मोरङ ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले किराती संस्कार, पहिचान र संस्कृति युग युगसम्म रहिरहनुपर्ने बताउनु भएको छ । मोरङको पथरी स्थित सिरिजङ्गा धार्मिक वन र किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित आज (शनिबार) चासोकङ तङ्नाम कार्यक्रममा सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री राईले किराती समुदायको संस्कृतिक पहिचानको संरक्षण र विकासमा लाग्नु पर्ने बताउनु भयो । भूगोलको हिसावले १ नम्बर प्रदेश हिमाल, पहाड, तराई मिलेर बनेको र भाषा, लिपी, धर्म, संस्कार संस्कृतिकमा समेत विविधता रहेको बताउनु भयो ।
प्रदेशमा रहने किराती लगायतका सवै संस्कार संस्कृतिलाई साझा बनाउनु पर्ने मुख्यमन्त्री राईको भनाइ थियो । नयाँ संविधान बनेपछि देश भौतिक विकास र संमृद्धीको दिशामा अघि बढेकोले सवै मिलेर नेपालको पूर्ण विकासमा लाग्नुपर्ने बताउनुभयो । आफू भूमि पुजक किरातीको कुलमा जन्मिएकोमा गर्व लाग्ने गरेकोसमेत राईले बताउनु भएको थियो । सिरिजंङ्गा धार्मिक वनका अध्यक्ष गंगा साम्बाको सभापतित्मा भएको कार्यक्रममा प्रदेश संसद कुलप्रसाद लिम्बू, सुयोर्माराज राई, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष कमल तिगेला लगायतले शुभकामना दिनुभएको थियो ।
धार्मिक वनका सचिव सन्तोष लिम्बूले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रदेश संसद कृष्णकुमारी राई, किरात राई यायोक्खा केन्द्रीय सदस्य अर्जुन जम्नेली राई, कियाचुका केन्द्रीय सदस्य खिनमाया लिम्बू, जिल्ला अध्यक्ष विवेक लिम्बू, संविधानसभाको पूर्व सभासद चण्डीप्रसाद राई लगायतको उपस्थिति रहेको थियो । दिउसो सांस्कृतिक कार्यक्रम र साँझमा भने मनोरञ्जतात्मक कार्यक्रम भएको थियो । शनिवार अपरान्ह गायक दीपक लिम्बू लगायतका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । चार दिनसम्म चलेको चासोक तङ्नाममा महिला तथा पुरुषको १ नम्बर प्रदेश स्तरीय भलिबल प्रतियोगिता भएको थियो ।
विजेता टिमलाई नगद, ट्रफी, मेडर र प्रमाणपत्र प्रदान गरिएको थियो । किरातीहरुले मान्ने उद्यौली चाड साकेला, चासोक, चासुवा, भूम्या, स्यादरको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख कृष्णबहादुर मोहरा, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्ड र एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायतले विज्ञप्ति निकालेरै शुभकामना व्यक्त गरेका थिए । किरातीहरुको साकेला÷चासोक, तामाङ गुरुङ्ग समुदायको ल्होसार, थारुको माघी र मघेसंक्रान्ति लगायतको चाडमा दिइन्दै आएको सार्वजनिक विदा केपी ओली सरकार गठन भएपछि कटौती भएको छ । उक्त विदा पुनः स्थापित गर्न माग गर्दै आदिवासी जनजाति महासंघ र महासंघमा आवद्ध आदिवासी जन्य संगठनले माग गर्दै आन्दोलन गर्दै आएको छ । यद्यपि सरकारले विदा पुःन स्थापित गरेको छैन ।