• सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने संविधान आएपछि पहिलोपटक नेपाली काँग्रेसको महासमिति बैठक बसिरहेको छ । महाधिवेशनपछि दोस्रो ठूलो सर्वोच्च निकाय महासमितिको बैठक आर्थिक, सामाजिक प्रस्तावमा छलफल आरम्भ भए पनि पार्टीकै विधान समयमा प्रस्तुत गर्न नसकेकोप्रति बैठकमा तनाव पनि उत्पन्न भएको छ । स्थानीय, प्रदेश र राष्ट्रिय निर्वाचनमा नराम्ररी पराजित भएको काँग्रेसको यो महासमिति बैठकप्रति राष्ट्रिय अन्तर्राष्ट्रिय चासो व्यापक छ । यसै परिवेशमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालासितको अन्तर्वार्ता :

     

    महासमितिको बैठक कसरी अगाडि बढ्दैछ ?
    – महासमितिको बैठक सुरु हुनुभन्दा पहिला मैले धेरै जिल्लामा गएर त्यहाँका नेता तथा कार्यकर्तासँग छलफल, अन्तरक्रिया र विचारविमर्शसमेत गरेको छु । त्यतिबेला उहाँहरू हामीबीचको तिक्तताले गर्दा निराश भएको पनि पाएको थिएँ । दुई तिहाईको सरकारले गर्दा पनि अब देश कम्युनिष्टमय हुने भन्ने चिन्ता थियो । त्यसको बीचमा हाम्रो महासमितिको बैठक चलिरहेको छ । उहाँहरू काठमाडौँ आउँदाखेरि उत्साहितरूपमा आएको पाएँ । अब काँग्रेसले केही गर्छ, सङ्गठनमा नयाँ जोश, जाँगर र उत्साह आउला भनेर उहाँहरूको अपेक्षा थियो होला । तर हामीले पूर्वनिर्धारित समयमा विधानको मस्यौदा नै महासमिति बैठकमा पेश गर्न सकेनौँ । महासमिति सदस्यहरूले राजनीतिक प्रस्तावभन्दा पनि विधान मस्यौदालाई बढी महìव दिएको मैले पाएको छु ।

     

    त्यसो भए राजनीतिक तथा अन्य प्रस्ताव चाहिँ केही होइनन् भन्न खोज्नु भएको हो ?
    – होइन । महासमितिका सदस्य, कार्यकर्ता र हामीलाई त विधान बढी महìवपूर्ण छ । तर मलाई लाग्छ– सबैभन्दा बढी प्रभावकारी र अन्तर्राष्ट्रिय समुदायसमेतले चासो र ध्यान दिने भनेको राजनीतिक प्रस्ताव नै हो । त्यस प्रस्तावमा हाम्रा अन्तर्राष्ट्रिय सम्बन्धहरू कसरी विकसित गर्दै लान्छौँ, अहिले भएका राजनीतिक घटनाक्रमहरू, कम्युनिष्टहरूसँगको हाम्रो सम्बन्ध, अन्य राजनीतिक दललाई हेर्ने काँग्रेसको स्पष्ट दृष्टिकोण आउनुप¥यो । दुई ठूला छिमेकी मित्रराष्ट्र भारत र चीनसँगको हाम्रो सम्बन्ध तथा अन्य मुलुक, दातृ समुदायलाई हेर्ने दृष्टिकोण काँग्रेसको के हो त ? त्यो कुरा आउनुपर्छ ।

     

    राजनीतिक प्रस्तावबाट उत्साही हुनुपर्ने कारणहरू केही त होलान् नि ?
    – हामी इतिहासकै विरासतमा अगाडि बढ्ने हो तर त्यही इतिहासमा बाँच्नु हुँदैन । भविष्यको मार्गचित्र र स्पष्ट दृष्टिकोण कोर्न सक्नुपर्छ । युवाको काँग्रेसमा भविष्य के छ त ? महिला, आदिवासी जनजाति, दलित, मधेसी, सीमान्तकृत समुदाय, खस आर्य, अपाङ्गता भएका व्यक्तिको भविष्य काँग्रेसमा कहाँ छ त ? त्यो मार्गचित्र दिनुप¥यो र हामी कसरी कम्युनिष्टसित वैचारिक हिसाबले कसरी भिड्न सक्छौँ भन्ने कुरा राजनीतिक विचारमा कमी देखेको छु । इतिहासलाई दिमाखमा राखेर अबको हाम्रो मार्गचित्र स्पष्टरूपमा आउनु प¥यो । मैले अघि पनि भनेँ– राजनीतिक प्रस्ताव सोचेजस्तो आएन । लोकतान्त्रिक समाजवाद भनेको के हो, समाजवादका उपायहरू स्पष्ट रूपमा आएन । केही त आएको छ ।

     

    सहभागीबाट कत्तिको राय सुझाव आएका छन् ?
    – हामीले समयमै विधान महासमितिमा पेश गर्न सकेनौँ तर सुझाव चाहिँ विधानकै विषयमा बढी आएको छ । राजनीतिक र आर्थिक प्रस्तावमा पनि केही राम्रा सुझावहरू पनि आएका छन् । धर्मका विषय पनि आएका छन्, जुन हिसाबले राजनीतिक प्रस्ताव आउनु पर्ने थियो त्यो आउन सकेन । उदाहरणका लागि एसिया प्यासिफिक सम्मेलन नेपालमा सम्पन्न भयो, त्यसले नेपाल र नेपाली जनताको शीर निहुराएको छ । एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) का अगाडि राज्य निरीह भएको पाएँ । प्रधानमन्त्री तीन दिनसम्म होटलमा बस्नुप¥यो । नेकपाकै साथीहरूले नै भन्दै प्रधानमन्त्रीलाई भन्दै हुनुहुन्छ– तपाईंले एक लाख डलर त लिनुभयो तर मन्त्रिपरिषद्बाट पारित गर्नुभयो कि भएन भनेर प्रश्न गर्दै आउनु भएको छ । यो सबभन्दा डरलाग्दो अवस्था हो ।

    निर्वाचनमा हारेर मुच्र्छा परेको काँग्रेस अब ब्युँझिएको हो ?
    – विधान संशोधनसहित पारित भएपछि नेतादेखि कार्यकर्तासम्म एउटा उत्साह पक्कै आउने छ । त्यो उत्साह कहाँनेर गएर निरुत्साहमा परिणत नहोस् भन्ने मेरो चिन्ता हो । अब महाधिवेशन २०७६ साल फागुन अन्तिमसम्ममा त गर्नुप¥यो । त्यतिबेला महाधिवेशन गर्ने नेतृत्वको इच्छाशक्ति छ कि छैन ? लम्ब्याउन खोज्नु भयो भने फेरि काँग्रेस कमजोर हुन्छ । केही समयका लागि सभापति बलियो भएको देखिन्छ तर काँग्रेस कमजोर भएको मैले पाएको छु । विशेष कारण नभई महाधिवेशन लम्ब्याउनुपर्ने कुनै कारण छैन । सङ्घीय संरचनामा गएपछि त्यसै अनुसारको पार्टी संरचना निर्माण गर्न हामी तुरुन्तै जानुप¥यो ।

     

    विशेष महाधिवेशनको आवश्यकता औँल्याउनु भएको हो ?
    – विशेष महाधिवेशनले त सभापतिलाई मात्र फेर्ने कुरा आउँछ । यो पार्टीगत संरचना त यथावत् रहन्छ । एक वर्षभित्र महाधिवेशन गर्नुपर्छ । अबको १४ महिनाभित्र महाधिवेशन भयो भने त्यो विशेष महाधिवेशन नै मान्दा हुन्छ ।

    काँग्रेसका अग्रज नेताहरूले मूल्य, मान्यता, आदर्श र सिद्धान्तका लागि ठूलो सङ्घर्ष गर्नुभयो तर तपाईहरू गुटउपगुट बनाएर काँग्रेसलाई किन ध्वस्त पार्दै हुनुहुन्छ ?
    – यो प्रश्न नेतृत्व तहका मान्छेलाई सोध्नु भए राम्रो हुन्छ । म त गुट नै नबनाउने र नगर्ने मान्छे ।

     

    महासमिति सदस्यहरूले पार्टीमा बृहत् एकताको माग गरेका छन्, त्यो अवसर गुमेको हो ?
    – अहिले पनि गुमेको छैन । विधान संशोधन हुँदैछ । जिल्ला सभापतिहरू र महासमिति सदस्यहरूले केही महìवपूर्ण सुझाव दिनुभएको छ । ती सुझाव विधानमा राखियो भने पार्टीमा नवीन ऊर्जा आउँछ । केन्द्रीय समितिका सदस्यहरू तलैबाट निर्वाचित भएर आउनुपर्छ भन्ने सुझाव छ, पहिला थियो, त्यो सुझाव कार्यान्वयन हुनुप¥यो । सभापतिले महाधिवेशन सदस्यहरूको मनोनीत गर्नुहुन्छ, केन्द्रीय सभापतिले पाउने अधिकार जिल्ला सभापतिले पनि पाउनु प¥यो । गाउँ, नगर र जिल्लाको टिकट वितरण व्यावहारिक भएन भन्ने उहाँहरूको माग छ । त्यो माग सङ्घीय संरचना अनुसार सही छ । गाउँपालिका र नगरपालिकाको टिकट जिल्लाले टिकट बाँड्नु होस् । नगरपालिकाको टिकट वितरण गर्ने अधिकार दिइएको छैन । मैले यस विषयमा केन्द्रीय कार्य समितिमा समेत कुरा राखेको छु ।

     

    सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा नेपाली जनताले परिवर्तनको अनुभूति कहिले गर्ने ?
    – राजनीतिक परिवर्तनले जनताको अधिकार स्थापित गर्छ । राजनीतिक परिवर्तनमात्र भएर हुँदैन, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन पनि जरुरी हुन्छ । नेपाली काँग्रेसको मार्ग निर्देशन र सिद्धान्त अनुरूप संविधान बनेको छ । तर जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सक्ने गरी मुलुकमा काम हुन बाँकी छ । त्यसका लागि त अब नयाँ बाटोबाट जानुपर्छ ।

    नयाँ बाटोको कुनै तस्बिर छ यहाँसित ?
    – अब इतिहासमात्र भनेर पनि हुँदैन र इतिहास बिर्सन पनि हुँदैन । देशभित्र काम नपाएर लाखाँै नेपाली युवा बिदेशमा छन् । अब यहाँ सम्भावना खोज्ने नीति, योजना र कार्यक्रम ल्याउनुपर्छ । म कृषिबाट उदाहरण दिन चाहन्छु । अब सामूहिक खेतीको अवधारणामा जानुपर्छ । समूहले त्यस्तो खेती गर्नका लागि सरकारले पूरै वातावरण बनाउनुपर्छ । उनीहरूको बजार सुनिश्चित गर्नुपर्छ । त्यसो गरेपछि उत्पादन बढ्छ र आयात पनि रोकिन्छ । देशभित्र काम पाउने क्रम शुरु हुन्छ । त्यस्ता समूहले साना उद्योगजस्तै मिल आदि खोल्न चाहे भने कर्जादेखि करसम्मका सुविधा दिनुपर्छ ।

     

    महासमितिमा पेश भएको आर्थिक प्रस्तावले देशभित्रका उद्योगी, व्यवसायीका साथै आन्तरिक र बाह्य लगानीकर्ताको अहिलेको अपेक्षा सम्बोधन गरेको छ ?
    – म यहाँ के स्पष्ट पार्न चाहन्छु भने पार्टीका कुनै पनि मस्यौदा टोलीमा म परेको थिइनँ । केन्द्रीय सदस्यका नाताले मेरो कमजोरी भएको छ भने स्वीकार पनि गर्छु र इमानदार भएर भन्न चाहन्छु, जुन ढङ्गले प्रस्तावहरू आउनुपर्ने थियो, आउन सकेको छैन । यसमा नेतृत्वको कमजोरी भयो । प्रस्तावहरू भोलिको नेपालको आर्थिक–सामाजिक खाका कोर्नभन्दा अलि बढी विगतमै रमाइरहेका छन् । समृद्ध नेपाल कसरी बनाउने भनेर सबै क्षेत्रमा व्यापक गृहकार्य गरेर अगाडि बढ्ने गरी प्रस्तावहरू आउनु पर्ने थियो ।

    महासमितिको बैठकमा अन्य प्रस्तावहरूभन्दा बढी विधानकै चर्चा भएको छ । किन त्यस्तो भएको ?
    – समयमा महासमितिका साथीहरूको हातमा विधान पु¥याएको भए राजनीतिक र आर्थिक प्रस्तावमा बढी ध्यान जान्थ्यो । केन्द्रीय समितिले विधान पारित गर्न ढिला ग¥यो ।

     

    आसन्न महाधिवेशनमा त कोइराला परिवारबाट नेतृत्वका लागि तयारी भइरहेको कुरा पनि बाहिर आइरहेको छ नि ?
    – कोइराला परिवार र बाहिरको भन्ने कुरा हुँदैन । सबै साथीहरूसित कुरा भइरहेको छ । पार्टीलाई कसरी अगाडि लैजाने र देशको यो अवस्थालाई कसरी सही दिशा दिने भन्ने कुरा मूल प्रश्न हो । नेतृत्व कसले गर्नेभन्दा पनि के गर्ने प्रश्न मुख्य कुरा हो । कोइराला परिवारका सदस्यहरू त एक ठाउँमा नबस्दा किन बसेनौ भन्छन् र एकै ठाउँमा बस्यो भने किन बस्यौ, भन्छन् । मिडियालाई पनि खुबै चासो लाग्छ । म सबैसित सल्लाहमा काम गर्न चाहन्छु र जिल्ला जिल्लामा जानु पर्ने कारण पनि जनताबाट पार्टी र पार्टीका नेता अलग हुनुहुँदैन भनेर हो । अहिले पार्टी नेताहरू र जनताबीच ठूलो खाडल (ग्याप) छ । म सबै साथीलाई जनताको घरघरमा जान र विनम्र हुन भनिरहेको छु । समस्यासित परिचित हुन भनिरहेको छु । यो मेरो राजनीतिक कर्तव्य हो । यसैलाई कतिपयले नेतृत्वको तयारीका रूपमा बुझेको हुनुपर्छ ।

     

    विभाग खाली छन्, भ्रातृ संस्थाको अधिवेशन भएको छैन, पुराना नेता सकिँदै जाने नयाँ आउन बन्द गरेपछि कसरी काँग्रेस बच्ला ?
    – यो कुरा सभापतिले मनन गर्ने कुरा हो । विभाग खाली छन्, सङ्गठन चलायमान छैन । भ्रातृ संस्था निष्क्रिय छन् । अझै पनि विभाग गठन हुँदा सङ्गठनलाई फाइदै छ । प्रादेशिक संरचना बनाउन त पुरानै विधान थियो । उहाँहरूको जिम्मेवारी होइन ? अब हुने १४ औँ महाधिवेशनले नयाँ ऊर्जासहितको नेपाली काँग्रेस हामीले दिन्छौँ । अहिलेको नेतृत्वले अब सक्दैन । युवासहितको नयाँ नेतृत्व पार्टीमा आउनुपर्छ । त्यसका लागि हामी लागिरहेका छौँ । हामीले को के बन्नेभन्दा पनि काँग्रेस बलियो कसरी बनाउने भन्ने सोच्नुपर्छ, हाम्रो ध्यान त्यतै केन्द्रित छ ।

    सरकारको मूल्याङ्कन र देशको परिस्थिति आदिमा काँग्रेसले ध्यानै नदिएको भन्ने पनि भनाइ छ नि ?
    – सरकार मैले सफल भएजस्तो देख्दिनँ । काँग्रेस आफ्नै समस्यामा छ । नीति तथा कार्यक्रम स्वीकार ग¥यौँ तर बजेटलाई विरोध ग¥यौँ । कर्मचारी समायोजनको अध्यादेश आयो । त्यसमा हामी बोल्दैनौँ । संसद्मा अरू नेता बोल्नु हुन्छ तर सभापति र महामन्त्री बोल्नु हुन्न, उहाँहरूले बोले पो अर्थ राख्छ । महँगी, हत्या, हिंसा, बलात्कारको कुरा, सुनकाण्ड, प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउने प्रयास भइरहेको छ । त्यसमा पनि नबोल्ने । म यो भन्दिनँ कि रेलिङ नै भाँच्नुपर्छ । राष्ट्रपतिलाई हेलिप्याड बनाउनैका लागि त्यत्रो संरचना हटाउनुपर्ने ? ५० अर्बभन्दा माथिको ’टेण्डर’ बिना प्रतिस्पर्धा प्रधानमन्त्रीले सोझै दिन मिल्छ ? लगानी बोर्डलाई कुनै काम
    नदिने ? वित्तीय आयोग बनाउन किन विलम्ब गरेको ? यस विषयमा काँग्रेस किन बोल्दैन ? कम्युनिष्टले सङ्घीयता चाहँदैनन््, उनीहरू जनवादी केन्द्रीयतामा विश्वास गर्छन्, सङ्घीयतालाई त काँग्रेसले अगाडि बढाउनुपर्छ । अरू विकल्पै छैन ।

    जन्मँदै धार्मिक स्वतन्त्रताको उद्देश्य लिएको काँग्रेस अहिले हिन्दु धर्मको दलदलमा किन फस्यो ?
    – धर्म र राजनीतिलाई एक ठाउँमा जोड्नु हुँदैन । विश्वका कतिपय देशमा धर्मले राजनीतिलाई थिचेको (डोमिनेट गरेको) पाइन्छ । मध्ययुगमा युरोपमा चर्च र जनताबीचको लडाइँ भएको इतिहास छ । जनताले जितेको इतिहास छ । धर्म मानिसको आस्था र विश्वास हो । धर्मनिरपेक्ष हुँदैन जहाँ पनि सापेक्ष हुन्छ । वी.पी.ले यही कुरालाई आधार मानेर नै नेपालको बहुधार्मिक, बहुजातीय र संस्कृतिलाई आधार मानेर धार्मिक स्वतन्त्रताको कुरा राख्नु भएको होला । अहिले हिन्दु धर्मको पक्षमा काँग्रेसमा हस्ताक्षर भएको छ, जनमत सङ्ग्रहको कुरा छ, त्यसका लागि संविधान संशोधनमा जानुपर्छ । यो लामो प्रक्रियाको कुरा हो । अहिले नै धर्मका विषयमा ठूलै परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैन ।

    धनवाद, डनवाद र नातावादले काँग्रेस ओरालो लाग्यो भन्छन् अब कसरी अगाडि जाने ?
    – पहिला त हामीले आफूलाई सच्चाउनुपर्छ । यो अहिलेको नेतृत्वबाट काँग्रेसको परिवर्तन सम्भव छैन । अब हामी नयाँ शिराबाट जानुपर्छ, अहिलेको नेतृत्वबाट परिवर्तन सम्भवै छैन । विकृति र विसङ्गतिको परकाष्ठा भइसक्यो, अति हुन थाल्यो । गिरिजाबाबुको कटु आलोचक एक महासमिति सदस्यले मलाई भन्नुभयो, मैले गिरिजाबाबुलाई कहिल्यै स्वीकार गरिनँ तर गिरिजाबाबुले पैसा लिएर टिकट त बेच्नु भएन ! अहिले त खुलेआम पैसामा टिकट बिक्री भयो ।

    काँग्रेसलाई परिवर्तन गर्न तपाईहरू नेतृत्व लिन तयार हुनु भएको हो त ?
    – म त एकदम तयार छु । काँग्रेसलाई परिवर्तन गर्न सक्छौँ भन्नेमा दुईमत छैन । अहिलेभन्दा राम्रोसँग पार्टी चलाउन सकिन्छ भन्नेमा म दृढ छु ।गोरखापत्रबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…