लामिछाने मातृका
मेरो एस नीजि पत्रकार सम्मेलनमा उपस्थित भईदिनुभएका प्यारा, अति प्यारा, आदरनिए , काला, सेता, राता, पहेंला सप्पै खालका पत्रकारज्यू हेरु ! अभिबादन !
पुष महिनाको यो ठण्डीमा एकापरातैं यहाँहेरुको यो बाक्लो उपस्थितीले दुई दिनदेखि दुखिरहेको आत्मामा हल्का आरामको महशुष गराएको छ । मनमा प्रफुल्लता छाएको छ ।
आदरनीए पत्रकार ज्युहेरु ।
राजनीति र बेपारमा धेरैकुरा मिल्चन् । जसरी बेपारमा बस्तुहरुको बिज्ञापन गरेर सवथोक बेचिन्छ उसैगरि राजनीतिमा नीतिको बिज्ञापन गरि विचार, आचार, सिष्टाचार, सदाचार, इमान, जमान, प्रेस्टिज सप्पैथोक पोको पारेर बेचिन्छ त्यो पनि लाखौं करोडौंको भाउमा । बेपारमा क्रयपछि बिक्रय हुन्छ । राजनीतिमा निशुल्क क्रय गरि अपार मूल्यमा बिक्री हुन्छ । त्यसैले यी दुवै पेशामा ढाँट्नु अनिवार्य हुन्छ । न सत्यले बेपार चल्छ न त राजनीतिको दाल नै गल्छ ।
प्यारा पत्रकारज्यूहेरु !
यहाँहेरु भनेका हाम्रा उग्रराष्ट्रबादी, घोर देशप्रेमी पी.एम. ज्यूका भाषामा अर्ध बौद्धिक बेक्तित्वहरु हो । माथिका कुराले यहाँहेरुले गन्ध पाईसक्नु भो होला की मुइले के भन्न लागें भनेर । के भन्देखी म अहिले बेनामे प्रदेशको सामान्य गाउँबेसीबाट जितेर, किनेर, ढाँटेर, छलेर जिती आएको एक इमानदार सांसद् हुँ । पार्टीको ढुलमुले तर बफादार सिपाही हुँ । मुइले राजनीतिमा अहिलेसम्म गोडा पाँचेक पल्ट मात्र ढाँटे हुँला नत्र ढाँटेको छैन । उहिले पढ्ने बेला ठुटे नेता हँदा, पार्टी छोडेर गोतामे कामरेट र मुइनाली कामरेट संग २०५५ सालतिर माकुने कामरेट र मुनमोन बाहरुलाई सत्तोसराप गर्दै धारे हात लार बाक्लो दाल खान जाँदा र पछि फेरि मिसिन आउँदा, अनि चुनाउ ताका गामका भोका र बजारका सोझा जनतालाई भेडा झैं ढाँटेर फुईंयाको लड्डु ख्वाउनु बाहेक अरु ढाँट्या छैन ।
सत्ये । अनि अहिले आनै घरमा बसेनि, सरखारी निबासमा रजाईं गरेनि डेरा बस्याछु भनेर आठ दश हजार मुइनाको एक्स्ट्रा तनाखा लिंदा बाहेक अरु केहि पनि झूठो बोल्या भए मरिजाउँ । त्यो पनि म मात्रैले हो र दुनियाँ लाहुरे चाउरे सपले लिया छन् । अनि । हेर्नु न फेरि मलाई ता यो संसद् सचिबालए ले मर्ने गरि झुक्यायो नि । थाहै नपाई फाराम भर्न लायो । उबेला के के भरियो भरियो । फस्टाईम चुनाप जितेर आको केहि थाहा भन । के के भर्ने । फेरि मुलाई कति छ तनाखा भन्ने नि थाहा थेन नी त । ग्याम्म एक्कैपटक आउँथ्यो । त्यो नि मैना मर्न नपाई । अनि थाहै हुन्थेन । पल्लाघरका छिमेकी मास्टरले तलप नलेको छ सात मुइना भैसक्यो भन्थे, मेरो नि त्यहि होला भनिराथें । खै नब्बे हजार जति त एक्स्ट्रा पो पाइसक्या रछु त घरभाडा भनेर । फेरि यता आना घरका तल्ला तलामा बस्नेले नि हाल्दिन्छन् मुइनै पिच्छे घरभाडा भनेर म त त्यहि होला भनेर बसिराथें । काग झैं चंख, कोइली झैं चलाख तपाईहेरुले अघि चाल पाउनु भछ र मात्रै फिर्ता गर्छु भन्न पाएँ । नत्र त । त्यो पनि खाको खाई हुन्थ्यो पाँच बर्खसुम्म । सप्पैले त्यसरी खाँदाउँदी त पाँच बर्खमा एउटा बर्ख बराबरको बजेट नै स्वाहा हुने रच । धन्न यहाँहरले बेलैमा थाहा पाउनु भर जोगियो । त्यै पनि अरुले फिर्ता गर्ने हुन् कि नाई ? म चैं अलि इमानदार पट्टिको परें र मात्तै ।
प्यारा पत्रकारज्यूहेरु !
अग्रगामी बिचारधारा, समृद्धिको नारा बकम्फुसे पारा, बौमतको सरखार, सुसासनको छैन क्वै सुरसार । हत्या, हिंशा, बलत्कार, शोषण, दमन, अत्याचार बाहेक शान्ति सुरक्षामा कुनै कसर बाँकी राख्या छैन । मेलम्चीको पानी पनि आउनलाई साँझ बिहान भाको छ, कान्तिपुरबासीले तामे गाग्रो लिएर लाइन लाग्दै गरे हुन्छ । ए लाइन लाग्नै परेन नि घरघरमै धारा खोल्दा भैजान्छ नि । जनकपुरको रेल र टनकपुरको तेलको कुरै नगरम आई नै सक्या छ उद्घाटन गर्न मात्तै बाँकी छ । हेर्नुस् ढल्क्या बुढो रुखका छहारीमुनि बसेर टुलुटुलु यी सवै कुराको रमिता हेरिबस्या पर्तिपक्षेलाई खुरुन्दार भर जीउ चिलाएसी मुखमा आउञ्जेल नानाभाँति पाँडे गाली मात्तै गर्चन् । अब हेनुस् एसरी घरभाडा लेको कुरो पँहेलो अखबारिता गर्ने हरुले अखबारभरि छरपष्ट पारि लेख्देसी खेदो खन्ने भैहाले नि । कुन ताकको सरखार भटमास खाको भन्ने पार्ने भए । बाबुको काट्टो खाने सत्ते हो, यो मेरो खातामा घरभाडा हाल्देको कुरो अहिलेसुम्म थाहा थेन । तेसमा पनि मरो राखनधरन, लेनादेना, हिसावकिताव, साउँब्याज सप सिरमतीले राख्छिन् । त्यसो भएको हुनाले यसमा मेरो जाजाजान दोष छैन महोदयज्यूहेरु । म यहि पत्रकार सम्मेनमार्फत संसद् सचिवालएका विद्धान कर्मचारी, लेखापालज्यूहेरुलाई भन्न चाहान्छु की लैजनुस् तपाईंहेरुले हाल्देको बढ्ता रकम । लिन आउनुस् । प्लीज ! म ढाँट्ने खालको नेता होईन । धरोधर्म किरिया खान्छु । कसैकसैले जिल्लाका कार्जेकताहरु मार्फत कामहरु गरिदिंदा आठपाँच देको दुई चार पैसा यसो जम्मा हुँदो हो नत्र बैकमा नि तलब र भत्ता बाहेक अरु पैसा भए मरिजाउँ । कसम ।