• पोखरा । ‘हामीतिर त यसरी कहिल्यै कोही झुम्मिएनन् । पत्रकारका क्यामरा तेर्सिएनन् । अचम्मै छ त,’ सांसद पियारी थापा भन्दै थिइन् । ‘हो त नि है,’ सँगै भएकी अर्की सांसद दीपा रोकाले थपिन् ।

    हुन पनि ३ महिनाभन्दा बढी लामो समयपछि खुलेको गण्डकी प्रदेश सभा २ कारणले रोचक बन्यो । एक त लामो समयपछि सांसदहरु प्रदेश सभामा भेट भएर हालखबर र दैनिकीको बात मार्दै थिए । अर्को, सपथको लबिङ गर्न पहिलोपटक प्रदेश सभामा राजीव गुरुङ ऊर्फ दीपक मनाङे पुगेका थिए । उनै राजीवतिर सांसददेखि पत्रकारको ध्यान थियो, क्यामरा सोझिएका थिए ।

    तत्काल सपथ नगराउने निर्णय भएको भोलिपल्ट राजीव प्रदेश सभा पुगे । सोमबार १ बजेका लागि संसद बैठक बोलाइएको थियो ।

    त्योभन्दा अगाडि नै पुगेर राजीवले सपथबारे कुराकानी गरे भने संसद सकिने बेला पनि प्रदेश सभा पुगेर मुख्यमन्त्री र अन्य सांसदलाई भेटे । राजीव प्रदेश सभा पुग्दा सबैको ध्यान उनैतिर थियो । मुख्यमन्त्री अरु नै सांसदसँग गफ गरिरहेका थिए । राजीव उनैतिर लम्के र नजिकै गएर चुपचाप उभिइरहे ।

    यस्तो लाग्थ्यो, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र उनीबीच चिनजानै छैन । सांसददेखि पत्रकारसम्मलाई चासो थियो, ‘मुख्यमन्त्री पृथ्वीसुब्बा र राजीवबारे के कुरा होला ।’ एक छिनपछि मुख्यमन्त्री पृथ्वीसुब्बाले नै राजीवसँग हात मिलाएर सोधे, ‘पोखरा कहिले आउनुभयो ?’ राजीवले उत्तर दिए, ‘हिजो रातिमात्र आएको ।’

    अरु सांसदहरुले भने, ‘जाऔं चिया पिऔं ।’ मुख्यमन्त्री, सांसदसँगै राजीव पनि क्यान्टिनतिरै लागे । मुख्यमन्त्री पृथ्वीसुब्बा र अरु सांसदबीच अनौपचारिक गफ चल्यो । राजीव त्यसको साक्षीमात्र बने । संसद सुरु हुने घन्टी बजेपछि मुख्यमन्त्री र सांसद सदनतिर लागे । राजीव पत्रकारहरुसँग गफिए ।

    संसद सुरु हुनुअघि र पछि पत्रकारसँग कुरा गर्दा उनको दाबी थियो, ‘सपथ मेरो अधिकार नै हो । लिएरमात्र फर्किन्छु ।’ सपथका विषयमा मुख्यमन्त्रीसँग कुराकानी नभएको राजीवको भनाइ थियो । ‘मलाई सपथ खुवाउने मुख्यमन्त्रीले होइन, सभामुखले हो । सभामुख कन्भिन्स हुनुहुन्छ,’ राजीवले भने, ‘सभामुखलाई कानुनका विषयमा भनिसकेको छु ।’

    तत्काल सपथ खुवाउन नमिल्ने आइतबार बताएका सभामुखले त्यस्तो कुनै निर्णय नभएको जवाफ आफूलाई दिएको राजीवले बताए । राजीवले सभामुखसँग छलफल गरेर निस्केपछि भने, ‘सपथ नखुवाउनेबारे केही निर्णय नै नभएको सभामुखज्यूले भन्नुभयो ।’

    प्रदेश सभाको हिउँदे अधिवेशन सुरु हुनुभन्दा अघि प्रदेश सभा पुगेका गुरुङले सभामुख अधिकारीसँग कुराकानी गरेर सभामुख सपथ खुवाउन कन्भिन्स भएको बताएका थिए । गुरुङले भने, ‘सभामुखज्यू कन्भिन्स हुनुहुन्छ । २-३ दिनमा निर्णय लिन्छु भन्नुभएको छ ।

    तर, ३ मिनेटमै हुने कुरा किन यति समय लिनुपर्‍यो भन्ने मेरो प्रश्न हो ।’ उनी प्रदेश सभा पुगेसँगै सभामुखको बोली फेरियो । राजीवले सभामुख अधिकारीले पनि सपथको विषयमा १-२ दिनमै निर्णय लिने बताएका छन् । समाधान दैनिकमा उल्लेख छ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…