• काठमाडौ,१ माघ । पुस मसान्तसम्म सांगठनिक एकीकरणको बाँकी काम र केन्द्रीय सदस्यहरूको कार्यविभाजनको खाका तयार गर्ने जिम्मेवारी पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ९ सदस्सीय शक्तिशाली कार्यदल आन्तरिक विवादमै अल्झिएको छ । यद्धपि कार्यदललाई अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले पुस २६ गते एकीकरणको खाकासहितको प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए । तोकिएको समयमा कार्यभार पूरा गर्न नसकेका कार्यदल सदस्यहरू २४ पुसदेखि बैठक नै स्थगित गरेर आ–आफ्नो नियमित काममा व्यस्त भएका छन् ।

    प्रदेश कमिटी गठनमा केन्द्रीय सचिवालयले तय गरेको मापदण्ड कार्यान्वयनको समीक्षामै पूर्वएमालेबाट प्रतिनिधित्व गर्ने कार्यदल सदस्यहरूबीच गम्भिर मतभिन्नता देखिएपछि छलफल स्थगित भएको हो । पार्टी केन्द्रीय सचिवालयले तोकेको प्रदेश कमिटीको नाम र दोहोरो जिम्मेवारीको सन्दर्भमा नेताहरूबीच विवाद रहेको स्रोतले जनाएको छ । महासचिवसमेत रहेका विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रदेश कमिटीहरू सचिवालयको निर्णयअनुसार गठन भएकोले कमिटीको नामावली पुनरावलोकन गर्न नहुने अडानमा छन् ।

    तर, वरिष्ठ नेता माधवकुमार नेपालनिकट योगेश भट्टराई, बेदुराम भुसाल र सुरेन्द्र पाण्डे भने प्रदेश कमिटी मापदण्डअनुसार भए–नभएको समीक्षा गरेर सुझाब दिने कार्यादेशसमेत कार्यदललाई रहेकाले त्यसैअनुसार काम गर्नुपर्ने अडानमा छन् । उनीहरूले कतिपय नाम हटाएर यसअघि तय भएको वरिष्ठतालगायत मापदण्डअनुसार थप्नुपर्ने मत राखेका छन् । अध्यक्षबाहेक तलका सबै कमिटीमा एउटै व्यक्तिलाई दोहोरो कार्यकारी जिम्मेवारी हुन नहुने मत नेपाल समूहका नेताहरूको छ । कार्यदलमा प्रदेश ५ का मुख्यमन्त्री र इन्चार्ज रहेका पोखरेल नै सदस्य रहेकाले निष्कर्षमा पुग्न असहज देखिएको कार्यदलका एक सदस्यले बताए । प्रदेश कमिटीमै विवाद भएपछि जिल्ला र जनसंगठनसम्बन्धी एकीकरणको मापदण्डमा छलफल सुरु समेत हुन सकेको छैन । पूर्वमाओवादी समूहका नेताहरूले भने समझदारीमै निर्णयमा पुग्नुपर्ने मत राखिरहेका छन् ।

    पुस १३ गते सम्पन्न स्थायी समिति बैठकले गठन गरेको ९ सदस्यीय कार्यदलमा तीनपटक मात्र औपचारिक छलफल भएको एक सदस्यले जनाएका छन् । पछिल्लोपटक २४ पुसमा बसेको बैठकमा पनि सदस्यहरुबीच विवाद भएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको स्रोतको भनाई छ । यद्यपि, माघको पहिलो साताभित्र प्रतिवेदन तयार गरिसक्ने समझदारीअनुसार बैठक स्थगित भएको कार्यदलका एक सदस्यको दावी छ । कार्यदलमा नेताहरू रामबहादुर थापा , विष्णुप्रसाद पौडेल, योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, लेखराज भट्ट, वर्षमान पुन र रघुवीर महासेठ सदस्य छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…