केराबारी । मोरङ्गको केराबारीमा ऐतिहासिक मच्छिन्द्रनाथ मेला शुरु भएको छ। केराबारीको पहिचानको प्रचार साथै स्थानीय पर्यटनको सम्मान गर्ने उद्देश्यले मेला शुरु गरिएको हो।
मेलाको उद्घाटन केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले उद्घाटन गर्नुभएको थियो। पञ्जेबाजाको धुनसहित मेलास्थलमा बनाइएको मूल प्रवेशद्वारको रिवन काटेर अध्यक्ष कार्कीले मेलाको उद्घाटन गर्नुभएको थियो। मञ्चमा औपचारिक कार्यक्रम शुरु भएपछि अध्यक्ष कार्कीले पानसमा बत्ती बाल्नुका साथै मेलाको मूल ब्यानर अनाबरण गर्नुभएको थियो।
मेला उद्घाटनका अवसरमा कार्कीले मेलाले केराबारीका पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने भन्दै सो क्षेत्रका साँस्कृतिक पक्षहरुको जर्गेना गर्नुपर्ने बताउनुभयो।
अध्यक्ष कार्कीले केराबारीको ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सम्पदाको बिकासमा मेलाले सहयोग पुग्ने बताउनुभएको छ।
मेलाबाट संकलित रकमबाट केराबारी ८ मा निर्माण भईरहेको जेष्ठ नागरिक चौतारीलाई सहयोग गर्ने मच्छिन्द्रनाथ मेला २०७५ मेला मूल आयोजक समिति संयोजक टंक लिम्बूले बताउनुभयो।
लिम्बुले केराबारी १० मा निर्माणाधिन शव दाह स्थलका लागि पनि आर्थिक सहयोग गरिने बताउनुभयो। उद्घाटनका अवसरमा वडा नम्बर ८का अध्यक्ष मनोज खड्काले केराबारीलाई पर्यटकीय गाउँपालिकाको रुपमा बिकास गर्न आफूहरु लागि परेको बताउनुभयो। मेलामा सहभागिहरुलाई स्वागत गर्दै आयोजक समिति सदस्य अस्मिता भट्टराईले मेलाबाट भरपुर मनोरञ्जन लिन अनुरोध गर्नुभयो।
मेला उद्घाटनका अवसरमा च्याब्रुङ्ग नाच, लाखेनाच, हुर्रा नाचसहितको झाँकीले केराबारी बजार परिक्रमा गरेको थियो। केराबारीका बिभिन्न सामाजिक संघ, संस्था, शैक्षिक संस्थाले ब्यानरसहित उद्घाटनमा सहभागिता जनाएका थिए। मेला उद्घाटनमा गाउँपालिका उपाध्यक्ष शान्ति लिम्बू, वडा अध्यक्षहरु साथै वडा सदस्यहरुसमेत सहभागी थिए।
मच्छिन्द्र माध्यामिक बिद्यालयको खेल मैदानमा शुरु भएको मेला माघ ३ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ। मेलामा स्थानीय कृषि उत्पादनको बिक्री एवं प्रदर्शनीदेखि लिएर बिविध साँस्कृतिक कार्यक्रमहरु पनि हुने मच्छिन्द्रनाथ मेला आयोजक समितिले जनाएको छ।
ऐतिहासिक रुपमा सञ्चालन हुँदै आएको मेला शसस्त्र संघर्षको समयमा स्थगित भएको थियो। मेला तीनबर्षदेखि पुनः लाग्न थालेको हो। पहिलो बर्ष यस बर्ष लागेकै ठाउँमा नै मेला लागेको थियो भने दोश्रो बर्षको मेला खदम खोलामा लागेको थियो। यो बर्षको मच्छिन्द्रनाथ मेलामा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ। मेलामा कलाकारहरु दिपक लिम्बु, तारा प्रकाश लिम्बू, ज्योति मगर, निशान भट्टराई, कमल खत्री, तृष्णा गुरुङ्ग, मनिष लिम्बूलगायत स्थानीय कलाकारहरुले मेला अवलोकनकर्ताहरुलाई भरपुर मनोरञ्जन दिनेछन्।