजिष्ट्रेशन रकम नै प्रमुख आय स्रोत हो । यसैगरी, महाधिवेशनका लागि नेपाल जेसीजले ५ लाख रुपैयाँ उपलब्ध गराउँछ । अरु रकम भनेको स्थानीय व्यवसायी, विभिन्न सामाजिक संघ संस्था, स्पोन्सरहरुबाट संकलित नै हो ।
८. जनकपुरको महाधिवेशन कस्तो होला भन्ने आम जिज्ञासा थियो नि । यसलाई कुन रुपमा हेर्न भएको छ ?
–मलाई अत्यन्तै खड्केको विषयमा प्रश्न गरिदिनु भयो । र म यो भन्ने पनि थिए । २ नम्बर प्रदेश त्यसमा पनि जनकपुर क्षेत्र भनेपछि आम नेपालीको हेर्ने दृष्ट्रिकोण फरक छ । उहाँहरुले सोच्ने सोच फरक छ । तर, म घमण्डका साथ भन्छु । पहाडको दार्चुला र हिमालको मुस्ताङका जुन नेपालीको भावना भएका व्यक्तिहरु हुनुहुन्छ त्यो भन्दा एक इन्च पनि कम भावना नभएका जनता यस ठाउँमा बस्नु हुन्छ । हामी भित्र पनि नेपालीत्वको भावना छ । हामीलाई पनि नेपालप्रतिको त्यति नै माया छ । एउटै देशभित्र भएका हामी चाहिँ नेपाली होइन अनि यहाँ भन्दा बाहिर बस्ने चाहिँ खाँटी नेपाली हो भन्ने सोचको अन्त्य हुनु पर्छ ।
जनकपुरमा एउटा संस्कार छ । पौराणिक कालदेखि चलि आएको अतिथि देव भन्ने मुल मन्त्रलाई अहिले पनि त्यतिकै अनुसरण गरिएको छ । यहाँ जो कोही पनि आउनु हुन्छ भने उहाँहरु हाम्रा लागि अतिथि हुनुहुन्छ । यसैले जनकपुर तपाइहरुले जसरी सोच्नु भएको त्यस्तो जनकपुर छैन । त्यसको प्रमाण हमी यो महाधिवेशनमा दिनेछौँ । मलाई लाग्छ यहाँबाट जाँदै गर्दा तपाइहरुले पनि एक पटक सोच्नु हुनेछ । अनि भन्नु हुनेछ ‘साँच्चै जनकपुर हामीले भने जस्तो रहेनछ ।’
अब रहयो महाधिवेशन हामी तपाइहरुले सोच भन्दा राम्रो, उत्कृष्ट र फरक रुपमा सम्पन्न गर्ने दृढ विश्वासका साथ लागि परेका छौँ ।
९.जनकपुर एउटा धार्मिक, पर्यटकीय तथा पौराणिक क्षेत्र हो । यस्तो ऐतिहासिक क्षेत्रमा महाधिवेशन गर्दै हुनुहुन्छ ? यहाँबाट के अपेक्षा गर्नु भएको छ ?
–मैले अघि माथि नै भनिसकेको छु । जनकपुरप्रतिको बाहिरी हेराइ र यहाँको बास्तविकतामा फरक छ । जसले यहि माटोमा जन्मेर नेपाली आमाको ऋण खाएको छ । उसले नेपाल आमाप्रति निभाउनु पर्ने हरेक भूमिकालाई पछि पर्दैन । यसै त सीता र राजा जनकको जन्मभूमि, विश्वको पूण्यभूमिका रुपमा रहेको जनकपुरमा हुँदै गरेको महाधिवेशनले यहाँँको परिचयलाई थप फरकाकिलो बनाएर लैजानेछ । देशभर यहाँको संस्कार, संस्कृति, परम्परा तथा यहाँको पाहुनाप्रतिको सत्कारका बारेमा प्रचार गर्ने ठूलो प्लेटफर्म हुनेछ ।
१०. शाखाका पदाधिकारीहरुलाई विभिन्न जिम्मेवारी दिनु भएको छ । कामको व्यवस्थापन कसरी गर्नु भएको छ ? अनि कत्तिको साथ र सहयोग पुगेको छ ?
–तपाई हामी सबैको सामान्य बुझाई हुनु पर्ने हो । कुनै पनि काम गर्न एक्लो प्रयासले हुँदैन । त्यसमा पनि यत्रो महाधिवेशन जस्तो कुरा १÷२ जनाले त आकाश थाम्छु भने जस्तो मात्र हो । त्यसैले प्रश्न अुनसार कत्तिको साथ र सहयोग भन्नु भएको छ । यो प्रश्नै नराखिदिनु भएको भए हुन्थ्यो । १ जना या दुई जना मात्र होइन । महाधिवेशन सफल बनाउन सिंगो जनकपुर लागेको छ । अनि जनकपुर जेसीजका साथीहरु ६ महिनादेखि दिनरात नभनी लागि पर्नु भएको छ । कुनै समय, कुनै पल त्यस्तो छैन जुन काममा अफ्ठ्यारो आइपरेको । सबै साथीहरुलाई आफ्नो क्षेत्रको जिम्मेवारी दिइएको छ । उहाँहरुले त्यसमा आइपरेको समस्यालाई हल गर्न आफै जानु हुन्छ । त्यस्तो विशेष परिस्थतिमा मात्र मेरो सहभागिता हुन्थ्यो । त्यसैले जनकपुर जेसीजका सबै पूर्व अध्यक्ष, संस्थापक अध्यक्ष, सिंगो जनकपुर महानगरपालिकाको साथ र सहयोगले नै आज यो अवस्थामा आइपुगेका छौँ । अब दुई दिन बाँकी छ । पक्कै पनि अब हामी सफल बन्छौँ भन्ने पूर्ण विश्वास छ ।
१२. अन्त्यमा केही भन्नु छ ?
–तपाईहरुलाई सुन्दर नगरी जनकपुरमा ह्दय विच्छ्याएर हार्दिक स्वागत गर्न चाहान्छु । तपाईहरुको साथ र सहयोगले आज हामी महाधिवेशन अन्तिम समयमा आएका छौँ । तपाईहरुको सहभागिता नै अब हाम्रो महाधिवेशनको सफलता कडि हुनेछ । त्यसैले महाधिवेशनको निर्देशकको हैसियतले सम्पूर्ण जेसीज मन तथा नन जेसीज मानुभावहरुमा हार्दिक हार्दिक स्वागत गर्न चाहान्छु । तपाईहरुको जनकपुरधामको ४ दिनको बसाई सफल र प्रभावकारी वितोस् हार्दिक शुभकामना ।