• काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई अध्यक्षहरु खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दाहाल एउटा रथको दुई पाङ्ग्राका रुपमा स्थापित हुने संभावना कम बन्न थालेको छ । दुई नेताको आन्तरिक कलहले त्यस्तो अवस्था देखिएको भनी चर्चा चल्न थालेको छ ।

    दुवै अध्यक्षहरु मिलेर अघि बढ्नुको साटो एकले अर्कालाई सिध्याउने खेल भैरहेको भन्दै यो खेल कुनै एकलाई राजनीतिबाट नसिध्याएसम्म नरोकिने अवस्थामा पुगेको भनी वामपन्थी बुद्धिजीवीहरुमा समेत बहसको विषय बन्न थालेको छ ।

    प्रधानमन्त्रीसमेत रहेका ओलीले सत्ताको आडमा अर्का अध्यक्ष दाहालको राजनीति सिध्याउने खेल भैरहेको भन्दै दाहाल पनि आफ्नोतर्फबाट खेल खेल्न पछि नपर्ने अवस्थामा पुगेका छन् ।

    पछिल्लो समय दुवै नेताहरुले एक अर्कालाई असहयोग हुने खालका खेलहरु खेल्न थालेकाले पनि एकता प्रक्रियामा आएका दुवै वामपन्थी दलका नेताहरु विचलित बन्न पुगेका छन् ।

    पछिल्लो समयमा दाहाललाई पूर्वएमालेका नेताहरुबाट पनि साथ मिल्न थालेपछि ओली पनि दाहाललाई ‘साइज’ मा ल्याउने खेलमा लागेको बताइएको छ ।

    यसक्रममा सबैभन्दा बलियो हतियारको रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट तत्कालीन माओवादीका लडाकुहरुको व्यवस्थापनको लागि गरिएको व्यवस्था क्यान्टोनमेन्टको मुद्दालाई बल्झाउने सोचका साथ प्रधानमन्त्री ओली चाल चल्न थालेको भनी उच्च समाचार स्रोतले जानकारी दिएको छ ।

    क्यान्टोनमेन्टको प्रकरण इतिहासकै ठूलो भ्रष्टाचार भएको जसले डार्फर भ्रष्टाचार काण्डलाई पनि माथ गरेको भन्ने आम बुझाइ छ । यो काण्डमा दुई अर्ब रुपियाँभन्दा बढीको भ्रष्टाचार भएको तथा त्यसमा दाहालसँंगै हालका सभामुख कृष्णबहादुर महरा र ऊर्जा मन्त्री वर्षमान पुनको नाम पनि जोडिएको थियो । त्यतिबेला लडाकुको क्यान्टोनमेन्टबारे कार्वाहीको माग गर्दै तत्कालीन नेकपा (एमाले) निकट युवा संघले हजारौंको हस्ताक्षरसहित आयोगमा उजुरी दर्ता गरेको थियो ।

    युवा संघका तत्कालीन अध्यक्ष महेश बस्नेतले नै यो अभियानको नेतृत्व गरेका थिए । त्यतिबेला एमालेले तत्कालीन माओवादीसँंग राजनीतिक प्रतिशोध लिने उद्देश्यका साथ उक्त कार्य गरिएको अवस्थामा हाल आएर सोही कुरालाई अघि सारेर भए पनि अर्का अध्यक्ष दाहाललाई ‘साइज’ मा ल्याउने खेलमा ओली क्रियाशील रहेको स्रोतले बताएको छ ।

    अख्तियारले चरम भ्रष्टाचार भनिएको उक्त क्यान्टोनमेन्टको मुद्दा अहिले आएर खोल्ने भएपछि त्यसलाई ओली–दाहालको विग्रिएको सम्बन्ध नै कारक रहेको बुझाइमा समाचार स्रोत पुगेको छ ।

    माओवादीका कम लडाकु हुँदा पनि धेरै भएको भन्दै गैर लडाकुलाईसमेत वैध बनाएर यसका तत्कालीन नाइके मानिएका दाहालले निकै मोटो रकमको चलखेल गरेको भन्दै तत्कालीन एमालेले सो कार्यको संस्थागत रुपमै विरोध समेत गरेको थियो । यस मुद्दामा अख्तियारले तत्कालीन अवस्थामा कृष्णबहादुर महरालाई पनि चिठी काटेको थियो तर त्यो प्रक्रिया पूरा हुन नपाउँदै तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीवरुद्ध महाअभियोग लगाउने खेल संसदबाट भयो ।

    अख्तियारले तत्कालीन अवस्थामा एमाले र माओवादीका गरी ३० नेताका नाममा चिठी नै काटेको थियो । सामान्य सोधपुछका लागि चिठी काटिएको भए पनि नेतालाई अख्तियारले बोलाउने ? भन्दै प्रतिशोध साँधिएको थियो । सोही कारण कार्कीमाथि महाअभियोगको खेल रचिएको थियो ।

    आयोगका प्रमुख नवीनकुमार घिमिरे प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीका निकै विश्वासिला भएकाले पनि अहिले अख्तियारले यो फाइद त्यसै खोल्न लागेको नभई केही गर्नकै लागि खोलेको बुझाइमा समाचार स्रोत रहेको छ । अहिले ओलीलाई आफ्नै दलमा समस्या परेकाले यसलाई ब्रम्हास्त्रका रुपमा अघि सार्ने तयारीमा ओली रहेको बताइएको छ ।

    अर्का अध्यक्षका रुपमा रहेका दाहाललाई थपनाकै रुपमा राखिराख्ने चाहना ओलीले पालेको अवस्थामा दाहालले पूर्वएमालेका नेताहरुको समेत साथ पाउन थालेपछि त्यो ओलीका लागि सहनै नसक्ने अवस्था बनेको हो । पछिल्लो समयमा ओलीलाई दाहालले घेराबन्दीमा पारेको बुझाइमा ओली रहन पुगेकाले पनि त्यो घेरालाई साम, दाम, दण्ड र भेदको नीति लिएर पनि तोडिछाड्ने मनस्थितिमा ओली पुगेको स्रोतको कथन छ ।

    ओलीले घेरा तोड्ने उपायस्वरुप नेकपाको स्थायी कमिटी बैठक लम्ब्याई आफ्नो राजनीतिक प्रतिवेदन पारित गर्न हरदम प्रयासरत रहेका ओलीलाई सोही बैठकमा हायलकायल पारिएको थियो । सो बैठकमा ओलीले सोचेको भन्दा विपरित दाहालको पक्षमा माहौल बनेपछि ओलीलाई चिन्ता थपिएको थियो ।

    ओलीको प्रतिवेदन जस्ताको त्यस्तै पारित गराउका लागि दाहालले कुनै भूमिका नखेलेपछि ओली दाहालसँग रुष्ट बनेका थिए । सोही कारण ओलीले दाहाललाई ‘साइज’ मा ल्याउन ओलीले क्यान्टोनमेन्टको मुद्दा खोल्न लगाएको स्रोत बताएको छ ।

    सरकारको पक्षमा दाहालको भूमिका सकारात्मक नरहेको बुझाइमा ओली रहेका छन् । सरकारको सहआयोजनामा भएको एशिया प्यासिफिक समिटजस्तो विवादित कार्यक्रममा पनि दाहालले कुनै सकारात्मक साथ नदिएको अवस्था देखियो । सोही कारण ओली र दाहालले एक अर्कालाई ‘जोगी देख्दा भैंसी तर्सने, भैंसी देख्दा जोगी तर्सने’ जस्तो अवस्था रहेको छ ।

    कतिपयले भने यो मुद्दालाई अगाडि बढाएर दाहाल र नेताहरुलाई नियोजित रुपमा चोख्याउने योजना पनि बुनिएको हुनसक्ने पनि अनुमान गरे पनि ओलीले त्यसैलाई आधार बनाएर कि त फसाउने दाहाल गले चोख्याउने खेल हुनसक्ने अवस्था पनि छ । नयाँ विर्मशका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…