•  

    पौष २४, काठमाडौं । बंगलादेशको सत्तारुढ अवामी लिगका एक स्थानीय नेतासहित ७ जनालाइ पक्राउ गर्न आदेश दिइएको छ ।

    उनीहरुलाई बंगलादेशको अदालतले एउटा सामूहिक बलात्कारको घटनालाई लिएर हिरासतमा लिन आदेश दिएको हो ।

    उनीहरुमाथि एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोप लागेको हो । ती महिलाले आफूलाई विपक्षी बंगलादेश नेशनालिस्ट पार्टीलाई भोट दिएको आरोपमा सामूहिक बलात्कार गरेको बताएकी छन् । चार बच्चाकी आमा समेत रहेकी ति महिलामाथि चुनाव भएको ३० डिसेम्बरको राति सामूहिक बलात्कार भएको थियो ।

    घटना सार्वजनिक भएपछि सर्वसाधारणले आक्रोश व्यक्त गर्दै प्रदर्शन गरेका छन् । अभियुक्तले भने आरोप अस्वीकार गरेका छन् । बलात्कारका संदिग्ध अवामी लिगका नेतालाई पार्टीबाट निष्कासित गरिएको छ ।

    सो निर्वाचनमा अवामी लिगले एकतर्फी जित हासिल गरेको थियो । यद्यपि चुनावमा हिंसाका साथै, धम्क्याउने र भोट धाँधली गरेका घटना बाहिर आएका थिए ।

    चुनावका क्रममा सत्तारुढ अवामी लिग र विपक्षी बंगलादेश नेशनालिस्ट पार्टीका कार्यकर्ताबीच भएको झडपका क्रममा १७ जनाको मृत्यु भएको थियो । चुनावपछि सत्तारुढ पार्टीले विपक्षी पार्टी र समर्थकमाथि गरेको हिंसाबारे राष्ट्रसंघले समेत चिन्ता जनाएको छ ।

    बलात्कार पीडित महिलाका पतिले गत साता मुद्दा दर्ता गराएका थिए । उनले आफ्नो मुद्दामा आधा रातमा नोआखली जिल्लामा रहेका आफ्नो घरमा जबरजस्ती घुसेर आफू र चार जना बच्चालाई बाँधेर पत्नीलाई बलात्कार गरेको उल्लेख गरेका छन् ।

    उनीहरु गएपछि छिमेकीको सहयोगमा ३५ वर्षीया पीडित महिलालाई अस्पताल गरिएको थियो । चुनावका दिन भोट दिन जाँदा ती महिलालाई उनीहरुले विपक्षी उम्मेदवारलाई भोट नदिन भनेका थिए ।

    महिलाले त्यसबेला आफू अवामी लिगका ती स्थानीय नेता राहुल अमिनसँग असहमत भएको र पछि उनी आफ्ना साथीसहित घरमा आएको बताएकी छन् ।

    सामूहिक बलात्कारको घटना बाहिर आएपछि विपक्षीले राजधानी ढाकासहित नोआखली जिल्लामा प्रदर्शन गरेका छन् । उनीहरुले सत्तारुढ पार्टीले घटनाबारे माफी माग्नुपर्ने बताइरहेको छ ।

    बंगलादेश नेशनालिस्ट पार्टीका नेता मिर्जा फखरुल इस्लामले महिलासँगको कुराकानीपछि पत्रकारसँग भने, ‘चुनाव पछि भएको हमलाका केही नेता कार्यकर्ता घाइते भएका छन् र यहाँसम्म कि चार जना बच्चाकी आमा समेतलाई छाडिएको छैन, सामूहिक बलात्कार भएको छ ।’ पछिल्ला १० वर्षदेखि विपक्षीमाथि सरकार कठोर भएको आलोचकको भनाई छ । समाचार राजधानी दैनिकमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…