• काठमाडौं । मुलुकमा कम्युनिष्टको नेतृत्वमा बनेको दुई तिहाइ बहुमतप्राप्त वर्तमान सरकारले राम्रा कामहरु गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस छाया सरकार निर्माणको गृहकार्यमा लागेको छ ।

    कांग्रेस संसदीय दलले पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा छाया सरकार गठन गर्ने निर्णय गरेपछि त्यस्तो छाया सरकार के कस्तो बनाउने भन्ने कुरामा कांग्रेस केन्द्रित हुन थालेको छ ।

    विपक्षीको भूमिका सशक्त बनाउनका लागि प्रतिपक्षीले छाया सरकार गठन गर्ने गरेका उदाहरणहरू प्रशस्तै रहेकाले पनि कांग्रेसले यसलाई महत्व दिन पुगेको हो । बेलायत लगायत अन्य देशमा प्रमुख प्रतिपक्षी दलले छाया सरकार बनाएर सरकारका कामकारवाहीहरूको नियमन गर्ने गरेकाले पनि कांग्रेसले त्यसतर्फ आपूmलाई अघि सारेको हो ।

    संसदीय दलका नेता एवं पार्टी सभापति देउवाको नेतृत्वमा छाया सरकार गठन गर्ने यसअघि नै गरेको निर्णयलाई अहिले आएर कार्यान्वयन गर्न लागिएको मात्र हो भनी कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

    प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा दुईतिहाईको अंकगणितीय सरकार बनेको १० महिनासम्म कांग्रेसले प्रतिपक्षीको भूमिका राम्रोसँग खेल्न नसकेको भन्दै आलोचना भएकाले पनि कांग्रेसले आफ्नो बचाउका लागि नै भए पनि छाया सरकारको कुरालाई अघि सारेको हो ।

    बोल्नुपर्ने प्रतिपक्षी दल नबोल्ने गरेको तथा खुरुखुरु काम गर्नुपर्ने सरकार बोलिमात्र रहेको भन्दै कांग्रेस नेता गगन थापाले भन्ने गरेबाट पनि कांग्रेसले छाया सरकारलाई प्राथमिकतामा राखी कार्य गर्न चाहेको हो ।

    सरकारको समग्र क्रियाकलापलाई निगरानी गर्नुभन्दा पनि मन्त्रालयगत कामकारवाहीलाई हेर्ने गरेका खण्डमा मात्र प्रमुख प्रतिपक्षीको भूमिका बलियो हुने मान्यता रहेकाले पनि कांग्रेसले छाया सरकारलाई महत्व दिएको हो ।

    शुक्ष्म रूपमा सरकारको गतिविधि नियाल्नका लागि छाया सरकार प्रभावकारी माध्यम हुने भएकाले पनि यो मोडलको पक्षमा कांग्रेस उभिएको हो ।

    फरक–फरक मन्त्रालयका कामलाई फरक फरक ढंगले हेरिने भएकाले राम्रो कार्य गर्ने मन्त्रीले स्याबासी तथा नराम्रो कार्य गर्ने मन्त्रीहरुले गाली पाउने अवस्था हुने भएकाले पनि यो कार्य सरकारका लागि पनि सहयोगी हुने विश्लेषण कांग्रेसले गरेको छ । मन्त्रालय र मन्त्रीको गुण र दोषका आधारमा प्रतिपक्षी दलले कार्य गर्ने भएकाले यो सरकारका लागि पनि सहयोगी हुने तथा जनताका लागि पनि लाभदायक हुने विश्लेषण गरिएको छ ।

    यसरी बनाइने सरकारका लागि कांग्रेसले आफ्ना दलका नेताहरूको खोजी थालेको पनि स्रोतले बताएको छ । यसका लागि आन्तरिक रूपमा आवेदन लिने क्रम शुरू भएको जानकारी दिंदै समाचार स्रोतले हालका मन्त्रीहरुको गतिविधिलाई चिर्नसक्ने खालका नेताहरुको खोजी थालिएको पनि बताइएको छ ।

    यस्तो छाया सरकारमा कांग्रेसले युवा नेताहरुलाई पहिलो प्राथमिकतामा राखी सरकारको निगरानी गर्ने सोच बनाएको स्रोतको दाबी छ । हालै सम्पन्न कांग्रेस महासमिति बैठकमा पनि प्रतिपक्षीको भूमिका कमजोर रहेको र सरकार गतिहीन तथा मतिहीन बन्दै गइरहेको विषयमा कुरा उठेको नयाँ विमर्शमा उल्लेख छ ।

    त्यसैले पनि कांग्रेसमा छाया सरकारको लागि दबाब बढ्दै गएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…