• काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्र्रतिवेदन परिमार्जनसहित पारित भएको छ ।

    पार्टी केन्द्र्रीय कार्यालय धुम्बाराहीमा २९ मंसिरदेखि जारी स्थायी कमिटी बैठक शुक्रबार अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्दै सम्पन्न भएको छ । बैठकमा छलफलका क्रममा सदस्यहरूले दिएका सुझाव, आलोचना र पुरक प्रस्तावलाई ध्यानमा राख्दै प्रतिवेदनमा समावेश गरिने भएको छ ।

    नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिवेदन परिमार्जनसहित पारित भएको बताए । राजनीतिक प्रतिवेदन, सरकार तथा पार्टी नेतृत्वको कार्यशैली र पार्टी एकताका विषयमा उठेका विषयलाई आत्मसात् गर्ने गरी सर्वसहमतिमा बैठक सम्पन्न भएको उनले बताए ।

    ‘बैठकमा सदस्यहरूले व्यक्त गर्नुभएको विचार एवं सुझावलाई समेट्दै अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘बैठकले प्रतिवेदन पारित गर्दै सांगठनिक एकता टुंगो लगाउन छुट्टै कार्यदल गठन गरेको छ ।’

    बैठकमा बहुसंख्यक सदस्यले पार्टी र सरकार नेतृत्वको कार्यशैलीको कडा रूपमा आलोचना गरेका थिए । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र पूर्वप्रधानमन्त्री दाहालले अगामी दिनमा सच्याउँदै पार्टीको निर्णय र सल्लाहमै कार्यसम्पादन गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

    नेकपा स्थायी कमिटी सदस्य गणेश साहले पार्टी एकता, सरकार र राजनीतिक प्रतिवेदनमा घनीभूत रूपमा छलफल गर्दै बैठक सम्पन्न भएको बताए । अगामी दिनमा पार्टी र सरकारको काम प्रभावकारी बनाउँदै लगिने सहमतिसमेत बैठकमा भएको उनले बताए ।

    ‘राजनीतिक प्रतिवेदन, सरकार, पार्टी एकतासहित वर्तमान राजनीतिक अवस्थाको विषयमा खुलेर छलफल भएको छ,’ साहले भने, ‘बैठकमा नेताहरूले दिएको रचनात्मक सुझावलाई नेतृत्वले आत्मसात् गर्दै आगामी दिनमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।’

    लामो समयपश्चात् भएको स्थायी कमिटी बैठक नियमित बस्ने र विगतका कमीकमजोरी सच्याउँदै अगाडि बढ्ने उनले बताए । पार्टी एकताको बाँकी काम टुंगो लगाउँदै आगामी फागुन र चैतमा देशैभरि एकताको सन्देश दिन जनपरिचालन एवं आमसभा आयोजना गरिने उनले बताए ।

    नेकपा स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डलले बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताए । बैठकले पार्टी एकता, सरकार सञ्चालनलगायत विषयमा महŒवपूर्ण निर्णय गरेको उनले बताए ।

    पार्टी नेतृत्वले एकता टुंगो लगाउन ढिलाइ भएको स्वीकार्य गर्दै सांगठनिक एकता पुस मसान्तभित्रैमा टुंगो लगाउने, एकताको सन्देश प्रवाह गर्न आमसभा एवं जनपरिचालन, सरकारको काम मुलुक र जनताको हितमा अझै प्रभावकारी रूपमा अगाडि बढाउने निर्णय बैठकले गरेको उनले बताए ।

    ९ सदस्यीय कार्यदल गठन
    तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको सात महिना बितिसक्दा समेत एकता कार्य टुंगो लागेको छैन । पार्टी नेतृत्वले एकता टुंगो लगाउनमा ढिलाइ भएको स्वीकार्य गर्दै बाँकी काम टुंगो लगाउन नौ सदस्यीय कार्यदल गठन गरेको छ ।

    स्थायी कमिटी बैठकले पुस मसान्तभित्रै एकता कार्यको बाँकी काम टुंगो लगाउन कार्यदल गठन गरेको छ । नेकपा महासचिव विष्णुप्रसाद पौडेलका अनुसार संगठनात्मक एकता तथा एकीकरणका सम्बन्धमा गृहकार्य गरी प्रस्ताव तयार गर्न कार्यदल गठन भएको छ ।

    कार्यदलमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, बेदुराम भुसाल र रघुवीर महासेठ सदस्य रहेका छन् । यो कार्यदलले पुस मसान्तभित्रै पार्टी एकताको गृहकार्य गरी प्रतिवेदन बुझाउनेछ ।

    नेकपाको केन्द्रीय कमिटी, प्रदेश कमिटीबाहेक अरू सबै कमिटीको टुंगो लागेको छैन । केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पोलिटब्युरो गठन, जिल्ला कमिटीसहित जनवर्गीय संगठन, विभाग एवं आयोगको एकता टुंगो लगाउने कार्य यो कार्यदलले गर्नेछ । राजधानीबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…