• काठमाडौं । नेपाली सेनाले ४ वटा हेलिकप्टर विशिष्ट तथा अतिविशिष्ट व्यक्तिका लागि मात्रै तयारी हालतमा (स्ट्याण्डबाइ) रहने गरी दीर्घकालिन हवाई योजना तयार पारेको छ । राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी छुट्टै हेलिकप्टर खरिद गरिसकेको सरकारले विशिष्ट व्यक्तिका लागि भन्दै थप हेलिकप्टर किन्न लागेको हो ।

    सोही योजनाअनुसार सेनाले यसको खाका तयार पारेको हो ।सैनिक हवाईसाधनलाई भीभीआईपी-मध्य एयरबेस (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल), पूर्वी एयरबेस (विराटनगर) र पश्चिम एयरबेस (सुर्खेत) अन्तर्गत विकेन्द्रीकरण गर्दै सेनाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत अति विशिष्ट तथा विशिष्ट व्यक्तिका लागि मात्रै उडान भर्न ४ वटा हेलिकप्टर सहितको कार्ययोजना बनाएको हो ।

    सेनाको उक्त कार्ययोजना रक्षा मन्त्रालयमा पेश भइसकेको छ । यसका खरिद प्रक्रियामा रहेका बाहेक प्रतिगोटा डेढ अर्ब भन्दा बढी मूल्यका थप ३ वटा हेलिकप्टर किन्नुपर्ने छ । सेनाको योजनाअनुसार यसबाहेक पनि कार्ययोजना अनुसार समेट्न २ वटा फिक्स विङ हेलिकप्टर पनि खरिद गर्नुपर्ने छ ।अहिले बेल (अमेरिका) १, अगुष्टा (इटाली) २, एमआई–१७ (रसिया) २, फिक्स विङ कार्गो (इन्डोनेसिया) र ट्रेनर (अमेरिका) १-१ गरी ८ वटा खरिद प्रक्रियामा छन् ।

    १ महिनाअघि मात्रै राष्ट्रपतिका लागि प्रयोग गर्न डेढ अर्ब रुपैयाँ खर्चेर सरकारले सेना मार्फत १४ सीट क्षमताको अगुष्टा (इटालियन) हेलिकप्टर ल्याइसकेको छ ।अहिले भएका १४, खरिद प्रक्रियामा रहेका ८ तथा थप ५ वटा खरिद गरेर कार्ययोजना अनुसार हेलिकप्टर सम्बन्धित एयरबेसमा स्ट्याण्डवाइ राखिने छ । जसअन्तर्गत भीभीआइपीबाहेक मध्य एयरबेस १३, पश्चिम एयरबेस अन्तर्गत ८, पूर्वी एयरबेस अन्तर्गत ४ र एभिएसन तालिम केन्द्रमा २ वटा रहने गरी हवाई साधन बाँडफाँट गरिने सेनाले जनाएको छ ।

    सेनाको हवाई महानिर्देशनालयअन्तर्गत सेनासँग अहिले इकुरेल ३, बेल र लाञ्चर २-२, एएलएच–ध्रुव १, ४ वटा एमआई–१७, स्काई ट्रक १ र आइल्याण्डर १ गरी १४ वटा हेलिकप्टर रहेकोमा ८ वटामात्रै सञ्चालनमा छन् । बिमा नवीकरण तथा मर्मतसम्भारका क्रममा रहेका इकुरेल, बेल, लाञ्चर, एम–आई १७, स्काइ ट्रक र आइल्याण्डर १-१ गरी ६ वटा हेलिकप्टर ग्राउन्डेड अवस्थामा छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मध्यएयरबेस र भीभीआइपी उडान सेवाबाट ३ नम्बर प्रदेश, गण्डकी प्रदेश र ५ नम्बर प्रदेशलाई समेट्ने छ । विराटनगरमा रहने पूर्वी एयरबेसले १ र २ नम्बर प्रदेश तथा सुर्खेतमा रहने पश्चिम एयबेसले कर्णाली र ७ नम्ब प्रदेशलाई समेट्ने गरी कार्ययोजना बनाइएको छ । यसबाहेक संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा समेत हवाई शान्ति सैनिक खटाउँने गरी कार्ययोजना बन्ने चरणमा रहेको सैनिक अधिकारीहरूले जनाएका छन् ।

    संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका अधिकारीले पनि नेपाल भ्रमणका क्रममा नेपाली हवाई शान्ति सैनिक खटाउनेबारे खाका बनाउँन यस अघि नै आग्रह गरिसकेका छन् । कारोबारबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…