• पौष २२, काठमाडौं । चिसो बढेसँगै रगत संकलनको दर दोब्बरले घटेको छ । गर्मी मौसममा दैनिक २५० जनासम्मले रक्तदान गर्ने गरेकोमा हाल सयदेखि १५० जनासम्मले रक्तदान गर्दै आएको केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक) ले जनाएको छ ।
    केन्द्रमार्फत दैनिक १५० युनिट मात्र रगत संकलन हुन्छ । तापक्रम कम भएका कारण रक्तदाताले रगत नदिँदा रक्त संकलनमा कमी आएको केन्द्रका प्रशासकीय निर्देशक पवनकुमार गुप्ताले बताए । शुक्रबार ४० जनाले मात्रै रक्तदान गरेका थिए ।

    शनिबार ३ सय जनाले रक्तदान गरेको केन्द्रले जनाएको छ । गुप्ताले भने, ‘तापक्रम निकै कम छ, न्यानोमा बस्न चाहने भएकाले र रगत दिन कपडा फुकाल्दा चिसो हुन्छ, त्यही भएर पनि रगत संकलन गर्मीमा भन्दा चिसोमा थोरै हुन्छ ।’
    सामान्यतयाः बिदाको दिनबाहेक अन्य दिन रगत संकलन अत्यन्त न्यून हुन थालेको छ । ब्लड बैंकले स्वस्थ नागरिकलाई रक्तदान गर्न अपिलसमेत गरेको छ ।
    स्वस्थ शरीर, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन् । शरीरमा रक्तचाप, नाडी, तापक्रम सामान्य भएको स्वास्थ्य परीक्षणबाट मुटु, फोक्सो र कलेजो राम्रो रहेको व्यक्तिले रक्तदान गर्न सक्ने चिकित्सक बताउँछन् ।

    केन्द्रले रगतको अभाव नभएको दाबी गरे पनि सरकारी तथा निजी अस्पतालमा रगत नहुँदा बिरामी निकै मारमा पर्ने गरेका छन् । मुख्यतः जाडोको समयमा रगत संकलन कमी हुँदा पनि रगतको अभाव देखिने गरेको छ ।
    रुपन्देही भैरहवाका २७ वर्षीय अमृत केसी वीर अस्पताल पुगे । उनलाई रगतको आवश्यकता पर्ने भयो । अमृतका दाइ सविन केसीले भने, ‘अस्पतालको इमरजेन्सी कक्षले रगत छैन भन्दै रगत खोज्न आग्रह ग¥यो, कतै फोन लागेन, निकै प्रयासपछि बल्ल पाइयो ।’

    सरकारले प्रत्येक अस्पतालमा रगत भण्डारणको व्यवस्था गर्न निर्देशन दिए पनि अधिकांश अस्पतालले अटेरी गरेका छन् । केन्द्रको समन्वयमा काठमाडौं उपत्यकामा चारवटा अस्पतालले मात्रै मागअनुसार केन्द्रबाट नियमित रगत लिने गरेका छन् । काठमाडौं उपत्यकामा बी एन्ड बी, सुमेरू, बयोधा र हरिसिद्धी क्यान्सर अस्पतालले मात्रै रक्तसञ्चार केन्द्रको समन्वयमा रगत लिने गरेको केन्द्रले जनाएको छ ।
    तर, सरकारी अस्पताल वीर, महाराजगन्जस्थित शिक्षण अस्पताल, ट्रमा सेन्टरलगायतका अस्पतालमा बिरामी भर्ना भएर रगतको अभाव खड्किए बिरामीका आफन्तले नै ब्लड बैंक धाउनुपर्ने बाध्यता छ । केन्द्रको तथ्यांकनुसार साउनदेखि मंसिरसम्म ४० हजार युनिट रगत खपत भएको हो ।

    गत आर्थिक वर्षमा केन्द्र र केन्द्र मातहत गरी ३ लाख ४४ हजार रगत खपत भएको थियो । जसअन्तर्गत १ लाख २० हजार युनिट रगत केन्द्रमा मात्रै वितरण भएको केन्द्रका प्रशासकीय निर्देशक गुप्ताले बताए ।
    प्रति युनिट ४९५ रुपैयाँमा रगत उपलब्ध हुने गर्छ । रक्तसञ्चार सेवाका प्रशासकीय निर्देशक गुप्ताले भने, ‘सम्बन्धित अस्पतालले आफैं रगतको क्रसम्याच टेस्ट गरे भने ४९५ रुपैयाँ पर्न आउँछ । केन्द्रले रगतको क्रसम्याच टेस्ट गरेर अस्पतालमा पठाउनुप¥यो भने ६४५ रुपैयाँ प्रतियुनिट पर्न आउँछ ।’ क्रसम्याच टेस्ट भन्नाले रगत लिने र दिनेबीचको रक्त समूह मिलेको छ या छैन भिडाउने प्रविधि हो ।

    रगतको मूल्य नपर्ने भन्दै रगतमा आवश्यक टेस्ट र ब्लड ब्यागको मूल्य पर्ने बताइएको छ । रक्तथैलीमा भएको रगतमा एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी र सी फ्लिस छ या छैन भनेर टेस्ट गरिन्छ ।
    प्याक्ट रेड ब्लड सेलको म्याद ४२ दिन, फ्रेस फ्लोजन प्लाज्माको म्याद ६ महिना र प्लेटलेट प्रोडक्टको म्याद ७२ घण्टा हुने रक्तसञ्चार सेवाका प्रशासकीय निर्देशक गुप्ताले जानकारी दिए । समाचार राजधानी दैनिकमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…