काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सरकारबीचको दूरी थप बढ्दै गएको छ । पछिल्लो समय सरकारले कर्मचारी समायोजनका नाममा अध्यादेश ल्याएपछि कांग्रेस र सरकारबीचको दूरी थप बढ्दै गएको हो ।
संसद्को हिउँदे अधिवेशन सुरु भएको पहिलो दिन गत बुधबार नै विपक्षी दल कांग्रेसले संसद् बैठकमार्फत सरकारको कडा आलोचना गरेको थियो । कांग्रेसले जननिर्वाचित संसद्को थलो छलेर सरकारले कर्मचारी समायोजनका नाममा अध्यादेश ल्याएको आरोप लगाउँदै आएको छ ।
उसले संसद्मार्फत नै दलहरूबीचको परामर्शमा ऐन ल्याउन सकिने अवस्थामा समेत विपक्षमा रहेका दललाई देखाइदिने नियतले अध्यादेश ल्याएको र सरकारले नै प्रतिपक्षसँगको दूरी बढाउन चाहेको बताएको छ ।
कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँडले सरकारले एकपछि अर्को गर्दै जनताका हितविपरीतका गतिविधि गर्दै अघि बढेको र अब संसद्मा प्रतिपक्ष पनि छ भन्ने सरकारलाई आभास गराइदिने जनाए ।
‘सरकार दायाँबायाँ कोही छैनन् भन्ने जसरी अघि बढिरहेको छ । जनताका हितविपरीतका घटना एकपछि अर्को गर्दै दोहोरिरहेका छन्,’ खाँडले भने, ‘कांग्रेसले अब संसद् र सडकबाट प्रतिपक्ष छ भन्ने देखाइदिन्छ ।’मुख्य सचेतक खाँडले सरकारले प्रदेशलाई अधिकार विकेन्द्रित गर्नुको साटो भएका अधिकारसमेत प्रधानमन्त्री कार्यालयमा केन्द्रीकृत गर्नुले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सरकारको प्रतिबद्धतामा शंका उब्जिएको बताए ।
सरकार दायाँबायाँ कोही छैनन् भन्ने जसरी अघि बढिरहेको छ, जनताका हितविपरीतका घटना एकपछि अर्को गर्दै दोहोरिरहेका छन्, कांग्रेसले अब संसद् र सडकबाट प्रतिपक्ष छ भन्ने देखाइदिन्छ
बालकृष्ण खाँड
मुख्य सचेतक, कांग्रेस
निर्मला हत्या तथा बलात्कार प्रकरण, खस्कँदो शान्ति सुरक्षाको स्थिति, बढ्दो महँगी, कर वृद्धिलगायतका विषयमा कांग्रेसले संसद्को जारी हिउँदे अधिवेशनमा सशक्त भूमिका निर्वाह गर्ने खाँडले जानकारी दिए ।
‘संसद्को पहिलो र दोस्रो अधिवेशनमा त हामी शालीनतापूर्वक नै प्रस्तुत भयौंै । सरकारले संविधान र कानुनको सीमा नै नाघ्यो, अबको अधिवेशनमा कांग्रेस सशक्त भूमिकामा रहन्छ,’ खाँडले थपे ।प्रवक्ता विश्वप्रकाश शर्माले सरकार आफैंले सरकारको भूमिका बिर्सिएका कारण सम्बन्धमा निकटता र हार्दिकता नदेखिएको जनाए ।
‘सरकारले कस्तो व्यवहार देखाउँछ भन्ने सरकारको भूमिकामा भर पर्छ । सम्बन्धमा निकटता र हार्दिकता सरकारको भूमिकाबाटै देखिन्छ, त्यो देखिएन,’ प्रवक्ता शर्माले भने ।
केही दिनअघि राजधानीमा पत्रकारसँगको भेटमा समेत कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको कडा आलोचन गरेका थिए । उनले निर्मला पन्त बलात्कार तथा हत्यामा संलग्न दोषीलाई संरक्षण गर्न सरकार नै लागेको भन्दै सरकारको आलोचना गरेका थिए । ‘सरकारले निर्मला हत्यामा संलग्नलाई पक्राउ गर्नुको साटो संरक्षण गर्न लागेको छ । जुनसुकै पार्टी निकट भए पनि अपराधीलाई छाड्नुहुन्न । यस्तो कहिल्यै भएको थिएन । अपराध बढ्यो, सरकार देख्दैन,’ देउवाले सरकारको आलोचना गर्दै भनेका थिए ।
उनले आफ्नो कमजोरीको विरोध गर्ने छुट पत्रकारलाई रहेको भन्दै सरकारको कमजोरीमा पनि डटेर लेख्न आग्रह गरेका थिए ।
केही समयअघि राजधानीमा भएको एसिया प्यासिफिक सम्मेलनपछि सरकार र कांग्रेसबीचको दूरी बढ्न थालेको हो । कांग्रेस कुनै एक धर्मको प्रचारमा सरकार लागेको भन्दै त्यसयता सरकारविरुद्ध खनिँदै आएको छ ।
हालै सम्पन्न महासमिति बैठकपछि जारी समसामयिक प्रस्तावमा समेत कांग्रेसले सरकार अधिनायकवादी शैलीमा अघि बढेको भन्दै सरकारको कामको आलोचना गरेको थियो । राजधानी दैनिकबाट ।