चन्द्रगढी । जिल्ला कारागार झापामा रहेको बन्दी विकास पुस्तकालयको २२ औँ वार्षिकोत्सवको अवसर पारेर मंगलवारबाट खेलकुदका कार्यक्रमहरु सुरु गरिएको छ । आउँदो माघ १६ गते सहिद दिवसका दिन हुने २२ औँ बार्षिक उत्सव अन्तरगतको पूर्व तयारीमा मंगलवारबाट खेलकुदका कार्यक्रम सुरु गरिएको हो । मंगलवार कारागारमा आयोजित उद्घाटन कार्यक्रम अन्तरगत मैत्रीपूर्ण फुटबलको जिल्ला प्रहरी कार्यालय झापाका एसपी भीम ढकालले उद्घाटन गरेका थिए । कारागारका कैदी बन्दी र जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी महेन्द्र श्रेष्ठको टिमबीच मैत्रीपूर्ण फुटबल भएको थियो । कैदी बन्दी टिमको नेतृत्व चौकीदार मोहन धितालले गरेका थिए ।
चौकीदार एवम् बन्दी विकास पुस्तकालयका अध्यक्ष मोहन धितालको सभापतित्व तथा एसपी भीम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा डीएसपी भीम श्रेष्ठ, कारागार प्रमुख राजु दाहाल, कैदीबन्दी अर्जुन लिम्बूले बोलेका थिए ।
पर्वत भेटवालले स्वागत गरेको कार्यक्रमको सञ्चालन बन्दी विकास पुस्तकालयका सचिव युवराज गिरीले गरेका थिए ।
एक महिनासम्म निरन्तर हुने कार्यक्रम अन्तरगत भलिबल, व्याटमिन्टन, चेस, क्यारमबोड, कबड्डी, बेलुन फुटाई, म्युजिकल चेयर, हाजिरी जबाफलगायतका कार्यक्रमहरु हुनेछन् । प्रतियोगितामा कारागारभित्र रहेका ९ वटा वार्डबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विजेता टिमलाई समापन समारोहमा पुरस्कार वितरण गरिनेछ । १६ गते आस्था राउत, उत्तमजङ्ग लावतीलगायतका राष्ट्रिय कलाकारहरुसहित बृहत सांस्कृतिक कार्यक्रमको आयोजना हुने सचिव युवराज गिरीले बताए ।