• मेचीनगर, २६ पुस । नेपाल उद्योग वाणिज्य महासंघको छाता संगठन मेची उद्योग वाणिज्य संघको बागडोर हात पार्न नेकपा र काँग्रेसका प्यानलको रस्साकसी शुरु भएको छ ।
    यही पुस २८ गते शनिबार हुने निर्वाचनमा नवौँ कार्यकालका लागि वाणिज्य संघ धुलाबारीको बागडोर हात पार्न नेकपा र काँग्रेसका प्यानलका उम्मेद्वारको रस्साकसी शुरु भएको हो ।
    २०५४ सालमा मेचीनगर नगरपालिका स्थापना भएसँगै मेची उद्योग वाणिज्य संघ पनि स्थापना भएको थियो । काँकरभिट्टा र धुलाबारीमा भद्रपुर झापा उद्योग वाणिज्य संघको शाखा थियो । झापा उद्योग वाणिज्य संघ काँकरभिट्टाको शाखा २०५७ सालमा र धुलाबारीको शाखा २०५९ सालमा मेची उद्योग वाणिज्य संघसँग मर्ज भएको हो । मेची उद्योग वाणिज्य संघको हालै सम्पन्न साधारण सभाले चारआली उद्योग वाणिज्य संघलाई समेत मर्ज गर्ने निर्णय भएको संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले जानकारी दिए ।
    संघमा गतवर्ष १ करोड २७ लाख ९२ हजार ५ सय ७० रुपैयाँको कारोबार भएको बस्नेतले बताए । उनका अनुसार गत वर्ष करिब ९० लाख रुपैयाँ आम्दानी भएको छ । संघको आम्दानीको मुख्य श्रोतहरु वार्षिक सदस्यता नवीकरण शुल्क, उत्पतिको प्रमाण पत्र जारी वापतको शुल्क, एम्बुलेन्स सेवा, तालिम, गोष्ठी लगायतका कार्यक्रम, स्थानीय सरकारहरुसँगको साझेदारी कार्यक्रम, मध्येस्तकर्ताको सेवा, हल भाडा, प्राइमरी प्रोडक्टको सिफारिस, अन्य प्रमाणीकरण तथा सिफारिस वापत शुल्क रहेको उनले बताए ।
    ‘मेचीनगरको क्षेत्र विस्तार भएकाले यहाँ उद्योगहरु बढ्ने क्रममा छन्’, बस्नेतले भने—‘चारआली वाणिज्य संघ मर्ज हुने क्रम, काँकरभिट्टामा कोसेली घर निमार्ण, औद्योगिक क्षेत्र स्थापना लगायतका कारणले आगामी वर्षमा आम्दानी झन बढ्ने आशा छ ।’ २०५४ सालमा स्थापना भएको मेची उद्योग वाणिज्य संघको संस्थापक अध्यक्षमा पन्नालाल जैन थिए । जैनले २ वर्ष कार्यकाल चलाए । त्यसपछि हालका नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश कमिटीका अध्यक्ष नरेन्द्रकुमार खड्काले दुई कार्यकाल अर्थात ४ वर्ष संघको नेतृत्व गरे । खड्कापछि विजय डालमिया २ वर्ष अध्यक्ष भए ।
    त्यसपछि हालका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डे अध्यक्ष भएका थिए । पाण्डेका पालादेखि महासंघको विधान अनुसार संघको कार्यकाल ३ वर्ष पुगेको थियो । पाण्डे लगत्तै डालमिया फेरी ३ वर्षका लागि अध्यक्ष भए । यहाँसम्म आइपुग्दा संघमा दलहरुबीच चुनावी प्रतिस्पर्धा उग्ररुपमा भएको थियो । डालमियापछि संघमा एकप्रकारको दलहरुको सहमति कायम भयो । सहमति अनुसार २०७२ पुस २९ गते तत्कालीन एमाले, काँग्रेस, माओवादी, राप्रपा, लिम्बुवान, संघीय समाजवादी फोरम लगायतका दलहरुको सहमतिमा मेची उद्योग वाणिज्य संघको ८औँ कार्यकालका लागि अध्यक्षमा काँग्रेसका तर्फबाट पंकजविक्रम नेम्वाङ सर्वसम्मत चयन भएका थिए । १ हजार ३ सय ७६ जना मतदाता सदस्य रहेको संघमा पदाधिकारीसहित १६ जनाको कार्यसमिति रहनेछ । त्यसका लागि विभिन्न दल र स्वतन्त्र व्यवसायीहरुबाट मंगलबार ३३ जनाको उम्मेद्वारी परेको थियो । जसमा बुधबार स्वतन्त्रका सदस्य उम्मेद्वार श्रवणकुमार बानियाँले आफ्नो उम्मेद्वारी र्फिता लिएको संघले जनाएको छ । वाणिज्य संघको चुनाव संघीय, प्रदेश र स्थानीय सरकारको चुनावको झल्को दिने गरी महंगिएको छ । दलहरुले आफ्नो प्यानलका उम्मेद्वारलाई जिताउन प्रचारप्रसार र भेटघाटमा खर्च गर्दैछन् ।
    वाणिज्य संघले शुरुमा नै उम्मेद्वारको मनोनयन फारम दर्ता गर्दा संघीय, प्रदेश र स्थानीय सरकारको चुनावको मनोनयन फारम दर्ता शुल्क भन्दा बढी लिएको छ । सरकारले प्रतिनिधि सभाका सांसद्को मनोनयन दर्ता शुल्क १० हजार, प्रदेश सभाका सांसद्को ५ हजार र महिला उम्मेद्वारको हकमा ५० प्रतिशत छुट थियो । सांसद् उम्मेद्वारको धरौटी मात्र थियो । त्यो फिर्ता हुने गरी । तर, वाणिज्य संघमा अध्यक्षको फारमसहितको शुल्क २० हजार ३ सय, वरिष्ठ उपाध्यक्षको १२ हजार ८ सय, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महिला उपाध्यक्ष र महासचिवको ६ हजार ८ सय तथा सदस्य उम्मेद्वारहरुको ३ हजार ३ सय रुपैयाँ लिइएको छ । यो शुल्क भने फिर्ता नहुने गरिको हो ।
    नेकपा मेचीनगरले संघीय समाजवादी फोरम र लिम्बुवान पार्टीसँग सहकार्यमा संयुक्त व्यवसायी प्यानल खडा गरेर मेचीनगरका १५ वटै वडामा व्यापारीसँग भेटघाट गर्न व्यस्त छन् । यता काँग्रेसले राप्रपासँग सहकार्य गरेर लोकतान्त्रिक प्यानल गठन गरि उम्मेद्वारलाई घरघर तथा पसलमा व्यवसायीलाई आफ्नो पक्षमा पार्न भ्याईनभ्याई छ ।
    नेकपाका नेताहरु २१ वर्षदेखिको नेपाली काँग्रेसको विर्ता अब यस पटकदेखि तोडने गरी आफ्नो पक्षलाई जिताउन कम्मर कसेर लागेका छन् भने काँग्रेस आफ्नो स्थापनादेखिको संघको नेतृत्वको विरासत कायम राख्न कडा प्रतिस्पर्धामा मैदानमा उत्रिएको छ ।
    लोकतान्त्रिक प्यानलका अध्यक्ष पुनित बंशलले दुई तिहाई मतले जित्ने दाबी गरेका छन् । बंशलले अकं गणितको हिसाव गर्दै भने—‘१३७६ मतदाता मध्ये दुईतिहाई मतले हाम्रो टिमले जित्ने विश्वास छ ।’ उनले यसको मतलप समग्रमा ४ सय मतले हाम्रो टिम विजयी हुने ठोकुवा गरे । ‘राप्रपा र काँग्रेसको टिम बलियो छ’, अध्यक्षका प्रतिस्पर्धी बंशलले भने—‘व्यापारीको हित, नगरको विकास र छिमेकी मुलुकसँगको सहकार्य मेरो पहिलो प्राथमिकतामा रहने छ ।’ कर वृद्विका विषयमा तीन वटै सरकारसँग व्यापारीहरुको संगठनले दवाबमुलुक कार्यक्रम गर्ने योजना रहेको सुनाए ।
    यता संयुक्त व्यवसायी प्यानलका अध्यक्षका उम्मेद्वार ऋषि तिम्सिनाले वाणिज्य संघमा व्यवसायीहरुको सुरक्षा र अधिकारका लागि लडिरहने बताए । ‘चारआली, धुलाबारी, इटाभट्टा, काँकरभिट्टा, बाहुनडाँगी, ज्यामिरगढी, दुहागढीलगायत क्षेत्रका व्यवसायीहरुको विकासमा ध्यान दिने उनले दाबी गरे । आयात निर्यात व्यापार र करका झनझटलाई किनारा लगाउन नेपाल, भारत लगायतका देशसँग हाम्रो टिमले सहजीकरणको भूमिका निभाउने बताए । यसपटको चुनावमा संयुक्त व्यवसायी प्यानलले मंगलबारै उम्मेद्वार सार्वजनिक कार्यक्रममा पार्टीका नेताहरुले २ सय भन्दा बढी मतको अन्तरले चुनावमा विजयी हुने दाबी गरिसकेका छन् ।

    अघिल्लो समाचार

    add
सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…