• बालकुमारीमा स्थापना हुने फोहर पानी प्रशोधन केन्द्र शिलान्यासको कुरा चल्दै थियो। खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले उक्त कार्यक्रमको निम्तोपत्र के कति पुग्यो भनेर आफ्ना कर्मचारीलाई सोध्दै गर्दा उनका छोरा प्रणव दाहाल मन्त्रीको कुर्सीनजिक बिजुलीको ‘प्लग’ चलाउँदै थिए।

    कार्यकक्षमा रहेका एक आगन्तुकले 'मन्त्रीज्यू, बाबुलाई करेन्ट लाग्ला...' भनेपछि मन्त्री मगर छोरा समात्न पुगिन्।

    'कति चकचक गरेको? यता आउनुस्,' मगरले प्रणवलाई बोक्न खोजिन्। तर, उनले टेरेनन्।

    बरु सचिवालयका एक सहयोगी महिलाले सजिलै फकाइन्। केही दिन विद्यालय बिदा भएकाले मन्त्री मगरले आफ्ना छोरालाई सिंहदरबारस्थित मन्त्रालयमा सँगै लिएर आएकी हुन्।

    मन्त्री मगर कुर्सी छाडेर सोफामा बसेर आगन्तुकसँग कुरा गर्दा ती चार वर्षीय छोरा खेल्दै खेल्दै मन्त्रीको टेबलमाथि चढ्न पुगे। केही बेरपछि उनले कार्यक्रममा बाहिर निस्कनुपर्ने जानकारी सचिवालयका कर्मचारीले दिइन्। झोलाबाट छोराको स्वेटर निकालिन्। पाइन्ट छाम्दा पिसाब गरेर भिजाएको देखेपछि त्यो पनि फेरिदिइन्।

    'ल हेर त कतिखेर सुसु गर्नुभएछ...' भन्दै छोराको कपडा फेरिदिइन्।

    'आज बिदामा मन्त्रालय आएको भएर मैले एकछिन छोरा हेर्न पाएँ, घरमा हेर्न पनि भ्याइन्न,' उनले भनिन्, 'बहिनीहरुले सघाउँछन्।'

    आमाको भूमिका पूर्ण पालना गर्न नपाएको अनुभूतिसहित उनले भनिन्, 'म प्रायः बिहान चाँडै निस्कन्छु, छोरा सुतिरहेको हुन्छ। बेलुकी अबेर घर पुग्छु, ऊ सुतिसकेको हुन्छ।'

    छोराको अहिलेको हालखबर सुनाइहँदा मन्त्री मगरले एक वर्षअघि पति वियोग हुँदा र निर्वाचनमा होमिँदा आफूलाई पीडा र कठिनाइ भएको स्मरण गरिन्। 'त्यसबेला मलाई कम्ता गाह्रो भएन, छोरा अझ सानो थियो...' यति भनेर उनी रोकिइन्।

    एकछिनपछि प्रसंग बदलेर मेलम्ची खानेपानी आयोजनाको कुरा झिकिन्। यही साता इटालियन कम्पनीसँग हुने औपचारिक वार्तापछि रोकिएको मेलम्चीको काम अघि बढ्ने उनले सुनाइन्।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका बुहारीसमेत रहेका मन्त्री मगर दाहाल निवास खुमलटारमा सगोलमा बस्दै आएकी छन्। मगरका पति प्रकाश दाहालको २०७४ मंसिर ३ गते हृदयाघातका कारण निधन भएको थियो। त्यसबेला बीना प्रतिनिधिसभाका लागि कञ्चनपुर–१ बाट निर्वाचनमा उठेकी थिइन्। वर्तमान मन्त्रिपरिषदमा उनी सम्भवतः कम उमेरकी सदस्य हुन्।

    बीनाभन्दा अगाडिका प्रकाशका श्रीमती सिर्जना त्रिपाठीका छोरा प्रसिद्ध पनि खुमलटारमै बस्छन्। प्रसिद्ध अरूसँग भन्दा बीनासँग सुत्न मन पराउँछन्। दुवै छोरा खेल्ने र सँगै बस्ने गर्दा हजुरआमा सीता दाहाललाई मन बुझाउने मेसो मिल्ने गर्छ। समय मिलेको बेला हजुरबा पुष्पकमल दाहाल पनि नातिहरुसँग रमाउने उनको सचिवालयले जनाएको छ।

    प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा प्रकाशित स्मारिकामा बीनाले भावुक हुँदै भनेकी छन्, 'अब त हाम्रो प्रेमको चिनो छोरा पनि ठूलो भयो, बुबा भन्न सक्छ। तिमीलाई थाहा छ, सिरानीको तस्बिर देखाउँदै ‘बाबुको बुबा’ भन्छ। अनि, तिम्रो तस्बिरलाई म्वाइँ खान्छ। तिम्रो प्यारो छोरा प्रणवले मलाई पटकपटक रुवाउँछ यसरी।'

    - रासस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…