• काठमाडौं, २३ पुस । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको लागि सबैभन्दा बढी टाउको दुखाईको विषय नेविसंघ बनेको छ । कुनै बेला नेविसंघले सिंगो नेपाली कांग्रेसको विरासत धानेको थियो तर यतिबेला नेपाली कांग्रेसको ठूलो साधान स्रोत तथा नेविसंघको समस्या समाधानमै बितेको छ ।

    नेविसंघको वर्तमान केन्द्रीय समितिको म्याद गत भदौमै समाप्त भएको हो तर महाधिवेशन गर्न नसकेपछि मंसिर २ गतेसम्मका लागि थपियो । महाधिवेशनको कुनै गृहकार्य नै नगरी मंसिर २ गतेसम्मको समय पनि गुज्रियो ।

    पार्टीले मंसिर २ गते नै केन्द्रीय समितिको बैठक बोलाएर माघ २ गतेसम्मका लागि म्याद थप गर्यो । तर, तेस्रो पटक म्याद थपिएको अवधिमा पनि महाधिवेशनका लागि पूर्वाधार तयार गर्ने काम वर्तमान केन्द्रीय समितिले गर्न सकेन । अब माघ २ गतेको म्याद आइपुग्न करिब एक साता मात्र बाँकी छ ।

    तर, ९० प्रतिशत जिल्लामा अधिवेशन हुन सकेको छैन । ९५ प्रतिशत क्याम्पसमा अधिवेशन हुन बाँकी छ । माघ २ गतेपछि नेविसंघको अवस्था के होला ? फेरि म्याद थपिएला कि तत्काल तदर्थ समिति गठन गरिएला कि, केही साताका लागि नेविसंघको केन्द्रीय समिति नै रिक्त रहला ? भन्ने प्रश्न कांग्रेस वृत्तमा सुरु भएको छ ।

    फेरि म्याद थप्न पार्टीको केन्द्रीय समिति बैठक बोलाउनुपर्ने हुन्छ । तर, केन्द्रीय समितिको बैठक माघ १० गते मात्रै बोलाइएको छ । त्यसैले फरि म्याद थप हुने सम्भावना टरेको छ । १० वर्षका लागि थपिए पनि वर्तमान केन्द्रीय समितिले महाधिवेशन गराउन सक्दैन भन्ने पुष्टि भइसकेको छ ।

    माघ २ गते वर्तमान केन्द्रीय समितिको म्याद सकिएपछि पार्टीले तदर्थ समिति गठन नगरुन्जेल नेविसंघ रिक्त हुने सम्भावना छ । १० गते केन्द्रीय समितिको बैठक बोलाइएकाले त्यसअघि तदर्थ समिति गठन हुने सम्भावना छैन ।

    विधानमा ३२ वर्षे उमेर हद लगाइएका कारण महाधिवेशनमा उम्मेदवार हुन नपाउने भएकाले वर्तमान केन्द्रीय समितिमा रहेका नेताहरु महाधिवेशनप्रति उदासीन देखिएका हुन् । अब तदर्थ समिति बनाउँदा ३२ वर्ष उमेर नाघेकालाई राख्ने वा नराख्ने ? भन्ने बहस पनि सुरु भएको छ ।

    ३२ वर्ष कटेकामध्येबाट तदर्थ समिति बनाइयो भने रत्न कार्की, सरोज थापा र राजीव ढुंगानामध्येबाट एक जना अध्यक्ष बन्ने सम्भावना बलियो भएको बताइयो भने प्रकाश घिमिरे, शिव रिमाल, प्रेम जोशी, एलिजा ढकालमध्येबाट कसैलाई अध्यक्ष बनाइने सम्भावना पनि छ ।

    यही विवादका बीचमा सिटौला समूहले ३२ वर्षे उमेरहद हटाउन चलखेल गरेको बुझिएको छ । स्रोतका अनुसार यस विषयमा अध्यक्ष नैनसिंह महर र नेता कृष्णप्रसाद सिटौलाबीच एक हदसम्मको सहमति भएको चर्चा विद्यार्थी नेताहरुबीच भाइरल भएको छ, तरुणमा उल्लेख छ ।

    विगतमा मैले जसरी प्रदीप पौडेललाई पार्टीको केन्द्रीय सदस्य बनाइदिएँ, त्यसरी नै अब तपाईलाई केन्द्रीय सदस्य बनाइदिनेछु, जसरी हुन्छ, कुन्दनलाई अध्यक्ष बनाउने बाटो खोल्नुहोला, सिटौलाले महरलाई भनेको भनी व्यापक प्रचार गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…