देबु बानियाँ
झापा । बिहिवार राती मेचीनगर ६ काँकरभिट्टा स्थित साठी विगाहामा भएका आगलागी पीडितलाई राहत रकम जुट्न थालेको छ ।
बिहिवार राती भएका आगलागी पीडितलाई नेकपा मेचीनगरले शुक्रवार राहत वितरण गरेको हो । जसमा आगलागीबाट घर जल्ने परिवारलाई जनही १० हजार र भाडामा बस्ने परिवारलाई ५ हजारका दरले रकम हस्तान्तरण गरेको छ । जसमा १६ घरलाई जनही १० हजारका दरले १ लाख ६० हजार र ४ घरलाई ५ हजारका दरले गरी जम्म १ लाख ८० हजार रकम हस्तान्तरण गरेको छ । यसैगरी नेकपाकै नेतृत्वमा काँकरभिट्टा बजारमा संकलित ४७ हजार नगद, २० बोरा चामल र २ बोरा लत्ता कपाड समेत अग्नि पीडितलाई हस्तान्तरण गरिएको युवा संघका नेता राजेश राउतले जानकारी दिए । उनका अनुसार अन्य राहत समेत संकलन गरेर वितरण गरिनेछ ।
सो आगलागीमा २३ वटा छाप्रा घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए। प्रहरी उपरीक्षक ढकालका अनुसार क्षतिको विषयमा प्रहरीको यो प्रारम्भीक अनुमान हो। मेचीनगर नगरपालिका ६ नम्बर वडा स्थित काकडभिट्टा बधशाला नजिकका २३ वटा घरमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा गए राति आगो लागेको थियो। आगलागीबाट नविन राई, मणीप्रसाद गुरूङ्ग, भुपाल तामाङ्ग, केसर लिम्वु, गोले साईला, सविना राजवंशी लगायत २३ जनाको घर जलेको छ। आगलागी पीडित बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय झापाले राहत वितरण गरेको छ । पूर्ण रूपमा जलेका छाप्रा धनीलाई नगद १० हजार र आंशिक जलेकालाई ५ हजार राहत वितरण गरिएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए। यस्तै नेपाल रेडक्रस सोसाईटी झापा शाखाले भाडा वर्तन, लत्ता कपडा, लगायत खाद्यन्न सामाग्री वितरण गरेको ईलाका प्रहरी कार्यलय काकडभिट्टाले जनाएको छ । आगलागीबाट पीडित अधिकांश परिवार आफन्तकोमा आश्रय लिएका छन्। केही पाल टाँगेर बसिरहेका छन्। बाग्लो वस्तीका बिच कच्चि टहरामा लागेको आगोमा समयमा दमकल नआएका कारण धेरै क्षति भएको हो । आगलागी पीडितलाई अन्य संघसंस्थाले समेत राहत सहयोग गरिरहेका छन् ।