काठमाडौ,१६ पुस । आज मुलुकभर ४३ औं मेलमिलाप दिवस मनाईदैछ । नेपाली कांग्रेसले आज देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरी ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन लागेको हो । नेपाली कांग्रेसका संस्थापक विपी कोइरालासहित नेपाली कांग्रेसका नेताहरु मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईदै आएको छ ।
आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु विपी कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको नारा लिएर स्वदेश फर्किएका थिए । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती व्यवस्था लागु गरेपछि कोइरालासहितका नेतालाई ७ वर्षका लागि जेल चलान गरिएको थियो । त्यसपछि २०२५ सालमा विपीसहितका कांग्रेस नेता भारत प्रवास गए ।
तर भारतमा अपमानित हुनुपरेको तथा भारतले आफ्नो अनुकुलमा नेपालको राजनीति अघि बढाउन चाहेको निष्कर्ष निकाल्दै गर्दै विपीसहितका नेता नेपालमा राजासँगै हातेमालो गर्न सकिने भन्दै स्वदेश फर्किएका थिए।
नेपाली कांग्रेसका नेता एवम् बी.पी. विचार राष्ट्रिय समाजका अध्यक्ष के.बी. गुरुङले त्यतिबेला बी.पी. मेलमिलापको नीति रणनीतिकरूपमा लिएर आएपनि अहिले ‘राष्ट्रिय मेलमिलाप र एकता’ दर्शनका रूपमा आएको बताउनुभयो ।
मेलमिलाप दिवसलाई भव्य रुपमा मनाउन काँग्रेसले यसअघि नै केन्द्रबाट ७७ जिल्लामा प्रतिनिधि समेत पठाइसकेको छ । ४३ वर्ष पहिलेको मेलमिलापको नीति नेपाली राजनीतिमा अहिले पनि उत्तिकै शान्र्दभिक रहेको छ ।