नेकपा स्थायी कमिटी बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदैछन्।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराईमा दिउँसो ३ बजे बस्ने बैठकमा अध्यक्ष ओलीले ४६ जना स्थायी समिति सदस्यले पार्टी र सरकार सञ्चालनबारे उठाएका प्रश्नको जबाफ दिने कार्यसूची रहेको नेकपाका प्रवक्त नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए।
‘बैठक आजै सकिने/नसकिने ठेगान छैन,’ श्रेष्ठले भने, ‘अध्यक्षको जबाफपछि बैठक आजै सकिने/नसकिने टुंगो लाग्छ।’ अध्यक्ष ओलीले सदस्यहरुले उठाएका प्रश्न र सुझावलाई समेटेर जबाफ दिने तयारी गरेका छन्।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारै स्थायी समिति सदस्यले उठाएका प्रश्नको जबाफ दिइसकेका छन्। व्यस्त भएकाले हिजोको बैठकमा ओलीले जबाफ दिन पाएका थिएनन्।
२९ मंसिरदेखि शुरु भएको बैठकमा अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा ४६ जना स्थायी समिति सदस्यले आफ्नो विचार राखेका थिए।
बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी र सरकार सञ्चालनप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डको व्यापक आलोचना गरेका थिए।
पूर्व एमालेकै नेताहरुले ओलीको कार्यशैलीलाई लिएर तिब्र आलोचना गरिरहेको बेला ओलीले दिने जबाफलाई महत्वका साथ हेरिएको छ।
अध्यक्षद्वयले आफ्नो प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भएगरेका कामको विवरण समेटेका छन्।
अध्यक्ष ओलीको जबाफपछि राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गर्ने तयारी नेकपाले गरेको छ।